प्रेरित 2:1-21
प्रेरित 2:1-21 NNRV
जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए। अनि स्वर्गबाट अचानक ठूलो बतासको झोक्काजस्तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो। आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे। अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे। स्वर्गमुनि भएको हरेक देशबाट ईश्वरभक्त यहूदीहरू त्यस बेला यरूशलेममा बसेका थिए। तब यो आवाज सुनेर भीड जम्मा भयो। तिनीहरू आश्चर्यचकित भए, किनकि हरेकले आ-आफ्ना भाषामा तिनीहरू बोलिरहेका सुन्यो। तिनीहरू सबै आश्चर्यचकित भए, र अचम्म मानेर भन्न लागे, “के यी बोल्नेहरू सबै गालीलीहरू होइनन् र? त कसरी तिनीहरू हरेकले हाम्रा आफ्ना मातृभाषामा बोलेको हामी सुन्छौं? हामीहरू यहाँ पार्थीहरू, मादीहरू र एलामीहरू, र मेसोपोटामियाका, यहूदियाका, कापाडोकियाका, पोन्टस र एशियाका बासिन्दाहरू छौं। अनि फ्रिगिया, पामफिलिया, मिश्र र कुरेनीमा पर्ने लिबियाका कतिपय क्षेत्रहरू र रोमबाट आएका यहूदी र यहूदी मत मान्नेहरू दुवै छौं, क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौं, अनि हामी आ-आफ्ना भाषामा परमेश्वरका महान् कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्दैछौं।” तिनीहरू सबै आश्चर्यचकित भए र अन्योलमा परेर एउटाले अर्कालाई यसो भन्न लागे, “यसको अर्थ के हो?” तर अरूहरूले हाँसो गरेर भने, “तिनीहरू नयाँ मद्यले मातेका छन्।” तर पत्रुसले एघार जनासँग खड़ा भएर उच्च सोरमा तिनीहरूलाई भने, “यहूदियाका मानिस हो, र यरूशलेमका जम्मै बासिन्दाहरू, तपाईंहरूलाई यो कुरा थाहा होस्, र मेरा कुरा सुन्नुहोस्। किनभने तपाईंहरूले ठान्नुभएझैँ यिनीहरू मातेका छैनन्, किनकि अहिले बिहानको नौ मात्र बजेको छ। तर योएल अगमवक्ताद्वारा भनिएको कुरा यही हो, ‘आखिरी दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, म सबै मानिसहरूमाथि मेरा आत्मा खन्याइदिनेछु, र तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्, र तिमीहरूका बूढ़ापाकाहरू स्वप्नदर्शी हुनेछन्। हो, म आफ्ना दास-दासीहरूमाथि ती दिनमा मेरा आत्मा खन्याइदिनेछु, र तिनीहरूले अगमवाणी बोल्नेछन्। माथि आकाशमा म अचम्मका काम र तल पृथ्वीमा चिन्हहरू देखाउनेछु, अर्थात् रगत, आगो, र धूवाँको मुस्लो। परमप्रभुको महान् र गौरवमय दिन आउन अगाडि सूर्य अन्धकारमा र चन्द्र रक्तमा परिवर्तन हुनेछन्। अनि जसले परमप्रभुको नाउँ लिनेछ, त्यसले उद्धार पाउनेछ।’

