२ इतिहास 11

11
1जब रहबाम यरूशलेममा आइपुगे, तब तिनले आफ्‍नो निम्‍ति राज्‍य फिर्ता लिन इस्राएलको विरुद्धमा लड़ाइँ गर्नलाई यहूदा र बेन्‍यामीनका घरानाका एक लाख असी हजार योद्धाहरू भेला गरे। #१ राज १२:२१-२४
2तर परमप्रभुको यो वचन परमेश्‍वरका जन शमायाहकहाँ आयो: 3“सोलोमनको छोरो यहूदाको राजा रहबामलाई र यहूदा र बेन्‍यामीनमा भएका सबै इस्राएलीहरूलाई भन्, 4‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: तिमीहरू आफ्‍ना दाजुभाइहरूको विरुद्धमा युद्ध गर्न उक्‍लेर नजाओ। तिमीहरू हरेक आ-आफ्‍नो घरमा फर्केर जाओ, किनभने यो काम मैले गरेको हो’।” यसैकारण तिनीहरूले परमप्रभुका वचन पालन गरे, र यारोबामको विरुद्धमा आफ्‍नो धावा त्‍यागिदिए।
रहबामले यहूदालाई सुरक्षित बनाएका
5रहबाम यरूशलेममा वास गरे, र तिनले यहूदाका कुनै-कुनै सहरका गढ़ीहरू सुरक्षित बनाए। 6तिनले सुरक्षित बनाएका यहूदा र बेन्‍यामीनमा भएका सहरहरू यी नै थिए: 7बेथलेहेम, एताम, तको, 8बेथ-सर, सोखो, अदुल्‍लाम, गात, मारेशा, जीप, 9अदोरेम, लाकीश, आजेका, 10सोरा, अय्‍यालोन र हेब्रोन। 11तिनले ती सहरका गढ़ीहरू सुदृढ़ पारे, र तिनमा राज्‍यपालहरूलाई नियुक्त गरे, अनि खानेकुरा, तेल र दाखमद्य पनि तिनमा सञ्‍चय गरिदिए। 12तिनले प्रत्‍येक सहरमा ढाल र भालाहरू जम्‍मा गरेर राखे, र तिनका गढ़ीहरू सुदृढ़ पारे। यसरी तिनले यहूदा र बेन्‍यामीनमाथि आफ्‍नो अधिकार कायम राखे।
13जम्‍मै इस्राएलका चारैतिरबाट पूजाहारीहरू र लेवीहरू आ-आफ्‍ना इलाकाहरूबाट रहबामकहाँ आए। 14लेवीहरू आफ्‍ना सबै खर्क र पैतृक-जग्‍गाजमिनहरू छोड़ेर यहूदा र यरूशलेममा बस्‍न आए, किनकि यारोबाम र तिनका सन्‍तानहरूले तिनीहरूलाई परमप्रभुका पूजाहारीगिरीबाट वञ्‍चित गरेका थिए। 15डाँड़ाका अल्‍गा थानहरू र तिनले बनाएका बाख्रा र बाछाका मूर्तिहरू पूजा गर्न यारोबामले आफ्‍नै पूजाहारीहरू नियुक्त गरे। #१ राज १२:३१ 16परमप्रभु इस्राएलका परमेश्‍वरलाई खोज्‍न अठोट गर्ने इस्राएलका सबै कुलबाट आएकाहरूचाहिँ परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई बलिदान चढ़ाउन यरूशलेममा जाने लेवीहरूका पछि लागे। 17तिनीहरूले यहूदाको राज्‍य स्‍थिर गरेर तीन वर्षसम्‍म सोलोमनका छोरो रहबामलाई समर्थन गरे, र त्‍यस बेला तिनीहरू दाऊद र सोलोमनका चालअनुसार हिँड़े।
18रहबामले महलतलाई विवाह गरे। तिनका पिता दाऊदका छोरा यरीमोत र आमाचाहिँ यिशैका छोरा एलीआबकी छोरी अबीहेल थिइन्‌। 19तिनीबाट रहबामका यी छोराहरू भए: येऊश, शमरयाह र साहम। 20त्‍यसपछि तिनले अब्‍शालोमकी छोरी माकालाई विवाह गरे। तिनीबाट तिनका यी सन्‍तान भए: अबिया, अत्तै, जीजा र शलोमीत। 21आफ्‍ना सबै पत्‍नी र उपपत्‍नीहरूमध्‍ये रहबामले माकालाई ज्‍यादै प्रेम गर्थे। तिनका जम्‍मा अठाह्र पत्‍नी र साठी उपपत्‍नीहरू थिए। तिनी अट्ठाईस जना छोरा र साठी छोरीहरूका पिता भए।
22रहबामले माकाका छोरा अबियालाई युवराज बनाएर आफूपछि सिंहासनमा बसाल्‍न योजना बनाई उनलाई आफ्‍ना सबै दाजुभाइहरूमध्‍ये सबैभन्‍दा मुख्‍य नियुक्त गरे। 23यहूदा र बेन्‍यामीनका जम्‍मै इलाकाहरू र सबै सुरक्षित सहरहरूको जिम्‍मा आफ्‍ना कोही छोराहरूलाई दिएर तिनले आफ्‍नो बुद्धिमानी देखाए। तिनले तिनीहरूका निम्‍ति प्रशस्‍त खानेकुरा सञ्‍चय गरे, र तिनीहरूका निम्‍ति पत्‍नी पनि लिए।

अहिले सेलेक्ट गरिएको:

२ इतिहास 11: NNRV

हाइलाइट

कपी गर्नुहोस्

तुलना

शेयर गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्