Kisary famantarana ny YouVersion
Kisary fikarohana

उत्‍पत्ति 3

3
मानिसको परीक्षा र पतन
1परमप्रभु परमेश्‍वरले बनाउनुभएका वन-पशुहरूमध्‍ये सर्प सबभन्‍दा धूर्त थियो। त्‍यसले स्‍त्रीलाई भन्‍यो, “के परमेश्‍वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रूखको फल नखानू भनी भन्‍नुभएको छ?” #प्रका १२:९; २०:२
2स्‍त्रीले सर्पलाई भनिन्, “बगैँचाका रूखहरूका फल हामी खान सक्‍छौं, 3तर बगैँचाको बीचमा भएको रूखका फलको विषयमा परमेश्‍वरले भन्‍नुभएको छ, ‘त्‍योचाहिँ नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ’।”
4सर्पले स्‍त्रीलाई भन्‍यो, “तिमीहरू मर्दैनौ। 5किनकि परमेश्‍वर जान्‍नुहुन्‍छ कि जुन दिन तिमीहरू त्‍यो खान्‍छौ त्‍यही दिन तिमीहरूका आँखा खुल्‍नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्‍तै हुनेछौ।”
6जब स्‍त्रीले त्‍यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्‍दो, र बुद्धि पाउनलाई त्‍यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्‍यस रूखको फल टिपेर खाइन्, र आफ्‍ना पतिलाई पनि दिइन्, र उनले पनि खाए। 7अनि दुवैका आँखा खुले, र “नाङ्गै पो रहेछौं” भनी तिनीहरूले थाहा पाए। अनि अञ्‍जीरका पातहरू गाँसेर आफ्‍ना निम्‍ति तिनीहरूले वस्‍त्र बनाए।
8अनि साँझपख परमप्रभु परमेश्‍वर बगैँचामा डुल्‍दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने, र मानिस र उनकी पत्‍नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्‍वरको नजरबाट लुके। 9तर परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्‌?”
10उनले भने, “मैले तपाईंको सोर बगैँचामा सुनें र म डराएँ, किनभने म नाङ्गै थिएँ, र म लुकें।”
11उहाँले सोध्‍नुभयो, “तँ नाङ्गै छस्‌ भनेर कसले भन्‍यो? जुन रूखको फल नखानू भनी मैले तँलाई आज्ञा दिएको थिएँ के तैंले त्‍यो खाइस्‌?”
12मानिसले भने, “जुन स्‍त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो, त्‍यसैले मलाई त्‍यो रूखको फल दिई र मैले खाएँ।”
13अनि परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो, “तैंले यो के गरिस्‌?” #२ कोर ११:३; १ तिमो २:१४
स्‍त्रीले भनिन्, “सर्पले मलाई छल गर्‍यो, र मैले त्‍यो खाएँ।”
14तब परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, तैंले यसो गरेको हुनाले,
“तँ सबै पाल्तु पशुहरू
र सबै वन-पशुहरूभन्‍दा ज्‍यादा श्रापित हुनेछस्‌।
पेटद्वारा तँ हिँड्‌नेछस्‌
र तेरो जीवनभरि तैंले माटो खानेछस्‌।
15तेरो र स्‍त्रीको बीचमा, #प्रका १२:१७
र तेरो सन्‍तान र स्‍त्रीको सन्‍तानको बीचमा
म दुश्‍मनी हालिदिनेछु।
त्‍यसले तेरो शिर कुच्‍च्‍याउनेछ,
र तैंले त्‍यसको कुर्कुच्‍चो डस्‍नेछस्‌।”
16स्‍त्रीलाई उहाँले भन्‍नुभयो,
“तेरो सुत्‍केरी-वेदना म ज्‍यादै गरी बढ़ाइदिनेछु।
दु:खसँग तैंले बालक जन्‍माउनेछस्‌।
तेरो इच्‍छा पतितर्फ नै हुनेछ,
र त्‍यसले तँलाई अधीनमा राख्‍नेछ।”
17त्‍यसपछि आदमलाई उहाँले भन्‍नुभयो, तैंले तेरी पत्‍नीको कुरा सुनेर मैले नखानू भनेको रूखको फल खाएको हुनाले, #हिब ६:८
“भूमि तेरो कारण श्रापित भएको छ।
तेरो जीवनभरि दु:खसँग त्‍यसको उब्‍जनी तैंले खानेछस्‌।
18त्‍यसले तेरो निम्‍ति काँढ़ा र सिउँड़ीहरू उमार्नेछ,
र तैंले खेतको सागपात खानेछस्‌।
19माटोमा नफर्कुञ्‍जेल
तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्‌।
किनकि माटैबाट तँ निकालिएको थिइस्‌।
तँ माटै होस्,
र माटैमा फर्किजानेछस्‌।”
20आदमले आफ्‍नी पत्‍नीको नाउँ हव्‍वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन्‌।
21परमप्रभु परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्‍ति छालाका लुगा बनाई तिनीहरूलाई लगाइदिनुभयो। 22तब परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस हामीजस्‍तै असल र खराबको ज्ञान जान्‍ने भएको छ। अब त्‍यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस्, नत्रभने त्‍यो सधैँभरि जीवित रहला।” #प्रका २२:१४ 23यसैकारण जुन भूमिबाट उनी बनाइएका थिए, त्‍यसैको खेतीकिसानी गर्न परमप्रभु परमेश्‍वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो। 24उहाँले मानिसलाई धपाइदिनुभएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्‍वालामय तरवार राखिदिनुभयो।

Voafantina amin'izao fotoana izao:

उत्‍पत्ति 3: NNRV

Asongadina

Dika mitovy

Mampitaha

Hizara

None

Tianao hovoatahiry amin'ireo fitaovana ampiasainao rehetra ve ireo nasongadina? Hisoratra na Hiditra