यूहन्ना 15
15
साँचो अङ्गुरको बोट
1“साँचो अङ्गुरको बोट म नै हुँ अनि मेरा पिताचाहिँ बोटको हेरचाहा गर्ने किसान हुनुहुन्छ। 2ममा भएका नफलाउने हाँगाहरूलाई उहाँले छाँट्नुहुन्छ, तर फलाउनेहरूलाई अझै धेरै फलाऊन् भनेर छिमल्नुहुन्छ। 3हेरचाहा गर्ने किसानले हाँगालाई छिमलेर सफा गरेजस्तै मैले भनेका यी वचनहरूले तिमीहरूलाई शुद्ध गरिसकेको छ। 4तिमीहरू ममा रहो र म तिमीहरूमा रहनेछु। जसरी हाँगाले बोटमा नरहीकन फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरूले पनि ममा नरही फल फलाउन सक्दैनौ।
5“अङ्गुरको बोट म नै हुँ र तिमीहरूचाहिँ मेरा हाँगाहरू हौ। जो ममा रहन्छ, म पनि उसमा रहन्छु र यसरी उसले धेरै फल फलाउँछ। मबिना तिमीहरूले केही पनि गर्न सक्दैनौ। 6ममा नरहने जतिलाई चाहिँ काटिएको हाँगाजस्तै गरी फालिनेछ र त्यो सुक्नेछ अनि त्यसलाई बटुलेर आगोमा हालिनेछ। 7यदि तिमीहरू ममा रह्यौ र मैले भनेका वचनहरू पनि तिमीहरूमा रहे भने तिमीहरूले चाहेका कुरा माग्दा पाउनेछौ। 8धेरै फल फलाएर तिमीहरूले मेरा पितालाई महिमा दिनेछौ र तिमीहरू मेरा चेलाहरू हुनेछौ।
9“जसरी मेरा पिताले मलाई प्रेम गर्नुहुन्छ, त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। अब तिमीहरू मेरो प्रेममा रहिरहो। 10मचाहिँ मेरा पिताको आज्ञापालन गरेर पिताको प्रेममा रहिरहन्छु। त्यसै गरी तिमीहरूले मेरो आज्ञापालन गर्यौ भने तिमीहरू पनि मेरो प्रेममा रहिरहनेछौ। 11मेरो आनन्द तिमीहरूमा रहोस् र तिमीहरूको आनन्द पूरा होस् भनेर नै मैले तिमीहरूलाई यी कुराहरू भनेको हुँ।
12 #
यूहन्ना 13:34; 15:17; १ यूहन्ना 3:23; २ यूहन्ना 1:5 “मेरो आज्ञा यही हो– जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, त्यसरी नै तिमीहरू पनि एकले अर्कालाई प्रेम गर। 13साथीको निम्ति आफ्नो प्राण दिनु नै सबैभन्दा ठूलो प्रेम हो, योभन्दा ठूलो प्रेम त अरू केही छैन। 14यदि तिमीहरूले मेरो आज्ञापालन गरिरह्यौ भने तिमीहरू मेरा साथी हौ। 15अबदेखि म तिमीहरूलाई नोकर भन्दिनँ किनभने नोकरले मालिकले के गर्दै छ, त्यो जान्दैन। म तिमीहरूलाई साथी भन्छु किनभने मेरा पिताबाट सुनेका सबै कुराहरू मैले तिमीहरूलाई बताइसकेको छु। 16तिमीहरूले मलाई छानेका होइनौ, तर मैले तिमीहरूलाई छानें र तिमीहरू गएर सधैँ रहिरहने फल फलाओ भनेर मैले तिमीहरूलाई खटाएर पठाउँदै छु। तब मेरो नाउँमा पितासँग जे मागे पनि उहाँले तिमीहरूलाई दिनुहुनेछ। 17अब म तिमीहरूलाई यो धार्मिक आज्ञा दिन्छु, एकले अर्कालाई प्रेम गर।
संसारको हेला
18“मानिसहरूले तिमीहरूलाई हेला गरे भने तिमीहरूलाई भन्दा पहिले मलाई नै हेला गरेका थिए भनी याद गर। 19यदि तिमीहरू संसारका मानिस भएका भए तिनीहरूले तिमीहरूलाई आफ्ना सम्झेर प्रेम गर्नेथिए। तर मैले त तिमीहरूलाई यस संसारबाट छानेको हुँ। त्यसकारण तिमीहरू यस संसारका होइनौ र संसारले तिमीहरूलाई हेला गर्छ। 20#मत्ती 10:24; लूका 6:40; यूहन्ना 13:16‘नोकर मालिकभन्दा ठूलो हुँदैन’ भनेर मैले भनेको यो कुरा सम्झ। तिनीहरूले मेरो खेदो गरे भने तिमीहरूको पनि गर्नेछन्। त्यसरी नै तिनीहरूले मेरो आज्ञापालन गरे भने तिमीहरूले भनेको पनि मान्नेछन्। 21मेरो नाउँको कारणले तिमीहरूलाई सताउनेछन् किनभने तिनीहरू मलाई पठाउनुहुने पितालाई चिन्दैनन्।
22“यदि म आएर नभनिदिएको भए तिनीहरू पापको दोषी हुने थिएनन्। तर अब तिनीहरूलाई बहाना गर्ने कुनै ठाउँ नै छैन। 23मलाई हेला गर्नेले मेरो पितालाई पनि हेला गर्छ। 24अरू कसैले कहिल्यै नगरेको शक्तिशाली कामहरू मैले तिनीहरूको बीचमा नगरेको भए तिनीहरू पापको दोषी हुने थिएनन्। तर मैले गरेका अचम्मका कामहरू देखेर पनि तिनीहरूले मलाई र मेरा पितालाई समेत हेला गर्छन्। 25#भजनसंग्रह 35:19; 69:4तर तिनीहरूकै व्यवस्थामा लेखिएको यो कुरा पूरा होस् भनेर नै यी सबै हुन आएका हुन्, जसरी लेखिएको छ– ‘कारणैबिना तिनीहरूले मलाई हेला गरे।’
26“म पिताबाट सत्यको आत्मा तिमीहरूलाई सहायता गर्न पठाउनेछु। उहाँ आएर उहाँले मेरो बारेमा साक्षी दिनुहुनेछ 27अनि तिमीहरूचाहिँ सुरुदेखि नै मसँग रहेका हुनाले तिमीहरू पनि मेरो साक्षी हुनेछौ।”
دیاریکراوەکانی ئێستا:
यूहन्ना 15: सरल नेपाली
بەرچاوکردن
هاوبەشی بکە
لەبەرگرتنەوە

دەتەوێت هایلایتەکانت بپارێزرێت لەناو ئامێرەکانتدا> ? داخڵ ببە
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.