12
जिउँदो बलिदान
1यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्वरको कृपाद्वारा म बिन्ती गर्दछु, तिमीहरूले आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई मनपर्दो जिउँदो बलिदानको रूपमा अर्पण गर; यही तिम्रो साँचो र व्यवस्थित आराधना हो। 2यस संसारको रीतिमा नचल, तर आफ्नो मनमा नयाँ भई परिवर्तित हुँदैजाओ; तब मात्र तिमीहरूले परमेश्वरको असल, मनपर्दो र सिद्ध इच्छा के हो, सो जाँच गर्न र स्वीकार गर्न सक्नेछौ।
ख्रीष्टको शरीरको एकतामा सेवा
3किनकि परमेश्वरले मलाई दिनुभएको अनुग्रहद्वारा म प्रत्येकलाई भन्दछु, आफूलाई ठूलो नठान, तर परमेश्वरले तिमीहरू प्रत्येकलाई दिनुभएको विश्वासअनुसार नै आफूलाई शान्त भएर जाँच। 4किनकि जसरी हामी प्रत्येकको एउटा शरीर छ, तर अङ्गहरू धेरै छन्, र यी सबै अङ्गहरूका काम एउटै हुँदैन, 5त्यसरी नै हामी अनेक भएर पनि ख्रीष्टमा एउटै शरीर हौँ तथा सबै एक-अर्काका अङ्ग हौँ। 6हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग विभिन्न वरदानहरू छन्। यदि कसैको अगमवाणी गर्ने वरदान छ भने त्यसले आफ्नो विश्वासअनुसार अगमवाणी गरोस्। 7यदि सेवा गर्ने वरदान छ भने त्यसले सेवा गरिरहोस्; यदि शिक्षा दिने हो भने त्यसले शिक्षा दिइरहोस्; 8यदि उत्साह दिने हो भने त्यसले उत्साह दिइरहोस्; यदि दान दिने वरदान हो भने उदारतासाथ देओस्; यदि अगुवाइ गर्ने वरदान हो भने परिश्रमसाथ अगुवाइ गरोस्; यदि कृपा देखाउने हो भने प्रसन्नतासाथ कृपा देखाओस्।
प्रेमको कार्य
9प्रेम निष्कपट हुनुपर्छ। दुष्टतालाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो। 10एक-अर्कालाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा अरूलाई बढी आदर गर। 11कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गरिरहो। 12आशामा आनन्दित होओ; सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा विश्वासयोग्य होओ। 13खाँचोमा परेका परमेश्वरका जनहरूसँग बाँडचुँड गर, र पाहुनासत्कार कायम राख।
14तिमीहरूलाई सताउनेहरूलाई आशिष् देओ; तिनीहरूलाई आशिष् देओ, श्राप होइन। 15आनन्द गर्नेहरूसँग आनन्दित होओ, र रुनेहरूसँग रोओ। 16एक-अर्कासँग मिलेर बस। अहङ्कारी नहोओ, तर नम्र व्यक्तिहरूसँग सम्बन्ध राख्ने चाहना गर, र आफैँलाई बुद्धिमानी नसम्झ।
17कसैसँग दुष्टताको बदला दुष्टता नगर। सबैका दृष्टिमा जे असल छ, त्यही गर्न ध्यान देओ। 18सम्भव भएसम्म तिमीहरू सबैसँग शान्तिमा बस। 19मेरा प्रिय मित्रहरू, बदला नलेओ; तर परमेश्वरको क्रोधका लागि छोडिदेओ। किनकि यसरी लेखिएको छ: “बदला लिने काम मेरो हो, म बदला लिनेछु,”#12:19 व्यव 32:35 परमप्रभु भन्नुहुन्छ। 20तर यसको सट्टामा:
“तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खाना देओ;
यदि ऊ तिर्खाएको छ भने पिउनलाई केही देओ।
यसो गर्यौ भने तिमीले त्यसको थाप्लोमा आगोको भुङग्रो राखे बराबर हुनेछ।”#12:20 हितो 25:21, 22
21खराबीद्वारा पराजित नहोओ, तर खराबीलाई भलाइले जित।