फिलिप्पी 1

1
1 # प्रेरित 16:12 फिलिप्‍पीमा हुने येशू ख्रीष्‍टमा भएका पवित्र जनहरू, मण्‍डलीका देखरेख गर्नेहरू र सेवकहरूलाई हामी येशू ख्रीष्‍टका कमारा पावल र तिमोथीले यो पत्र लेख्‍दै छौं। 2हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टले तिमीहरूलाई अनुग्रह र शान्‍ति देऊन्।
पावलको प्रार्थना
3जहिले पनि तिमीहरूलाई सम्‍झँदा म मेरा परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु। 4सधैँ तिमीहरू सबैको लागि प्रार्थना गर्दा म खुसीसाथ प्रार्थना गर्छु 5किनभने तिमीहरूले मलाई सुसमाचारको काममा सुरुदेखि अहिलेसम्‍म सघाउँदै आएका छौ। 6परमेश्‍वरले तिमीहरूमा सुरु गर्नुभएको राम्रो काम येशू ख्रीष्‍टको राज्‍य नआएसम्‍म परमेश्‍वरले नै सम्‍हाल्‍नुहुनेछ। यसमा मेरो पूरा विश्‍वास छ। 7तिमीहरूलाई सधैँ मैले आफ्‍नै हृदयमा राखेको छु। तिमीहरूको बारेमा यस्‍तै विचार गर्न मलाई ठीक लाग्‍यो किनभने अहिले म थुनामा हुँदा र बाहिर हुँदा पनि तिमीहरूले मलाई सुसमाचार फैलाउन र यसलाई जोगाउन परमेश्‍वरले दिनुभएका यी सबै अनुग्रहमा तिमीहरू मसँग सहभागी भएका छौ। 8साँच्‍चै तिमीहरूप्रति भएको मेरो यो गहिरो तिर्सना ख्रीष्‍ट येशूको हृदयबाटै आएको हो, म सत्‍य बोलिरहेछु भनी परमेश्‍वर नै मेरो साक्षी हुनुहुन्‍छ। 9मेरो प्रार्थना छ, तिमीहरूको प्रेम बढ्दै-बढ्दै जाओस्। यो प्रेम दुवै सत्‍य ज्ञान र राम्रो-नराम्रो केलाउने बुद्धिमा बढ्दै जाओस्। 10त्‍यसो भए मात्र तिमीहरूले सबैभन्दा राम्रो कुरोलाई छुट्याउन सक्‍नेछौ अनि ख्रीष्‍ट आउँदा तिमीहरू पवित्र र निर्दोष हुनेछौ। 11अनि परमेश्‍वरको आदर र प्रशंसाको लागि तिमीहरूको जीवनमा येशू ख्रीष्‍टले दिने असल फलहरू फल्‍नेछन्।
जिउनु ख्रीष्‍ट हो
12दाजुभाइहरू, तिमीहरूले यो थाहा पाओ भन्‍ने म चाहन्‍छु। ममाथि आइपरेका कुराहरूले त सुसमाचार फैलाउन सहायता दिएका छन्। 13#प्रेरित 28:30मैले ख्रीष्‍टलाई प्रचारेकोले म कैदमा परेको हुँ भन्‍ने दरबारका सबै सिपाही र अरू मानिसहरूलाई थाहा छ। 14म कैदमा परेको हुनाले धेरैजसो भाइहरू प्रभुमा दरिला भएका छन् अनि तिनीहरू डरबिना सुसमाचार सुनाउन आँटिला हुँदै गएका छन्।
15हुन त कसैकसैले आरिस गरी मैले अरूको भन्दा बढ्ता गरें भनेर देखाउन ख्रीष्‍टको प्रचार गर्दछन् र कतिले चाहिँ राम्रै विचारमा प्रेमले प्रचार गरेका छन्। 16कारण तिनीहरूलाई थाहा छ, परमेश्‍वरले मलाई सुसमाचारको पक्षमा बोल्‍न खटाउनुभएको छ। 17अरूहरूले भने सोझो मनले होइन तर मलाई कैदमा हुँदा झन् दु:ख थपिओस् भन्‍ने नराम्रो विचारले ख्रीष्‍टको प्रचार गरेका हुन्। 18जेसुकै होस्, यस बारेमा म त खुसी छु। चाहे राम्रो मनले होस्, चाहे नराम्रो मनले, जसरी भए पनि ख्रीष्‍टकै प्रचार हुन्‍छ।
19किनभने मलाई थाहा छ तिमीहरूको प्रार्थना र प्रभु येशू ख्रीष्‍टका आत्‍माले दिनुभएको सहायताले मैले छुटकारा पाउनेछु। 20मेरो कर्तव्‍यबाट नचुकूँ तर जुनै समय पनि विशेषगरी अहिले म आँटिलो बनेर मरे पनि, बाँचे पनि मेरा सम्‍पूर्ण जीवनले ख्रीष्‍टको आदर होस् भन्‍ने मेरो ठूलो इच्‍छा र आशा छ 21किनभने मैले जिउनु नै ख्रीष्‍ट हो। मर्नु मेरो लागि फाइदाको कुरो हो। 22तर म यस शरीरमा बाँचेर अझै राम्रो काम हुने भए मर्ने या बाँच्‍ने, सो छान्‍न मलाई गाह्रो पर्‍यो। 23म दोधारमा परेको छु। यो संसार छोडेर ख्रीष्‍टकै साथमा रहन पनि मलाई ठूलो इच्‍छा छ। जुनचाहिँ एकदमै राम्रो कुरो हो। 24तर तिमीहरूको लागि भने म बाँचिरहनु नै राम्रो हो। 25मलाई यो पक्‍का थाहा छ। यसकारण तिमीहरूलाई विश्‍वासमा उन्‍नति गराउन र तिमीहरूको आनन्‍द अझ बढाउन म बाँच्‍नेछु। 26म तिमीहरूकहाँ फेरि आउँदा मेरो कारणले तिमीहरूले ख्रीष्‍ट येशूको अझ बढी जय-जयकार गर्न सक्‍नेछौ।
27मुख्‍य कुराचाहिँ यही नै हो, ख्रीष्‍टको सुसमाचारलाई सुहाउने तिमीहरूको चालचलन होस्। यसकारण मैले तिमीहरूलाई भेटे पनि, नभेटे पनि तिमीहरू एउटै उद्देश्‍य लिई स्‍थिर भएर एउटै इच्‍छामा सुसमाचारको विश्‍वासको निम्‍ति लड्दै छौ भन्‍ने मैले सुन्‍न पाँऊ। 28तिमीहरू आफ्‍नो विरोधीहरूदेखि नडराओ। सधैँ आँटिला होओ, यसले विरोधीहरूको हार र तिमीहरूको उद्धार हुन्‍छ भन्‍ने देखाउँछ। परमेश्‍वरले नै तिमीहरूलाई उद्धार गर्नुहुनेछ। 29तिमीहरूले ख्रीष्‍टमा विश्‍वास गर्ने मात्र होइन तर उहाँको लागि दु:ख भोगी उहाँकै सेवा गर्ने अनुग्रह तिमीहरूले पाएका छौ। 30#प्रेरित 16:19-40बितेका दिनहरूमा जोसँग म लडेको तिमीहरूले देखेका थियौ, तिमीहरूले सुनेझैँ त्‍यससँग म अझ लड्दै छु र अब यस लडाइँमा तिमीहरूले मलाई साथ दिंदै छौ।

Označeno

Deli

Kopiraj

None

Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi