Zechariah 14:8-16

त्यस दिन यरूशलेमबाट जिउँदो पानी निस्केर आउनेछ, आधाचाहिँ पूर्वको समुद्रतिर र आधाचाहिँ पश्चिमको समुद्रतिर बगिनिस्कनेछ, हिउँद र वर्षामा नित्य बगिरहनेछ। परमप्रभु समस्त पृथ्वीका राजा हुनुहुनेछ। त्यस दिन एकमात्र परमप्रभु हुनुहुनेछ र उहाँकै नाउँ मात्र हुनेछ। गेबादेखि यरूशलेमको दक्षिण रिम्मोनसम्म सारा देश अराबाजस्तै हुनेछ। तर यरूशलेमचाहिँ अल्गो बनाइनेछ, र बेन्यामीनको ढोकादेखि पहिलो ढोकाको ठाउँसम्म, कुने ढोकासम्म, र हननेलको बुर्जादेखि राजाको दाखको कोलसम्म आफ्नै ठाउँमा रहनेछ। मानिसहरू त्यसमा बस्नेछन्, र त्यो फेरि कहिल्यै नाश गरिनेछैन। यरूशलेम सुरक्षित रहनेछ। जत्ति जातिहरूले यरूशलेमको विरुद्धमा लड़ाइँ गरे, ती सबैलाई परमप्रभुले यस्तो महामारीद्वारा प्रहार गर्नुहुनेछ: तिनीहरू आफ्ना खुट्टामा खड़ा भएर उभिएकैमा तिनीहरूको मासु कुहेर जानेछ, तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहुनेछन्, र तिनीहरूका जिब्रा तिनीहरूका मुखैमा कुहिजानेछन्। त्यस दिन परमप्रभुद्वारा मानिसहरूमा ठूलो त्रास आइलाग्नेछ। तिनीहरू हरेकले अर्काको हात समात्नेछ, र एउटाले अर्कालाई आक्रमण गर्नेछ। यहूदाले पनि यरूशलेममा लड़ाइँ गर्नेछ। सबै वरिपरिका जातिहरूको धन-सम्पत्ति जम्मा गरिनेछ— सुन, चाँदी, लुगाफाटाहरू ठूलो परिणाममा बटुलिनेछ। घोड़ाहरू, खच्चरहरू, ऊँटहरू, गधाहरू र ती छाउनीहरूमा भएका जम्मै पशुहरूलाई पनि यही किसिमको रूढ़ीले मार्नेछ। तब यरूशलेमलाई आक्रमण गर्ने जाति-जातिहरूमा जत्ति बाँचेका हुन्छन्, तिनीहरू वर्षेनी सर्वशक्तिमान् परमप्रभुका महाराजालाई दण्डवत् गर्न र छाप्रो-वासको चाड़ मान्नलाई यरूशलेममा जानेछन्।
जकरिया 14:8-16