Romans 10:9-15

किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ। किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ। धर्मशास्त्र भन्छ, “उहाँमाथि भरोसा राख्ने कोही लाजमा पर्नेछैन।” किनकि यहूदी र अन्यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्नो प्रशस्त आशिष् दिनुहुन्छ। किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।” तर जसलाई विश्वास गरेकै छैनन् उहाँलाई मानिसहरूले कसरी पुकार्ने? जसको विषयमा सुनेकै छैनन् उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्ने? र कसैले नपठाईकन मानिसहरूले कसरी प्रचार गर्ने? जस्तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर!”
रोमी 10:9-15