Psalms 95:1-11

आओ, परमप्रभुको निम्ति हामी आनन्दले गाऔं, हाम्रो उद्धारको चट्टानकहाँ चर्को सोरले कराऔं। धन्यवाद चढ़ाउँदै उहाँको सामुन्ने आऔं, भजन र गीतले उहाँको प्रशंसा गरौं। किनकि परमप्रभु महान् परमेश्वर हुनुहुन्छ, सारा देवहरूमाथिका महाराजा। उहाँको बाहुलीमा पृथ्वीका गहिरा-गहिरा स्थानहरू छन्, र पहाड़का शिखरहरू उहाँकै हुन्। समुद्र उहाँको हो, उहाँले नै त्यसलाई बनाउनुभएको हो, र सुक्खा भूमि उहाँले नै रच्नुभएको हो। आओ, दण्डवत् गरौं र निहुरौं, हाम्रा सृष्टिकर्ता परमेश्वरकै सामु घुँड़ा टेकौं, किनभने उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, र हामी उहाँको खर्कका प्रजा, र उहाँका हातका भेड़ाहरू हौं। आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने, तिमीहरूले मेरीबामा गरेजस्तै आफ्ना हृदय कठोर नपार, जस्तो तिमीहरूले त्यस दिन मरुभूमिमा भएको मस्साहमा गरेका थियौ, जहाँ मैले गरेका काम तिमीहरूका पूर्वजहरूले देखेका भए तापनि तिनीहरूले मलाई जाँच गरे र मेरो परीक्षा गरे। चालीस वर्षसम्म त्यस पुस्तासँग म क्रोधित भएँ, र मैले भनें, “यी त्यस्ता मानिस हुन्, जसका हृदय बरालिएर जान्छन्, र तिनीहरूले मेरा मार्ग चिनेका छैनन्।” यसैले मैले आफ्नो क्रोधमा यसरी शपथ खाएँ, “मेरो विश्राममा तिनीहरू कहिल्यै पस्नेछैनन्।”
भजनसंग्रह 95:1-11