Psalms 104:24-30

हे परमप्रभु, तपाईंका कार्यहरू अनेक छन्, आफ्नो बुद्धिमा तपाईंले ती सबै रच्नुभयो। तपाईंले सृष्टि गर्नुभएका यावत् थोकले पृथ्वी परिपूर्ण छ। त्यहाँ विशाल र फराकिलो समुद्र छ, जसमा अनगिन्ती जलचरहरू छन्, ठूला-साना दुवै थरीका जीवित प्राणीहरू त्यहाँ छन्। त्यहाँ जहाजहरू यताउता जान्छन्। त्यहाँ लिव्यातन् जन्तु पनि छ, जसलाई तपाईंले त्यहाँ खेल्नलाई रच्नुभयो। तपाईंबाट आफ्ना आहारा ठीक-ठीक समयमा पाउनका निम्ति ती सबैले तपाईंतिरै हेरेर आशा राख्छन्। तपाईंले तिनीहरूलाई दिनुहुँदा, तिनीहरूले बटुल्छन्। तपाईंले आफ्नो मुट्ठी फुकाउनुहुँदा उत्तम पदार्थले तिनीहरू तृप्त हुन्छन्। तपाईंले आफ्नो मुहार छोप्नुहुँदा तिनीहरू भयभीत हुन्छन्। तपाईंले तिनीहरूको सास लिनुहुँदा, ती मरिहाल्छन्, र फेरि धूलोमा नै फर्कन्छन्। तपाईंले आफ्ना आत्मा पठाउनुहुँदा, तिनीहरूको सृष्टि हुन्छ, र तपाईंले पृथ्वीको रूपलाई नयाँ तुल्याउनुहुन्छ।
भजनसंग्रह 104:24-30