Psalm 103:1-14

हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्, ए मेरो सारा अन्तस्करण, उहाँको पवित्र नाउँको स्तुति गर्। हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्, र उहाँका सबै उपकारहरू नबिर्सी— जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ, र तेरा सबै रोगहरू निको पार्नुहुन्छ, जसले तेरो जीवनलाई मृत-लोकबाट मुक्त गर्नुहुन्छ, र तँलाई करुणा र कृपाको मुकुट लगाइदिनुहुन्छ, जसले, तेरा इच्छाहरू उत्तम कुराले तृप्त गर्नुहुन्छ, ताकि तेरो जवानी चीलको जस्तै फेरि नयाँ होस्। थिचोमिचोमा परेकाहरू सबैका निम्ति परमप्रभुले धार्मिकता र न्यायको काम गर्नुहुन्छ। उहाँले मोशालाई आफ्ना मार्ग, र इस्राएलीहरूलाई आफ्ना काम प्रकट गर्नुभयो। परमप्रभु टिठालु र अनुग्रही, क्रोध गर्नमा ढिला, र अति करुणामय हुनुहुन्छ। उहाँले सधैँ दोष लगाइरहनुहुन्न, उहाँले सधैँभरि क्रोध पनि लिइराख्नुहुन्न। उहाँले हामीसँग हाम्रा पापअनुसारको व्यवहार गर्नुहुन्न, अनि हाम्रा अधर्मअनुसार हामीलाई दण्ड दिनुहुन्न। किनकि पृथ्वीबाट स्वर्ग जत्ति अग्लो छ, उहाँका भय मान्नेहरूमाथि उहाँको करुणा त्यत्तिकै महान् छ। पश्चिमबाट पूर्व जत्ति टाढ़ा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यत्तिकै टाढ़ा हटाइदिनुभएको छ। जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई टिठ्याउँछन्, त्यसरी नै उहाँका भय मान्नेहरूलाई परमप्रभुले टिठ्याउनुहुन्छ। किनभने उहाँ जान्नुहुन्छ, हाम्रो सृष्टि कसरी भएको हो, हामी धूलो मात्र हौं भनी उहाँ सम्झनुहुन्छ।
भजनसंग्रह 103:1-14