Philippians 3:10-21

म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकूँ, र उहाँको मृत्युमा उहाँजस्तै भई उहाँका दुःख-भोगमा सहभागी हुन सकूँ। सम्भव भए मरेकाहरूबाट म पुनरुत्थान प्राप्त गर्न सकूँ। मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनको निम्ति म अघि बढ़िरहेको छु जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनुभयो! भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्कँदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोड़सँग अगि बढ्दछु। हामी परिपक्व हुनेहरूचाहिँ सबै यस्तै मनका होऔं, र तिमीहरू कुनै कुरामा अरू विचारका छौ भने परमेश्वरले तिमीहरूलाई त्यो पनि प्रकट गरिदिनुहुनेछ। केवल हामीले जे प्राप्त गरिसकेका छौं, त्यसमा दह्रिला भइबसौं। भाइ हो, तिमीहरू मेरो अनुसरण गर्नेहरू होओ, हामीमा तिमीहरूले देखेको नमूनाअनुसार जिउनेहरूलाई हेर। मैले धेरै पल्ट बताएका मानिसहरूका बारेमा फेरि पनि म तिमीहरूलाई रुँदै भन्दछु कि तिनीहरू ख्रीष्टका क्रूसका शत्रुहरूजस्तै जीवन बिताउँछन्। विनाश तिनीहरूको अन्त्य हो, पेट तिनीहरूको ईश्वर हो, र तिनीहरू आफ्ना शर्ममा गौरव गर्दछन्, र तिनीहरूको मन सांसारिक कुरामा लागिरहन्छ। तर हाम्रो नागरिकता स्वर्गमा छ। त्यहाँबाट आउनुहुने मुक्तिदाता, अर्थात् प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी गर्दछौं। उहाँले, जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन सक्नुहुन्छ, हाम्रा हीन शरीरलाई आफ्नै महिमाको शरीरजस्तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ।
फिलिप्पी 3:10-21