Luke 22:19-30

अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढ़ाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्ने गर।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो। तर हेर, मलाई पक्राउनेको हात मैसँग टेबिलमा छ। किनकि मानिसको पुत्र त ठहराइएअनुसार जानैपर्छ, तर धिक्कार त्यस मानिसलाई, जसले उसलाई धोका दिन्छ।” यस्तो काम गर्ने तिनीहरूमध्ये को होला भनी तिनीहरू आपसमा बहस गर्न लागे। अब तिनीहरूमध्ये सबैभन्दा प्रमुख को गनिने हो भनी चेलाहरूका बीचमा वाद-विवाद हुन लाग्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, “अन्यजातिका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरू ‘उपकारी’ भनिन्छन्। तर तिमीहरूचाहिँ यस्तो नहोओ। तिमीहरूमध्ये जो ठूलो छ, त्यो सानो बनोस्, र अगुवा हुनेले चाहिँ सेवा गरोस्। किनभने ठूलो को हो? भोजन खान बस्ने कि सेवा गर्ने? के भोजन खान बस्ने होइन? तर म तिमीहरूका बीचमा एक जना सेवा गर्नेजस्तै छु। “तिमीहरूचाहिँ मेरो परीक्षामा मलाई साथ दिनेहरू हौ। जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभयो, म पनि तिमीहरूलाई दिन्छु, ताकि मेरो राज्यमा तिमीहरू मेरो टेबिलमा खाने र पिउनेछौ, र इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनहरूमा बस्नेछौ।
लूका 22:19-30