Luke 19:37-48

उहाँ जैतून डाँड़ाको ओह्रालोमा आइपुग्नुहुँदा चेलाहरूको समस्त भीड, आफैले देखेका सबै शक्तिशाली कामहरूका निम्ति रमाउँदै, परमेश्वरको प्रशंसा गर्दै उच्च सोरले कराउन लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्य हुन्। स्वर्गमा शान्ति र परमधाममा महिमा।” अनि भीड़का कुनै-कुनै फरिसीहरूले उहाँलाई भने, “हे गुरु, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्।” तर उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चूप लागे भने ढुङ्गाहरू नै कराउनेछन्।” जब येशू नजिकै आइपुग्नुभयो र सहरलाई देख्नुभयो, उहाँ त्यसको निम्ति रुनुभयो, “शान्ति कुन कुराले ल्याउँछ भनेर तैंले आज पनि जानेको भए हुनेथियो! तर अब तेरो दृष्टिबाट त्यो लुकेको छ। किनकि तँमाथि यस्ता दिन आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्नेछन्, र सबैतिरबाट तँलाई थुनिराख्नेछन्। तिनीहरूले तँलाई र तँभित्र वास गर्ने तेरा सन्तानलाई जमिनमा पछार्नेछन्, र एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोडिनेछैन। किनकि तैंले आफूमाथि भएको परमेश्वरको कृपा-दृष्टिको समयलाई चिन्न सकिनस्।” तब उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो र बिक्री गर्नेहरूलाई निकाल्नुभयो, र तिनीहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।” उहाँले दिनहुँ मन्दिरमा शिक्षा दिँदैहुनुहुन्थ्यो। तर मुख्य पूजाहारीहरू, शास्त्रीहरू र जनताका प्रमुख मानिसहरूले उहाँलाई मार्न खोज्थे। तिनीहरूले उहाँलाई मार्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनकि सबै मानिसहरू उहाँका कुरामा मुग्ध थिए।
लूका 19:37-48