ヨハネによる福音書 16:20-33

साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार रमाउनेछ। तिमीहरू शोकित हुनेछौ, तर तिमीहरूको शोक आनन्दमा परिणत हुनेछ। बालक जन्माउने बेलामा स्त्रीलाई पीडा हुन्छ किनभने तिनको बेला आएको हुन्छ, तर जब तिनले बालक जन्माउँछिन्, तब तिनलाई त्यस वेदनाको सम्झना हुँदैन किनकि संसारमा एउटा बालकको जन्म भयो भन्ने कुरामा तिनी हर्षित हुन्छिन्। यसरी नै अहिले तिमीहरूलाई शोक हुन्छ, तर म फेरि तिमीहरूलाई देख्नेछु, र तिमीहरूका हृदय आनन्दित हुनेछन्। अनि कसैले तिमीहरूको आनन्द तिमीहरूबाट खोस्नेछैन। त्यो दिन तिमीहरूले मलाई केही सोध्नेछैनौ। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ। अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ। माग, अनि तिमीहरूले पाउनेछौ। यसरी तिमीहरूको आनन्द पूर्ण होओस्। “यी कुरा मैले तिमीहरूलाई दृष्टान्तमा भनेको छु। तर समय आइरहेछ, जब म तिमीहरूसँग फेरि दृष्टान्तमा बोल्नेछैनँ, तर पिताको विषयमा तिमीहरूलाई स्पष्ट बताउनेछु। त्यो दिन तिमीहरूले मेरो नाउँमा माग्नेछौ। म तिमीहरूका निम्ति पितासँग बिन्ती गरिदिनेछु भनी तिमीहरूलाई भन्दिनँ, किनभने पिता आफैले तिमीहरूलाई माया गर्नुहुन्छ, किनकि तिमीहरूले मलाई माया गरेका छौ, र म परमेश्वरको तर्फबाट आएँ भनी विश्वास गरेका छौ। म पिताबाट आएँ, अनि संसारमा आएको छु, र फेरि म संसारलाई छोड़ेर पिताकहाँ जाँदैछु।” उहाँका चेलाहरूले भने, “अब तपाईं स्पष्ट बोल्दैहुनुहुन्छ, दृष्टान्तमा होइन। अब हामीहरूले बुझ्यौं, तपाईं सबै कुरा जान्नुहुन्छ, अनि तपाईंलाई कसैले सोध्ने आवश्यकता छैन। यसैले हामी विश्वास गर्छौं, कि तपाईं परमेश्वरबाट आउनुभएको हो।” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरू अब विश्वास गर्दछौ? हेर, समय आइरहेछ, वास्तवमा आइसकेको छ, जब तिमीहरू छरपष्ट भई आफ्नै ठाउँमा जानेछौ र मलाई एकलै छोड्नेछौ। तापनि म एकलो छैनँ, किनभने पिता मसँग हुनुहुन्छ। मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।”
यूहन्ना 16:20-33