Jeremiah 29:11-18

किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ। “ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। तब तिमीहरू मकहाँ आउनेछौ, र मलाई प्रार्थना गर्नेछौ, र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु। जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। तिमीहरूले मलाई भेट्टाउनेछौ,” परमप्रभु भन्नुहुन्छ,” र कैदबाट म तिमीहरूलाई फर्काइल्याउनेछु। मैले तिमीहरूलाई निर्वासन गरेर पठाएका सबै जाति-जातिहरू र ठाउँ-ठाउँहरूदेखि म तिमीहरूलाई जम्मा गर्नेछु,” परमप्रभु भन्नुहुन्छ, “र जुन ठाउँदेखि मैले तिमीहरूलाई निर्वासन गरेर पठाएको थिएँ, त्यही ठाउँमा म तिमीहरूलाई फेरि फर्काइल्याउनेछु।” शायद तिमीहरू भन्नेछौ, “परमप्रभुले त हाम्रा निम्ति बेबिलोनमा नै अगमवक्ताहरू खड़ा गर्नुभएको छ।” तर दाऊदको सिंहासनमा बस्ने राजा र यस सहरमा बस्ने सबै मानिसहरू, तिमीहरूका आफन्तहरू, जो तिमीहरूसित निर्वासनमा गएनन्, तिनीहरूका विषयमा सर्वशक्तिमान् परमप्रभु यो भन्नुहुन्छ— हो, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “म तिनीहरूका विरुद्धमा तरवार, अनिकाल र रूढ़ी पठाउनेछु, र म तिनीहरूलाई कुहेका अञ्जीरहरूझैँ तुल्याउनेछु, जो यति साह्रो कुहेका हुन्छन् कि ती खान पनि सकिँदैनन्। तिनीहरूलाई म तरवार, अनिकाल र रूढ़ीले खेद्नेछु। म तिनीहरूलाई पृथ्वीका सबै राज्यहरूमा घृणाको पात्र तुल्याउनेछु। मैले तिनीहरूलाई धपाएका सारा जातिहरूका बीचमा म तिनीहरूलाई सराप, त्रास, गिल्ला र निन्दाका पात्र बनाउनेछु।
यर्मिया 29:11-18