James 5:7-12

यसकारण भाइ हो, प्रभुको आगमन नहोउञ्जेल धैर्य धारण गर। हेर, भूमिको बहुमूल्य फसलको आशा राखेर किसानले अगिल्लो र पछिल्लो वर्षा नहोउञ्जेल धैर्य धारण गरेर पर्खिरहन्छ। तिमीहरूले पनि धैर्य धारण गर। आफ्नो हृदयलाई स्थिर गराओ, किनकि प्रभुको आगमन नजिकै छ। भाइ हो, एउटाले अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू दोषी ठहरिनेछौ। हेर, न्यायकर्ता ढोकैमा हुनुहुन्छ। भाइ हो, कष्ट-भोग र धैर्यको उदाहरण कस्तो हुनुपर्ने हो, सो प्रभुको नाउँमा बोल्ने अगमवक्ताहरूलाई हेर। हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्यका भन्छौं। तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय देखेका छौ, कि प्रभु कस्तो करुणामय र कृपालु हुनुहुन्छ। मेरा भाइ हो, सबै कुराभन्दा पहिले स्वर्गको वा पृथ्वीको अथवा अरू कुनै कुराको शपथ नखाओ, तर दोषी नठहरिनलाई तिमीहरूको “हो” चाहिँ “हो” र “होइन” चाहिँ “होइन” होस्।
याकूब 5:7-12