गलाती 5:1-12

स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभएको छ। यसकारण दह्रा भएर खड़ा होओ, र फेरि दासत्वको जुवामुनि नपर। म पावलले नै तिमीहरूलाई भन्दछु, तिमीहरूले खतना लियौ भने ख्रीष्टबाट तिमीलाई कुनै फाइदा हुनेछैन। खतना हुने प्रत्येकलाई म फेरि चेताउनी दिन्छु, कि सम्पूर्ण व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ। तिमीहरू जो व्यवस्थाद्वारा धर्मी ठहरिन चाहन्छौ, तिमीहरू ख्रीष्टबाट अलग्ग भएका छौ। तिमीहरू अनुग्रहबाट तल खसेका छौ। किनकि हामी पवित्र आत्माद्वारा विश्वासबाट धार्मिकताका आशाको प्रतीक्षा गर्छौं। ख्रीष्ट येशूमा न त खतना केही मूल्यको न बेखतना केही मूल्यको हुन्छ। तर एउटै कुराको मात्र मूल्य छ, अनि त्यो हो— प्रेमद्वारा काम गर्ने विश्वास। तिमीहरू राम्रै दौडिरहेका थियौ। कसले तिमीहरूलाई सत्यता पालन गर्नमा बाधा दियो? तिमीहरूलाई बोलाउनुहुनेबाट यो फकाउने-फुस्लाउने काम भएको होइन। थोरै खमिरले जम्मै ढिकालाई खमिरा बनाउँछ। म प्रभुमा भरोसा राख्दछु, कि तिमीहरूले मेरो बाहेक अर्को विचार अपनाउनेछैनौ। तिमीहरूलाई पिरोल्ने जोसुकै भए पनि त्यसले दण्ड भोग्नेछ। तर भाइ हो, यदि म अझै खतनाको प्रचार गर्दछु भने ममाथि यी सब सतावट किन आएका? त्यसो हो भनेता क्रूसबाट आउने बाधा गएको छ। तिमीहरूलाई विचलित पार्नेहरूले त बरु आफ्नो अङ्ग नै काटे पनि हुने।
गलाती 5:1-12