Ecclesiastes 11:1-6

आफ्नो अन्न पानीमा फालिदेऊ, र धेरै दिनपछि तिमीले त्यो फेरि पाउनेछौ। तिमीले सात, आठ जनालाई भाग बाँड़िदेऊ, किनभने तिमी जान्दैनौ कस्तो विपत्ति देशमा आइपर्नेछ। बादल पानीले पूर्ण भयो भने त्यसले जमिनमा पानी बर्साउँछ। रूख दक्षिणमा ढल्यो भने पनि अथवा उत्तरमा ढल्यो भने पनि त्यो जहाँ ढलेको छ त्यहीँ नै पड़िरहन्छ। बतासको विचार गर्नेले कहिल्यै छर्दैन, बादलमा नजर राख्नेले कहिल्यै कटनी गर्दैन। जसरी तिमीले हावाको चाल कतातिर पुग्छ र आमाको गर्भमा शरीर कसरी बनिन्छ भनेर जान्दैनौ, त्यसरी नै सब थोक बनाउनुहुने परमेश्वरका हातको कामलाई तिमी बुझ्न सक्दैनौ। बिहान समयमा नै तिम्रो बीउ छर, र बेलुकी पनि काम गर्न नछोड, किनभने अहिले छरेको अथवा भरे छरेको कुनचाहिँ सफल हुन्छ, अथवा दुवै नै राम्रा होलान् भनी तिमी जान्दैनौ।
उपदेशक 11:1-6