Deuteronomy 6:1-9

तिमीहरूले यर्दन पारी गई अधिकार गर्न लागेको देशमा पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउन मलाई हुकुम गर्नुभएका आज्ञा, विधि र विधान यी नै हुन्। सम्पूर्ण जीवनभरि परमप्रभु तिमीहरूका परमेश्वरको भय मानेर तिमीहरू र तिमीहरूका छोराछोरी र नातिनातिनाले उहाँका सबै विधि र आज्ञाहरू पालन गर्नू, कि तिमीहरूको आयु लामो होस्। हे इस्राएली हो, यी सबै पालन गर, ताकि तिमीहरूको भलो होस्, र परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा तिमीहरूको खूब वृद्धि पनि होस्। हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर। ती आफ्ना हातमा चिन्हको लागि कसिराख। ती तिमीहरूको निधारमा बाँधिराख। ती आफ्ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख।
व्यवस्था 6:1-9