Colossians 3:1-14

यसकारण यदि तिमीहरू ख्रीष्टसँग जिइउठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्ट हुनुहुन्छ, र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको छ। माथिका कुरामा मन लगाओ। पृथ्वीमा भएका कुरामा होइन। किनभने तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकाइएको छ। ख्रीष्ट, जो हाम्रो जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। यसकारण तिमीहरूमा जो सांसारिक स्वभावका कुराहरू छन् तिनलाई मार: व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ, जो मूर्तिपूजा हो। यिनै कुराहरूका खातिर परमेश्वरको क्रोध आज्ञा नमान्नेहरूमाथि आउँदछ। तिमीहरू पनि यी कुरामा रहँदा अघि एक समय यस्तै कुरामा चल्दथ्यौ। तर अब तिमीहरूले पनि यी सबै कुरा त्याग: रीस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली। एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्वभाव त्यसका चलनसमेत तिमीहरूले त्यागेका छौ, र नयाँ स्वभाव धारण गरेका छौ, जो आफ्नो सृष्टिकर्ताको रूपअनुसार ज्ञानमा नयाँ भइरहेको छ। यहाँ ग्रीक र यहूदी, खतनाका र बेखतनाका, अशिक्षित, असभ्य, कमारा र फुक्काको भेद रहनेछैन, तर ख्रीष्ट नै सबै कुरा र सबै कुरामा हुनुहुन्छ। यसकारण परमेश्वरका चुनिएकाहरू, पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर। एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एक-अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ। यी सबैभन्दा बढ़ी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्छ।
कलस्सी 3:1-14