१ तिमोथी 6:11-21

तर परमेश्वरका जन तिमीले यी सबै त्याग, र धार्मिकता, भक्ति, विश्वास, प्रेम, स्थिरता र नम्रताको लक्ष्य राख। विश्वासको उत्तम लड़ाइँ लड़। अनन्त जीवन पक्रिराख। यसैमा तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्थितिमा तिम्रो विश्वासको असल साक्षी दिएका थियौ। सबै थोकलाई जीवन दिनुहुने परमेश्वर र पन्तियस पिलातसको अगाडि असल गवाही दिनुहुने ख्रीष्ट येशूको सामने, म तिमीलाई आदेश दिँदछु, कि प्रभु येशू ख्रीष्ट देखा नपरुञ्जेल यस आज्ञालाई कलङ्क र अपवादबाट अलग राख। अनि धन्य र सर्वोच्च, राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभुले उचित समयमा ख्रीष्टको आगमनलाई प्रकट गर्नुहुनेछ। उहाँमा नै अमरत्व छ, र उहाँ त्यस ज्योतिमा वास गर्नुहुन्छ जसको नजिक कोही जान सक्दैन। उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन न देख्न सक्छ। उहाँलाई नै आदर र पराक्रम सदासर्वदा होस्। आमेन। यस संसारका धनीहरूलाई घमण्डी नहुने आज्ञा देऊ, र अनिश्चित सम्पत्तिमा होइन तर हामीलाई हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि तिनीहरूले आशा राखून्। तिनीहरूले असल कार्य गरून्, र असल कामहरूमा धनी, उदार-चित्त र दानी होऊन्। यसरी आफ्नै लागि भविष्यको असल जग बसाल्न सकून्, ताकि तिनीहरूले त्यो जीवन पक्रिराखून् जो साँच्ची नै जीवन हो। तिमोथी, जे तिमीलाई सुम्पिएको छ, त्यो सुरक्षित राख। भक्तिहीन गनथन र खण्डनहरू, जो झूटो ज्ञान हो, तिनलाई परित्याग गर। यी कुराहरूका पछि लागेर कति जना आफ्नो विश्वासको लक्ष्यबाट चुकेर गएका छन्। तिमीसँग अनुग्रह रहोस्।
१ तिमोथी 6:11-21