1 Peter 3:8-18

अन्त्यमा तिमीहरू सबैमा आत्माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ। खराबीको बदला खराबी नगर्ने अथवा अपमानको बदला अपमान नगर्ने, बरु त्यसको सट्टामा आशिष् दिने होओ, किनकि यसैको लागि तिमीहरू बोलाइएका छौ, कि तिमीहरूले आशिष् प्राप्त गर्न सक। किनकि, “जसले जीवनलाई प्रेम गर्छ, र असल दिनहरू देख्ने इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई छली कुरा बोल्नबाट अलग राखोस्। त्यो खराबीबाट फर्कोस् र असल गरोस्, त्यसले शान्तिको खोजी गरोस् र त्यसको पछि लागोस्। किनकि परमेश्वरको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका प्रार्थनातिर खुला हुन्छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।” यदि तिमीहरू भलाइको निम्ति उत्साहित छौ भने, तिमीहरूको हानि गर्ने को हुन्छ र? तर धार्मिकताको खातिर दुःख भोग्नैपरे तापनि तिमीहरू धन्यका हौ। तिनीहरूका धम्कीको डर नमान, र भयभीत नहोओ। तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्यसको जवाफ दिन सधैँ तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धासाथ गर। तिमीहरूका विवेक शुद्ध राख, ताकि तिमीहरूको विरोधमा बोल्ने र ख्रीष्टमा तिमीहरूका चालचलनको निन्दा गर्नेहरू लज्जित होऊन्। यदि परमेश्वरको यस्तै इच्छा छ भने, खराबी गरेर दुःख भोग्नुभन्दा भलाइ गरेर दुःख भोग्नु नै असल हो। किनभने हामीलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट पनि पापहरूका निम्ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो— धर्मी जन अधर्मीहरूका निम्ति— तर आत्माद्वारा जीवित पारिनुभयो।
१ पत्रुस 3:8-18