जकरिया 14:8-16

जकरिया 14:8-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यस दिन यरूशलेमबाट जिउँदो पानी निस्‍केर आउनेछ, आधाचाहिँ पूर्वको समुद्रतिर र आधाचाहिँ पश्‍चिमको समुद्रतिर बगिनिस्‍कनेछ, हिउँद र वर्षामा नित्‍य बगिरहनेछ। परमप्रभु समस्‍त पृथ्‍वीका राजा हुनुहुनेछ। त्‍यस दिन एकमात्र परमप्रभु हुनुहुनेछ र उहाँकै नाउँ मात्र हुनेछ। गेबादेखि यरूशलेमको दक्षिण रिम्‍मोनसम्‍म सारा देश अराबाजस्‍तै हुनेछ। तर यरूशलेमचाहिँ अल्‍गो बनाइनेछ, र बेन्‍यामीनको ढोकादेखि पहिलो ढोकाको ठाउँसम्‍म, कुने ढोकासम्‍म, र हननेलको बुर्जादेखि राजाको दाखको कोलसम्‍म आफ्‍नै ठाउँमा रहनेछ। मानिसहरू त्‍यसमा बस्नेछन्, र त्‍यो फेरि कहिल्‍यै नाश गरिनेछैन। यरूशलेम सुरक्षित रहनेछ। जत्ति जातिहरूले यरूशलेमको विरुद्धमा लड़ाइँ गरे, ती सबैलाई परमप्रभुले यस्‍तो महामारीद्वारा प्रहार गर्नुहुनेछ: तिनीहरू आफ्‍ना खुट्टामा खड़ा भएर उभिएकैमा तिनीहरूको मासु कुहेर जानेछ, तिनीहरूका आँखा तिनीहरूकै खोपिल्‍टामा कुहुनेछन्, र तिनीहरूका जिब्रा तिनीहरूका मुखैमा कुहिजानेछन्‌। त्‍यस दिन परमप्रभुद्वारा मानिसहरूमा ठूलो त्रास आइलाग्‍नेछ। तिनीहरू हरेकले अर्काको हात समात्‍नेछ, र एउटाले अर्कालाई आक्रमण गर्नेछ। यहूदाले पनि यरूशलेममा लड़ाइँ गर्नेछ। सबै वरिपरिका जातिहरूको धन-सम्‍पत्ति जम्‍मा गरिनेछ— सुन, चाँदी, लुगाफाटाहरू ठूलो परिणाममा बटुलिनेछ। घोड़ाहरू, खच्‍चरहरू, ऊँटहरू, गधाहरू र ती छाउनीहरूमा भएका जम्‍मै पशुहरूलाई पनि यही किसिमको रूढ़ीले मार्नेछ। तब यरूशलेमलाई आक्रमण गर्ने जाति-जातिहरूमा जत्ति बाँचेका हुन्‍छन्, तिनीहरू वर्षेनी सर्वशक्तिमान्‌ परमप्रभुका महाराजालाई दण्‍डवत्‌ गर्न र छाप्रो-वासको चाड़ मान्‍नलाई यरूशलेममा जानेछन्‌।

शेयर गर्नुहोस्
जकरिया 14 पढ्नुहोस्

जकरिया 14:8-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यस दिन यरूशलेमबाट जिउँदो पानी बगेर निस्कनेछ; आधा पूर्वीय मृत सागरपट्टि र आधा पश्‍चिमी महासागरपट्टि बगेर निस्कनेछ; त्यो हिउँद र वर्षामा सधैँ बगिरहनेछ। याहवेह सारा पृथ्वीका राजा हुनुहुनेछ। त्यस दिन केवल याहवेह हुनुहुनेछ; अनि उहाँको नाम मात्र हुनेछ। सम्पूर्ण देश गेबादेखि लिएर यरूशलेमको दक्षिणपट्टिको रिम्मोनसम्म नै अराबाजस्तै हुनेछ। तर यरूशलेमचाहिँ बेन्यामीनको मूलढोकादेखि पहिलो मूलढोकाको स्थानसम्म, कुनाको मूलढोकासम्म र हननेलको धरहरादेखि राजकीय दाखको कोलसम्म माथि अग्लोमा उठाइनेछ, र त्यसको आफ्नै ठाउँमा रहनेछ। मानिसहरू त्यहाँ बसोबास गर्नेछन्; त्यो फेरि कहिल्यै नाश हुनेछैन। यरूशलेम सुरक्षित रहनेछ। यरूशलेमको विरुद्धमा लडाइँ गर्ने सबै राष्ट्रहरूलाई याहवेहले यस्तो विपत्तिले प्रहार गर्नुहुनेछ: तिनीहरू उभिरहेकै बेला तिनीहरूका मासु कुहेर झर्नेछन्। तिनीहरूका आँखाहरू खोपिल्टाभित्रै कुहुनेछन्; अनि तिनीहरूका जिब्राहरू तिनीहरूका मुखभित्रै कुहेर जानेछन्। अनि त्यस दिन याहवेहबाट ठूलो त्रास मानिसहरूमाथि पर्नेछ। हरेक मानिसले एक-अर्काको हात समात्नेछन् र तिनीहरू एउटाले अर्कोमाथि आक्रमण गर्नेछन्। यहूदाले पनि यरूशलेममा लडाइँ गर्नेछ। चारैतिरका राष्ट्रहरूका धनसम्पत्ति—सुन, चाँदी र लुगाफाटाहरूको थुप्रो जम्मा गरिनेछ। त्यस्तै किसिमको रूढीले घोडा, खच्‍चर, ऊँट, गधा र शिविरहरूमा भएका सबै जनावरहरूलाई प्रहार गर्नेछ। त्यसपछि यरूशलेमलाई आक्रमण गर्ने सबै राष्ट्रहरूबाट बाँचेका मानिसहरू प्रत्येक वर्ष महाराजा, सेनाहरूका याहवेहलाई दण्डवत् गर्न र छाप्रोबासको चाड मनाउनलाई जानेछन्।

शेयर गर्नुहोस्
जकरिया 14 पढ्नुहोस्

जकरिया 14:8-16 पवित्र बाइबल (NERV)

यस समय यरूशलेमबाट लगातार पानी बगिरहनेछ। पानी बिभाजन हुनेछ अनि एउटा भाग पूर्वतिर बग्नेछ अनि अर्को भाग पश्चिमको भूमध्य सागर सम्म जानेछ अनि यो पुरै पानी बर्ष भरी ग्रीष्म अनि शीत ऋतु दुबैमा बगि रहन्छ। त्यससमय परमप्रभु, समस्त पृथ्वीका राजा हुनुहुनेछ। परमप्रभु एक मात्र हुनुहुन्छ। उहाँको नाउँ एउटै हो। त्यससमय यरूशलेमको चारै तिर अराबा समतल जस्तै हुनेछ। गिबाबाट भएर नेगेवमा रिम्मोन जमीनसम्म मरुभूमि जस्तै हुनेछ। तर यरूशलेमको पूरै शहर फेरि बिन्यामीनको फाटकदेखि प्रथम फाटक सम्म अनि हनलेलको धरहरादेखि राजाको दाखको कोल सम्म फेरि बग्नेछ। तिनीहरू त्यहाँ बस्नेछन् अनि फेरि कहिल्यै पनि नाश हुनेछैन अनि मानिसहरू यरूशलेममा सुरक्षित बस्नेछन्। तर जो कोहि जाति यरूशलेमको बिरूद्धमा युद्ध लडे, परमप्रभुले ती राष्ट्रहरूलाई दण्ड दिनुहुनेछ। उहाँले तिनीहरूलाई डरलाग्दो बिमारद्वारा आक्रमण गर्नुहुनेछ। तिनीहरू उभिरहेको बेला तिनीहरूको शरीर सड्नेछ। तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहिनेछ अनि जिब्रो तिनीहरूको मुखमा नै कुहिने छ। त्यो भयंकर डरलाग्दो महामारी शत्रुहरूको छाउनीमा हुनेछ अनि तिनीहरूका घोडाहरू, खच्चरहरू, ऊँटहरू र गधाहरूलाई त्यो डरलाग्दो रोग लाग्नेछ। त्यससमय तिनीहरू साँच्चै नै परमप्रभुसँग डराउँनेछन्, तिनीहरूले एक-अर्काको घाँटी निमोठ्नेछन्, तिनीहरूले एक-अर्कोमाथि प्रहार गर्नको निम्ति हात उठाउँनेछन्। यहूदाका मानिसहरूले यरूशलेममा युद्ध गर्नेछन्। तर तिनीहरूले शहरको चारैतिरका जातिहरूबाट धन प्राप्त गर्नेछन्। उनीहरूले एकदमै ज्यादा सुन, चाँदी अनि लुगा फाटाहरू प्राप्त गर्नेछन्। यरूशलेमको बिरूद्ध युद्धगर्नेहरू जति बाँचेकाछन् तिनीहरूले प्रत्येक बर्ष केही मानिसहरू जो यरूशलेमको बिरूद्ध लड्न आउँनेछन् र बाँच्छन् प्रत्तेक बर्ष राजा, सर्वशक्तिमान परमप्रभुको आरधना गर्न आउँनेछन्। तिनीहरू छप्रो-बासको चाड मनाउँन आउँनेछन्।

शेयर गर्नुहोस्
जकरिया 14 पढ्नुहोस्

जकरिया 14:8-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यो दिन आएपछि यरूशलेमबाट जीवन दिने पानी बहन थाल्‍नेछ। त्‍यो पानी आधा मृत सागरतिर र आधा भूमध्‍य सागरतिर बगेर जानेछ। वर्षभरि नै हिउँद र वर्षा सबै समय त्‍यो बहिरहनेछ। तब परमप्रभु सारा पृथ्‍वीका राजा हुनुहुनेछ, सबै मानिसहरूले उहाँलाई परमेश्‍वर भनी पुज्‍नेछन् र त्‍यही नामबाट उहाँलाई चिन्‍नेछन्। उत्तरमा गेबाबाट दक्षिणमा रिम्‍मोनसम्‍म सम्‍पूर्ण भूमि समतल बन्‍नेछ। त्‍यसका बीचमा यरूशलेम सहर बेन्‍यामीनको ढोकाबाट पुरानो ढोका भएको ठाउँ र कुनाको ढोकासम्‍म पुग्‍नेछ र फेरि हननेलको धरहराबाट राजाको दाखको कोलसम्‍म फैलिनेछ। मानिसहरू त्‍यहाँ सुरक्षासाथ बास गर्नेछन्, त्‍यहाँ फेरि कुनै विध्‍वंस हुने डर हुनेछैन। यरूशलेमसित लडाइँ गर्ने जातिहरूमाथि परमप्रभुले एउटा खतरनाक रोग ल्‍याउनुहुनेछ। जीवित छँदै तिनीहरूका शरीरका मासु कुहेर झर्नेछ, तिनीहरूका आँखाहरू र जिब्रोहरू सडेर जानेछन्। त्‍यस बेला परमप्रभुले तिनीहरूलाई यस्‍तो व्‍याकुल र भयभीत पार्नुहुनेछ कि तिनीहरू आपसमा एकले अर्कालाई अठ्याउँदै आक्रमण गर्नेछन्। यरूशलेमको बचाउको लागि यहूदाका मानिसहरूले लडाइँ गर्नेछन्। तिनीहरूले वरिपरिका सबै जातिहरूका धन-सम्‍पत्ति र प्रशस्‍त मात्रामा सुन, चाँदी र लुगाफाटा लुटेर लिनेछन्। शत्रुका छाउनीहरूमा भएका सबै पशुहरू अर्थात् घोडाहरू, खच्‍चरहरू, ऊँटहरू र गधाहरूमाथि पनि यस्‍तै एउटा खतरनाक रोग लाग्‍नेछ। त्‍यसपछि यरूशलेममाथि आक्रमण गर्ने जाति-जातिहरूबाट बाँचेकाहरू जति सबै सर्वशक्तिमान् परमप्रभुलाई राजा मानी पुज्‍न र छाप्रो बासको चाड मनाउन यरूशलेममा हरेक वर्ष जानेछन्।

शेयर गर्नुहोस्
जकरिया 14 पढ्नुहोस्

जकरिया 14:8-16

जकरिया 14:8-16 NNRVजकरिया 14:8-16 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्