जकरिया 14:1-5
जकरिया 14:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको एउटा यस्तो दिन आउँदैछ, जब तिमीहरूबाट लुटिएको लूट तिमीहरूकै बीचमा बाँड़िनेछ। म सबै जातिहरूलाई यरूशलेमको विरुद्ध लड़ाइँ गर्नलाई भेला गराउनेछु, र यो सहर लिइनेछ, र घरहरू लुटिनेछन्, र स्त्रीहरूलाई बलात्कार गरिनेछ। सहरको आधा भाग निर्वासन गरिनेछ, तर बाँकी रहेका मानिसहरूचाहिँ सहरबाट अलग लगिनेछैनन्। तब युद्धको दिनमा लड़ाइँ गरेझैँ परमप्रभु निस्केर ती जाति-जातिहरूसित लड़ाइँ गर्नुहुनेछ। त्यस दिन उहाँका खुट्टाले यरूशलेमको सामु पूर्वतिर भएको जैतून डाँड़ामा टेक्नेछन्, अनि पूर्वदेखि पश्चिमसम्म जैतून डाँड़ाको बीचमा धाँदो फाट्नेछ, र त्यहाँ एउटा ठूलो खोल्सा बनिनेछ। आधा पर्वत उत्तरतिर र आधा पर्वत दक्षिणतिर छुट्टिनेछ। तिमीहरू मेरो पर्वतको खोल्साबाट भएर भाग्नेछौ, किनकि त्यो आसेलसम्म फैलिनेछ। यहूदाका राजा उज्जियाहको पालोमा आएको भूकम्पमा मानिसहरू भागेझैँ तिमीहरू भाग्नेछौ। तब परमप्रभु मेरा परमेश्वर उहाँका सबै पवित्र जनहरूसँग आउनुहुनेछ।
जकरिया 14:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे यरूशलेम, याहवेहको दिन आउँदैछ, जब तिमीहरूको धनसम्पत्ति लुटिनेछ र त्यो तिमीहरूकै सामु पर्खालभित्र बाँडिनेछ। म सबै राष्ट्रहरूलाई यरूशलेमको विरुद्धमा लडाइँ गर्नका निम्ति भेला गराउनेछु। सहर कब्जा गरिनेछ, घरहरू लुटिनेछन् र स्त्रीहरू बलत्कृत हुनेछन्। आधा सहर निर्वासनमा जानेछ, तर बाँकी रहेका मानिसहरूचाहिँ सहरबाट बाहिर लगिनेछैनन्। तब याहवेह निस्कनुहुनेछ र उहाँ युद्धको दिनमा झैँ, उहाँले राष्ट्रहरूको विरुद्धमा लडाइँ गर्नुहुनेछ। त्यस दिन उहाँका खुट्टाले यरूशलेमको पूर्वपट्टिको जैतुन पर्वतमा टेक्नेछन्, र जैतुन पर्वत पूर्वदेखि पश्चिमसम्म दुई भाग हुनेछ; अनि त्यहाँ एउटा ठूलो बेँसी बन्नेछ। यसरी पर्वतको आधा भाग उत्तरपट्टि सर्नेछ, र आधाचाहिँ दक्षिणपट्टि सर्नेछ। तिमीहरू मेरो पर्वतको बेँसीहुँदै भाग्नेछौ; किनकि त्यो आसेलसम्म फैलिनेछ। जसरी तिमीहरू यहूदाका राजा उज्जियाहको दिनमा भुइँचालोबाट भागेका थियौ, त्यसरी नै तिमीहरू भाग्नेछौ। तब याहवेह मेरा परमेश्वर सबै पवित्र जनहरूसँग आउनुहुनेछ।
जकरिया 14:1-5 पवित्र बाइबल (NERV)
हेर, परमप्रभुको न्यायको बिशेष दिन आउँदैछ, अनि जुन धन तिमीहरूबाट लिएको थियो त्यो धन तिम्रो शहरमा बाँडिनेछ। म सबै देशलाई यरूशलेम को बिरूद्ध युद्ध गर्नलाई एकै ठाउँमा भेला पार्नेछु। तिनीहरूले शहरमा अधिकार जमाउँनेछन्। तथा घरहरू नष्ट गरिदिनेछन्। स्त्रीहरूलाई भ्रष्ट पारिनेछ अनि आधा मानिसहरूलाई कैदमा लगिनेछ। तर बाँकी रहेकाहरूलाई शहर बाहिर लगिनेछैन्। त्यसपछि परमप्रभुले ती देशहरूको बिरूद्धमा युद्ध गर्नुहुनेछ। यो एउटा साँच्चो युद्ध हुनेछ। त्यससमय उहाँ भद्राक्ष एउटा पर्वतमा उभिनुरहनु हुनेछ। त्यो पहाड यरूशलेमको पूर्वपट्टि अवस्थित छ। जैतूनको पर्वत बिष्फोटन हुनेछ। पर्वतको एउटा भाग उत्तरपट्टि जानेछ, अनि अर्को भाग दक्षिणपट्टि जानेछ। अनि तिमी पर्वतका भन्ज्याङ हुँदै भाग्नेछौ जुन ओजेल सम्म जान्छ जसरी उज्जियाह यहूदाको राजा भएको बेलामा भूकम्प आउँदा तिमी भागेका थियौ। तर परमप्रभु, मेरा परमेश्वर आउनु हुनेछ अनि उहाँका सबै पवित्र मानिसहरू उहाँको साथमा आउनेछन्।
जकरिया 14:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुको न्यायको दिन नजिकै छ। त्यस बेला तिमीहरूमाथि लुटपिट हुनेछ र लुटेका माल तिमीहरूकै सामुन्ने भागबन्डा गरिनेछ। यरूशलेममाथि आक्रमण गर्नलाई परमप्रभुले सबै जातिहरूलाई एकसाथ जम्मा गर्नुहुनेछ। यरूशलेम सहर कब्जा गरिनेछ, घरहरू लुटिनेछन् र स्त्रीहरूमाथि बलात्कार गरिनेछ। आधासरो मानिसहरू कैद गरी विदेशमा लगिनेछन्, बाँकी मानिसहरू सहरमा नै रहनेछन्। बितेका दिनहरूमा झैँ परमप्रभु अघि आउनुभएर ती जातिहरूसित लडाइँ गर्नुहुनेछ। त्यस दिन उहाँ यरूशलेमको पूर्वपट्टि जैतुन डाँडामा उभिनुहुनेछ। तब जैतुन डाँडा पूर्वदेखि पश्चिम भएर दुई भागमा छुट्टिनेछ र बीचमा एउटा ठूलो बेसी बन्नेछ। आधा डाँडा उत्तरतिर र आधा डाँडा दक्षिणतिर छुट्टिनेछ। तिमीहरूचाहिँ डाँडा दुई भागमा छुट्टिएर बनिएको बेसीको बाटो भएर भाग्नेछौ। यहूदाको राजा उज्जियाहको पालोमा भूइँचालो जाँदा तिम्रा पिता-पुर्खाहरू जसरी भागेका थिए, त्यसरी नै तिमीहरू भाग्नेछौ। परमप्रभु मेरा परमेश्वर सबै स्वर्गदूतहरूलाई साथमा लिएर आउनुहुनेछ।