जकरिया 13:1-9

जकरिया 13:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“त्‍यस दिन तिनीहरूको पाप र अशुद्धता सफा गर्नलाई दाऊदको घराना र यरूशलेमका बासिन्‍दाहरूका निम्‍ति पानीको एउटा मूल फुटेर निस्‍कनेछ। सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, “म त्‍यस दिन देशबाट देवताहरूको नाउँनिशानै मेटिदिनेछु, र तिनीहरूको सम्‍झना नै हुनेछैन। अगमवक्ताहरू र अशुद्ध आत्‍मालाई पनि देशबाट म निकालिदिनेछु। अनि अझै कसैले अगमवाणी गर्‍यो भने, त्‍यसलाई जन्‍माउने बुबा-आमाले त्‍यसलाई भन्‍नेछन्, ‘तँ मर्नैपर्छ, किनभने तैंले परमप्रभुको नाउँमा झूटा बोलेको छस्‌।’ त्‍यसले अगमवाणी गर्दा त्‍यसलाई जन्‍माउने बुबा-आमाले त्‍यसलाई वारपार घोचिदिनेछन्‌। “त्‍यस दिन हरेक अगमवक्ता आफ्‍नै अगमवाणीको दर्शनदेखि लजाउनेछ, र धोका दिनलाई अगमवक्ताले लाउने रौँका लुगा त्‍यसले लाउनेछैन। त्‍यसले भन्‍नेछ, ‘म त अगमवक्ता होइनँ, तर किसान मात्र हुँ, किनकि जवान अवस्‍थादेखि नै जमिनबाट मेरो जीविका चलेको छ’। कसैले त्‍यसलाई ‘तिम्रो शरीरमा भएका यी चोटचाहिँ के हुन्‌?’ भनी सोधे भने, त्‍यसले जवाफ दिनेछ, ‘यी मेरा मित्रहरूको घरमा मैले पाएका चोटहरू हुन्‌।’ “ए तरवार, मेरो गोठालाको विरुद्धमा उठ्, नजिकका मानिसको विरुद्धमा, जो मेरो सङ्गी हो,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “गोठालालाई हिर्का, र भेड़ाहरू तितरबितर हुनेछन्, र मेरो हात सानाहरूका विरुद्धमा म उठाउनेछु।” परमप्रभु भन्‍नुहुन्‍छ, “समस्‍त देशमा दुई-तिहाइ मारिनेछन्, र नष्‍ट हुनेछन्, तापनि एक-तिहाइचाहिँ छोड़िनेछन्‌। त्‍यस एक-तिहाइलाई म आगोमा ल्‍याउनेछु। चाँदी निखारेझैँ म तिनीहरूलाई निखार्नेछु, र सुन जाँचेझैँ जाँच्‍नेछु। तिनीहरूले मेरो नाउँको पुकारा गर्नेछन्, र म तिनीहरूलाई जवाफ दिनेछु। ‘यिनीहरू मेरा प्रजा हुन्,’ भनी म भन्‍नेछु, र तिनीहरूले भन्‍नेछन्, ‘परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ’।”

शेयर गर्नुहोस्
जकरिया 13 पढ्नुहोस्

जकरिया 13:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“त्यस दिन दावीदको घराना र यरूशलेमका बासिन्दाहरूलाई पाप र अशुद्धताबाट शुद्ध गर्नलाई तिनीहरूका निम्ति एउटा पानीको मूल फुटेर निस्कनेछ। “त्यस दिन म देशबाट मूर्तिहरूका नामनिशानै मेटिदिनेछु, अनि कहिल्यै पनि तिनीहरूको सम्झना गरिनेछैन,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। “म देशबाट अगमवक्ताहरू र अशुद्धताको आत्मा दुवैलाई हटाइदिनेछु। यदि कसैले अझै अगमवाणी गर्छ भने त्यसलाई यो भनिनेछ, ‘तँ बाँच्नेछैनस्; किनकि तैँले याहवेहको नाममा झूट बोलेको छस्।’ जसले अगमवाणी गर्छ, त्यसका आफ्नै आमाबुबाले त्यसलाई छुरीले रोपिदिनेछन्। “त्यस दिन हरेक अगमवक्ता तिनीहरूका अगमवाणीको दर्शनको कारण शर्ममा पर्नेछन्। तिनीहरूले धोका दिनलाई अगमवक्ताको रौँको वस्त्र लाउनेछैनन्। हरेकले भन्‍नेछ, ‘म अगमवक्ता होइनँ। म एक किसान मात्र हुँ; किनकि युवाअवस्थादेखि नै मेरो जीविका जमिनबाट चलेको छ।’ यदि कसैले तिनीहरूलाई सोध्यो भने, ‘तिम्रो शरीरमा भएका यी चोटहरू के हुन्?’ तिनीहरूले जवाफ दिनेछन्, ‘यी मेरो मित्रहरूको घरमा मलाई दिइएका चोटहरू हुन्।’ “हे तरवार, मेरो गोठालाको विरुद्धमा उठ्; तिनीहरूको विरुद्धमा, जो मेरो नजिक छन्!” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। “गोठालोलाई प्रहार गर्, र भेडाहरू तितरबितर हुनेछन्; अनि म मेरो हात सानाहरूको विरुद्धमा फर्काउनेछु।” याहवेह घोषणा गर्नुहुन्छ, “सारा देशमा दुई तिहाइ मारिनेछन् र नष्‍ट हुनेछन्; तापनि त्यहाँ एक तिहाइ छोडिनेछन्। यस एक तिहाइलाई म आगोमा हालिदिनेछु; म तिनीहरूलाई चाँदीझैँ खार्नेछु, र तिनीहरूलाई सुनझैँ जाँच्नेछु। जब तिनीहरूले मेरो नाममा पुकार्नेछन्, तब म तिनीहरूलाई जवाफ दिनेछु; म तिनीहरूलाई भन्‍नेछु, ‘तिनीहरू मेरा प्रजा हुन्,’ र तिनीहरूले भन्‍नेछन्, ‘याहवेह हाम्रा परमेश्‍वर हुनुहुन्छ।’ ”

शेयर गर्नुहोस्
जकरिया 13 पढ्नुहोस्

जकरिया 13:1-9 पवित्र बाइबल (NERV)

तर त्यससमय, पानीको एउटा कुलो दाऊदको घरना तथा यरूशलेमको बासिन्दाहरूको निम्ति मूल फुटेर आउँनेछ। त्यो मूलले तिनीहरूको पापलाई धोएर शुद्ध गरिदिनेछ। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय पृथ्वीबाट सबै मूर्तिहरू हटाईदिनेछु। मानिसहरूले तिमीहरूको नामहरू पनि याद राख्ने छैनन्, म झूटा अगमवक्ता अनि अशुद्ध आत्मालाई पृथ्वीबाट हटाई दिनेछु। यदि कुनै मानिसले अगमवाणी गरे त्यसले दण्ड पाउँनेछ। यहाँ सम्म कि त्यसको आफ्नो आमा-बाबुले पनि भन्नेछन्, ‘तैंले परमप्रभुको नाउँमा झूटो बोलिस्। यसकारण तँ मर्नु पर्छ।’ त्यसको आमा-बाबुले अगमवाणी गरेकोमा त्यसलाई छुराले रोपिदिनेछन्। त्यस समाय अगमवक्ता आफ्नो अगमवाणी र दर्शनको निम्मति लज्जित हुनेछ। मानिसहरूलाई झूटो अगमवाणी भनेर धोका दिनलाई तिनीहरूले त्यस प्रकारको बाक्लो पोषाक लगाउँने छैनन्। तिनीहरूले भन्नेछन्, ‘म अगमवक्ता हैन। म एउटा किसान हुँ। किनभने एउटा मानिसले मलाई मेरो बाल्य अवस्थामा नै दासलाई जस्तै बेच्यो।’ अरू मानिसहरूले भन्नेछन्, ‘तिम्रो हातको यो चोट केहो?’ उसले भन्नेछ, ‘यो मेरो साथीको घरमा लागेको चोट हो।’” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तरवार मेरो गोठालालाई हिर्काऊ, मेरो साथीलाई हिर्काऊ। मेरो गोठाला अनि भेंडा़लाई प्रहार गर! भेंडा़ भागेर जानेछ र साना-सानाहरूलाई म दण्ड दिनेछु।” परमप्रभु भन्नुहुन्छ, “देशका दुइ तिहाईं मानिसहरूलाई चोट लगाईंने छ अनि मारिने छ। तर एक तिहाईं बाँच्नेछन्। त्यपछि म ती बाँचेकालाई जाँच्नेछु। म तिनीहरूलाई अत्यन्तै कष्ट दिनेछु। त्यो कष्ट आगो जस्तै हुनेछ जुन आगोले चाँदीको शुद्धता जाँच्छ। म तिनीहरूको जाँच त्यसरी नै गर्नेछु जसरी मानिसहरूले सुनको शुद्धता जाँच गर्छन्। तब तिनीहरूले मलाई सहायताको निम्ति बोलाउँनेछन् अनि म सहायता गर्नेछु। म भन्नेछु, ‘तिमीहरू मेरो प्रजाहरू हौ।’ अनि उनीहरूले भन्नेछन्, ‘परमप्रभु मेरो परमेश्वर हुनुहुन्छ।’” ग्रेट होप मिनिष्ट्रीज च्यारेटेवल रिलिजियस ट्रष्ट

शेयर गर्नुहोस्
जकरिया 13 पढ्नुहोस्

जकरिया 13:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यो समय आएपछि एउटा पानीको मूल फुटेर आउनेछ र त्‍यस पानीले दाऊदका सन्‍तानहरू र यरूशलेमका बासिन्‍दाहरूलाई तिनीहरूका पाप र अशुद्धताबाट शुद्ध पार्नेछ। त्‍यस बेला म त्‍यस देशबाट मूर्तिहरूको नाम-निशाना मेटिदिनेछु र फेरि कसैले तिनीहरूको सम्‍झना गर्नेछैन। आफैंलाई म अगमवक्ता हुँ भनी भन्‍नेहरूलाई र अशुद्ध आत्‍मालाई म देशबाट हटाइदिनेछु। तैपनि कसैले अगमवाणी बोल्‍ने ढिपी गर्छ भने त्‍यसका आफ्‍ना आमा-बुबाले नै त्‍यसलाई तँ मारिनुपर्नेछ भन्‍नेछन् किनभने त्‍यसले परमप्रभुको वचन बोल्‍दै छु भन्‍छ; तर त्‍यसले झूटै कुरा बोल्‍छ। त्‍यसले अगमवाणी गर्दा त्‍यसैका आमा-बुबाले त्‍यसलाई घोचेर मार्नेछन्। त्‍यस दिन हरेक अगमवक्ता आफ्‍नै पाएको दर्शनदेखि लजाउनेछ र अगमवाणीको धोका दिनलाई अगमवक्ताले रौंको वस्‍त्र लाउनेछैन। त्‍यसको सट्टामा त्‍यसले यसो भन्‍नेछ, ‘म अगमवक्ता होइनँ। म एउटा किसान हुँ। मैले सारा जीवन खेती गर्दैआएको छु।’ कसैले त्‍यसलाई ‘तिम्रो छातीमा केको चोट परेको हो?’ भनी सोधे त्‍यसले यस्‍तो जवाफ दिनेछ, ‘यो चोट मलाई मेरो साथीको घरमा लागेको हो।” सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “ए तरवार! उठ् र मेरो काम गर्ने गोठालोलाई हमला गर्‌, त्‍यसलाई मार्‌ र भेडाहरू छरपष्‍ट हुनेछन्। म आफ्‍नो प्रजामाथि आक्रमण गर्नेछु र देशभरि दुई तिहाइ मानिसहरू मर्नेछन्। अनि एक तिहाइ बाँच्‍नेछन्। बाँचेका एक तिहाइको म जाँच लिनेछु र आगोले चाँदी निखारेझैँ म तिनीहरूलाई निखार्नेछु। सुन जाँचेझैँ म तिनीहरूलाई जाँच्‍नेछु। तब तिनीहरूले मलाई बिन्‍ती गर्नेछन् र म तिनीहरूलाई उत्तर दिनेछु। तिनीहरू मेरा प्रजा हुन् भनी म तिनीहरूलाई भन्‍नेछु र म तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले भन्‍नेछन्।”

शेयर गर्नुहोस्
जकरिया 13 पढ्नुहोस्