तीतस 2:1-5
तीतस 2:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीले चाहिँ जे पक्का धार्मिक-सिद्धान्त सुहाँउदो छ त्यही सिकाऊ। वृद्ध मानिसलाई संयमी, गम्भीर, समझदार, विश्वासमा पक्का, प्रेम र धैर्यमा दृढ़ हुन सिकाऊ। यसरी नै वृद्ध स्त्रीहरू आचार-व्यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्ने आदेश देऊ। जे असल छ, तिनीहरूले त्यही सिकाऊन्। तिनीहरूले तरुणीहरूलाई आ-आफ्ना पति र बालबच्चाहरूलाई प्रेम गर्न, र तिनीहरू समझदार, पतिव्रता, घरजम गर्न सक्ने, दयालु, आ-आफ्ना पतिका अधीनमा रहने हुनलाई तालीम देऊन्, ताकि परमेश्वरका वचनको निन्दा हुन नपाओस्।
तीतस 2:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीले जे खाँटी शिक्षासित सुहाउँदो छ, त्यही शिक्षाहरू सिकाउनू। वृद्ध मानिसहरूलाई संयमी, आदरका योग्य, आफूलाई अधीनमा राख्न सक्ने, र विश्वासमा, प्रेममा र धीरजमा पक्का हुन सिकाउनू। त्यसरी नै वृद्ध स्त्रीहरूलाई जीवनका चालहरूमा आदरणीय, निन्दा नगर्ने, मद्यपान नगर्ने, बरु तिनीहरूले अरूहरूलाई असल कुराहरू सिकाउने होऊन्। तब तिनीहरूले तरुणी स्त्रीहरूलाई तिनीहरूका पतिहरू र छोराछोरीहरूलाई प्रेम गर्न, आत्मसंयमी र शुद्ध हुन, घरमा व्यस्त रहन, दयालु हुन र आ-आफ्ना पतिहरूका अधीनमा बस्न सिकाऊन्, ताकि कसैले पनि परमेश्वरको वचनको निन्दा गर्न नपाओस्।
तीतस 2:1-5 पवित्र बाइबल (NERV)
तर, तिमीले मानिसहरूलाई साँच्चो शिक्षाको अनुशरण गर्न तिनीहरूले के-के गर्नु पर्छ त्यो बताउनु पर्छ। पाका मानिसहरूलाई आत्मा संयमी, गम्मभीर र ज्ञानी बन्ने कुरा सिकाऊ। तिनीहरू विश्वासमा, प्रेममा र धैर्यमा दृढ बन्नुपर्छ। वृद्ध स्त्रीहरूलाई पनि आफ्ना जीवन मार्गमा पवित्र रहन सिकाऊ। तिनीहरूले अर्काको विरूद्ध कुरा गर्नु हुँदैन अनि ज्यादा दाखरस पिउने बानी गर्नु हुँदैन। ती स्त्रीहरूको लागि के राम्रो हुन्छ त्यो सिकाऊ। त्यही प्रकारले तिनीहरूले जवान स्त्रीहरूलाई आफ्ना पति र बालकहरूलाई माया गर्न सिकाउनु पर्छ। तिनीहरूलाई बुद्धिमानी र पवित्र हुन, आफ्नो घरको ख्याल राख्नु, आफ्ना पतिहरू प्रति दयालु अनि आज्ञकारी हुनु भनी सिकाउनै पर्छ। यस्तो स्थितिमा परमेश्वरले हामीलाई दिनु भएको शिक्षाको बारेमा कुनै आलोचना हुने छैन।
तीतस 2:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर तिमीले चाहिँ साँचो शिक्षामा भएका कुरा सिकाउने गर। बुढा मानिसलाई शान्त, गम्भीर अनि विश्वासी, प्रेम र सहने शक्तिमा पाको हुनुपर्छ भनेर शिक्षा देओ। त्यसरी नै बुढी भएका स्वास्नी-मान्छेहरूले भक्तिको जीवन चुनून्। तिनीहरूले अर्कालाई बिनासित्तीको दोष नलगाऊन्। तिनीहरू रक्सीको वशमा नपरून् र राम्रा कुराहरूको शिक्षा देऊन्। त्यसो भए तिनीहरूले तरुनी स्वास्नी-मान्छेहरूलाई आफ्ना लोग्ने र छोरा-छोरीलाई माया गर्न तालिम दिन सक्नेछन्। अनि उनीहरूले तिनीहरूलाई आफैंलाई वशमा राख्ने, पवित्र मन भएका, दयालु, असल घरजाम गर्ने र लोग्नेको अधीनमा रहने शिक्षा दिनेछन्। त्यस्तै भयो भने परमेश्वरको शिक्षाको बदनाम हुन पाउनेछैन।