तीतस 1:1-4
तीतस 1:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरको दास र येशू ख्रीष्टको प्रेरित पावलबाट, परमेश्वरका चुनिएकाहरूको विश्वास र भक्तिसँग मिल्दो तिनीहरूका सत्यको ज्ञान बढ़ाउनलाई, जुन विश्वास र ज्ञान अनन्त जीवनको आशामा स्थिर छन्, अनि कहिल्यै झूट नबोल्नुहुने परमेश्वरले अनन्त कालदेखि प्रतिज्ञा गर्नुभयो। परमेश्वर हाम्रा मुक्तिदाताको आज्ञाअनुसार मलाई जिम्मा लाएको प्रचारद्वारा उचित समयमा उहाँले आफ्नो वचन प्रकट गर्नुभयो। एउटै विश्वासमा भएको मेरो साँचो बालक तीतसलाई— परमेश्वर पिता र हाम्रा मुक्तिदाता येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।
तीतस 1:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरको सेवक र येशू ख्रीष्टको प्रेरित पावलबाट—परमेश्वरका चुनिएकाहरूका विश्वासलाई बढाउन तथा भक्तिमा डोर्याउने सत्यको ज्ञानको लागि, अनन्त जीवनको आशामा अडिएको त्यो विश्वास र ज्ञान, जसलाई झूट नबोल्नुहुने परमेश्वरले सनातनदेखि नै प्रतिज्ञा गर्नुभएको थियो। अनि मलाई हाम्रा मुक्तिदाता परमेश्वरको आज्ञाद्वारा सुम्पनुभएको प्रचारद्वारा उहाँले आफ्नो वचनलाई तोक्नुभएको समयमा प्रकाशमा ल्याउनुभयो। एउटै विश्वासमा भएको मेरो साँचो छोरा तीतसलाई: परमेश्वर पिता र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूमा अनुग्रह र शान्ति!
तीतस 1:1-4 पवित्र बाइबल (NERV)
परमेशवरको सेवक र येशू ख्रीष्टका प्रेरित पावलको प्रणाम। परमेश्वरले छानेका मानिसहरूको विश्वासलाई सहायता गर्नु अनि मानिसहरूलाई सत्य बताउनुको निम्ति मलाई पठाइएको हो। परमेश्वरको सेवा कसरी गर्ने त्यो सत्यले मानिसलाई सिकाउँछ। त्यो विश्वास र त्यो ज्ञान अनन्त जीवनको हाम्रो आशाबाट उत्पन्न हुन्छ। त्यो जीवन दिने वचन परमेश्वरले हामीलाई अनादि कालमै दिनु भएको हो परमेश्वर कहिल्यै झूटो बोल्नु हुँदैन। ठीक समयमा परमेश्वरले संसारलाई त्यो जीवन बारे जान्न दिनुभयो। परमेश्वरले त्यसलाई प्रचारद्वारा जान्न दिनु भयो। त्यो काम परमेश्वरले मलाई सुम्पनु भयो। मैले त्यो हाम्रो मुक्तिदाता परमेश्वरको आदेशमा प्रचार गरें। तीतसलाई प्रणाम। हाम्रो साझा विश्वासमा तिमी मेरा साँच्चो छोरा हौ। पिता परमेश्वर र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूबाट शान्ति र अनुग्रह रहोस्।
तीतस 1:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म पावल परमेश्वरकै कमारो र ख्रीष्ट येशूकै प्रेरित यो पत्र लेख्दै छु। परमेश्वरले मलाई छान्नुभयो र उहाँका चुनिएकाहरूको विश्वास बढाउन पठाउनुभयो र परमेश्वरलाई मनपर्दो जीवनसँग मिल्ने सत्यतिर तिनीहरूलाई पुर्याउन पनि मलाई खटाउनुभयो। यो सत्यचाहिँ अजम्मरी जीवनको आशामा अडिएको छ। कहिले पनि झूटो नबोल्ने परमेश्वरले सृष्टि हुनुभन्दा अघि नै हामीलाई यो जीवन दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको थियो। अनि ठीक समयमा नै उहाँले यो आफ्नो सुसमाचारमा प्रकट गर्नुभयो। यही सुसमाचार सुनाउने जिम्मा हामीलाई मुक्ति दिनुहुने परमेश्वरको हुकुमअनुसार मलाई दिइयो। मसँग एकै किसिमको विश्वासमा भएको मेरो साँचो छोरा तीतसलाई यो पत्र लेख्दै छु। परमेश्वर पिता र हामीलाई मुक्ति दिनुहुने ख्रीष्ट येशूले तिमीलाई अनुग्रह र शान्ति देऊन्।