रोमी 8:8-14
रोमी 8:8-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पापमय स्वभावको वशमा हुनेहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्। यदि साँच्चै परमेश्वरका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने, तिमीहरू पापमय स्वभावमा होइन, तर पवित्र आत्मामा हुन्छौ। तर कुनै मानिसमा ख्रीष्टका आत्मा हुनुहुन्न भनेता त्यो उहाँको हुँदैहोइन। यदि ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भने, पापको कारणले तिमीहरूका शरीर मरेका भए तापनि तिमीहरूका आत्मा धार्मिकताको कारणले जिउँदा हुन्छन्। तर यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने, ख्रीष्ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ। यसैले त भाइ हो, पापमय स्वभावअनुसार जिउनलाई हामी पापमय स्वभावप्रति बाध्य छैनौं। किनकि पापमय स्वभावअनुसार जिउँछौ भने, तिमीहरू मर्छौ, तर यदि पवित्र आत्माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पार्यौ भने, तिमीहरू जिउनेछौ। किनभने सबै, जो परमेश्वरका आत्माले डोर्याइएका हुन्छन्, तिनीहरू नै परमेश्वरका सन्तान हुन्।
रोमी 8:8-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
शारीरिक स्वभावद्वारा नियन्त्रित भएकाहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्। यदि वास्तवमा परमेश्वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने तिमीहरू शारीरिक स्वभावद्वारा नियन्त्रित हुँदैनौ, तर आत्माद्वारा नियन्त्रित हुन्छौ। यदि कसैसँग ख्रीष्टको आत्मा छैन भने तिनीहरू ख्रीष्टका हुनै सक्दैनन्। तर यदि तिमीहरूसँग ख्रीष्ट हुनुहुन्छ भने तिमीहरूको शरीर पापले गर्दा मरेको भए तापनि धार्मिकताले गर्दा आत्माले तिमीहरूलाई जीवन दिनुहुन्छ। अनि यदि येशूलाई मरेकाबाट पुनर्जीवित पार्नुहुने परमेश्वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने ख्रीष्टलाई मरेकाबाट पुनर्जीवित पार्नुहुनेले नै तिमीहरूका नाशवान् शरीरलाई पनि उहाँकै आत्माद्वारा जीवन दिनुहुनेछ, जुन आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ। यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूका शारीरिक स्वभावले भनेका कुराहरू गर्न तिमीहरू बाध्य छैनौ। किनकि यदि तिमीहरू शारीरिक स्वभावअनुसार जिउँछौ भने तिमीहरू मर्नेछौ; तर यदि आत्माद्वारा तिमीहरूले शरीरका दुष्ट कामलाई मृत तुल्यायौ भने तिमीहरू बाँच्नेछौ। किनकि तिनीहरू, जो परमेश्वरका आत्माले डोर्याइएका छन्, तिनीहरू परमेश्वरका सन्तान हुन्।
रोमी 8:8-14 पवित्र बाइबल (NERV)
ती मानिसहरू जो पापपूर्ण स्वभावको अधीनमा छन् भने परमेश्वरलाई कहिल्यै खुशी पार्न सक्तैनन्। तिम्रो लागि, यदि परमेश्वरको आत्मा तिमीमा बस्छ। तिमी आफ्ना पापपूर्ण स्वभावबाट नियन्त्रित छैनौ, तर आत्माबाट छौ। तर यदि कसैमा ख्रीष्टको आत्मा छैन भने ऊ ख्रीष्टसित हुँदैन। किनभने तिमीहरूको शरीर पापले गर्दा मरेकोछ। तर यदि तिमीमा ख्रीष्ट हुनुहुन्छ भने, तब आत्माले जीवन दिंदछ जस्तो ख्रीष्टले तिमीहरूलाई परमेश्वरसित धर्मी तुल्याउनु भयो। परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। अनि यदि तिमीहरूमा उहाँको आत्माले वास गर्छ भने, उहाँले तिमीहरूको शरीरलाई पनि जीवन-दान दिनुहुनेछ जुन मरणशील छ। उहाँले तिम्रो शरीरमा आत्माद्वारा जीवन-दान दिन हुन्छ जुन आत्मा तिमीहरूमा बस्छ। यसकारण मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू, हामी आफ्ना पापपूर्ण स्वभावद्वारा नियन्त्रित हुनुहुँदैन। हामीले पापपूर्ण स्वभावले डोर्याएको बाटामा लाग्नु हुँदैन। यदि तिमीहरू आफ्ना पापपूर्ण स्वभावको चाहनाको पछि लाग्छौ भने तिमीहरू आत्मिक रूपले मर्नेछौ। तर यदि तिमीहरू कुकर्म गर्नदेखि आफूलाई रोक्न आत्माको शक्ति प्रयोग गर्छौ भने तिमीले सत्य-जीवन पाउने छौ। परमेश्वरका साँच्चो छोरा-छोरीहरू भनेका ती नै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याइएका हुन्छन्।
रोमी 8:8-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
शारीरिक स्वभावको अधीनमा रहनेले परमेश्वरलाई खुसी पार्न सक्दैन। परमेश्वरका आत्मा तिमीहरूसँगै बास गर्नुहुन्छ भने तिमीहरू आफ्नै शारीरिक स्वभावको अधीनमा रहँदैनौ तर पवित्र आत्माकै अधीनमा रहन्छौ। कसैसँग ख्रीष्टको आत्मा छैन भने ऊ ख्रीष्टको हुनै सक्दैन। ख्रीष्ट तिमीमा हुनुहुन्छ भने तिम्रो शरीर पापले गर्दा मर्छ तर परमेश्वरको सामु ठीक ठहरिएकोले तिम्रो आत्माचाहिँ जिउँछ। परमेश्वरले ख्रीष्टलाई मरेकोबाट पनि शरीरसँगै फेरि जिउँदो गराउनुभयो। परमेश्वरका आत्मा तिमीहरूभित्र रहनुहुन्छ भने त्यसै गरी तिमीहरूको मर्ने शरीरलाई पनि उहाँले जिउँदो गराउनुहुनेछ। यसैकारण दाजुभाइहरू, हाम्रो शारीरिक स्वभावले इच्छा गरेझैँ गर्न हामीलाई कर लाग्दैन किनभने तिमीहरूले आफ्नो शारीरिक स्वभावले इच्छा गरेझैँ गर्दछौ भने तिमीहरू मर्नुपर्नेछ। तर यदि पवित्र आत्माको शक्तिले शारीरिक चालचलनलाई नाश गर्छौ भने तिमीहरू बाँच्नेछौ। परमेश्वरको आत्माले देखाएको बाटोमा चल्नेहरू परमेश्वरकै छोरा-छोरी हुन्