रोमी 4:13-21
रोमी 4:13-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
संसारको उत्तराधिकारी हुनलाई अब्राहाम र उनको वंशलाई दिइएको प्रतिज्ञा व्यवस्थाद्वारा आएको होइन, तर विश्वासको धार्मिकताद्वारा आएको हो। यदि व्यवस्था पालन गर्नेहरू मात्र उत्तराधिकारी हुन्छन् भनेता विश्वास रद्द र प्रतिज्ञा व्यर्थ हुन्छ। किनभने व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्यहाँ अपराध पनि हुँदैन। त्यसैले यो प्रतिज्ञा विश्वासमाथि निर्भर गर्दछ, यस हेतुले कि प्रतिज्ञा अनुग्रहमाथि भर परेर अब्राहामका सबै वंशहरूका निम्ति पक्का होस्। यो प्रतिज्ञा व्यवस्था पालन गर्नेहरूका निम्ति मात्र नभएर अब्राहामको जस्तो विश्वासमा हुनेहरूका निम्ति पनि हो, किनकि अब्राहाम हामी सबैका पिता हुन्। जसो लेखिएको छ, “मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु।” जुन परमेश्वरमाथि अब्राहामले विश्वास गरे, उहाँको दृष्टिमा उनी हामी सबैका पिता हुन्। उहाँले मरेकाहरूलाई पनि जीवन दिनुहुन्छ, र अस्तित्वमा नभएका थोकहरूलाई बोलाई अस्तित्वमा ल्याउनुहुन्छ। “तेरा सन्तान पनि यस्तै असंख्य हुनेछन्” भनेर परमेश्वरले भन्नुभएअनुसार, आशा पटक्कै नहुँदा पनि अब्राहामले आशा राखी विश्वास गरे, र यसरी उनी धेरै जातिहरूका पिता बने। प्राय: सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि विश्वासमा कमजोर भएनन्। परमेश्वरको प्रतिज्ञाबारे कुनै शङ्काले उनलाई डगमगाउन सकेन, तर आफ्नो विश्वासमा दह्रिलो भएर उनले परमेश्वरलाई महिमा दिए। प्रतिज्ञा गर्नुभएको कुरा परमेश्वरले गर्न पनि सक्नुहुन्छ भन्ने अब्राहामलाई पूरा निश्चय थियो।
रोमी 4:13-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब्राहाम र उनका सन्तानहरूले संसारको उत्तराधिकार हुने प्रतिज्ञा व्यवस्थाद्वारा पाएका थिएनन्, तर विश्वासबाट आउने धार्मिकताद्वारा प्राप्त गरेका थिए। यदि व्यवस्थामा भर पर्नेहरू मात्र उत्तराधिकार हुन्छन् भने त विश्वास अनावश्यक र प्रतिज्ञा व्यर्थ हुन्छ। किनकि व्यवस्था भङ्ग गर्नाले परमेश्वरको क्रोध ल्याउँछ। अनि जहाँ व्यवस्था छैन, त्यहाँ अपराध पनि हुँदैन। यसकारण प्रतिज्ञा विश्वासबाट आउँदछ; ताकि अनुग्रहद्वारा अब्राहामका सबै सन्तानका निम्ति प्रतिज्ञा निश्चित होस्। व्यवस्था मान्नेहरूलाई मात्र होइन, तर अब्राहामजस्तै विश्वास गर्नेहरूलाई पनि हो। किनकि उनी हामी सबैका पिता हुन्। यस्तो लेखिएको छ: “मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु।” तिनी परमेश्वरका सामु हाम्रा पिता हुन्। तिनले उनै परमेश्वरमाथि विश्वास गरे, जसले मरेकाहरूलाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका वस्तुहरूलाई पनि बोलाएर अस्तित्वमा ल्याउनुहुन्छ। आशा नभएको अवस्थामा पनि अब्राहामले आशा राखेर विश्वास गरे; अनि उनलाई भनिएको जस्तै, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्,” उनी धेरै जातिहरूका पिता भए। प्रायः सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि विश्वासमा कमजोर भएनन्। परमेश्वरको प्रतिज्ञामा अविश्वास गरी विचलित भएनन्, तर परमेश्वरलाई महिमा दिँदै तिनी आफ्ना विश्वासमा झन् बलिया भए। परमेश्वर आफ्नो प्रतिज्ञा पूरा गर्नलाई सक्षम् हुनुहुन्छ भन्ने कुरामा अब्राहाम पूर्ण रूपले निश्चित थिए।
रोमी 4:13-21 पवित्र बाइबल (NERV)
अब्राहाम र उनका भावी सन्तानहरूले परमेश्वरको प्रतिज्ञा पाए कि उनीहरूले सारा संसार पाउने छन्। अब्राहामले त्यो प्रतिज्ञा पाएको व्यवस्थालाई विश्वास गरेको कारणले होइन। अब्राहामले परमेश्वरको प्रतिज्ञा पाएको कारण उनी आफ्नो विश्वासले गर्दा धर्मी थिए। यदि मानिसहरूले व्यवस्था पछ्याएर परमेश्वरको वचन पाउने भए, तब विश्वास मूल्यहीन बन्ने थियो, र परमेश्वरको अब्राहामसँग को प्रतिज्ञा बेकम्मा बन्ने थियो। किनभने जब मानिसहरूले व्यवस्था पालन गर्दैनन् तब व्यवस्थाले परमेश्वरलाई रिस उठाउँछ। तर यदि त्यहाँ कुनै व्यवस्था छैन भने, त्यहाँ अनाज्ञाकारीताको कुनै प्रश्न आउँदैन। यसकारण परमेश्वरको विश्वास प्रतिज्ञाको फल हो। त्यसैले परमेश्वरको प्रतिज्ञा सित्तैको उपहार जस्तै पाउन सकिन्छ। अनि यदि प्रतिज्ञा सित्तैको उपहार भए, अब्राहामका विश्वास हुने सबै मानिसहरूले त्यो वचन पाउन सक्छन्। यो प्रतिज्ञा ती मानिसहरूका लागि मात्र होइन जो मोशाको व्यवस्थाको अधीनमा छन्। प्रतिज्ञा सबैको निम्ति हो जो अब्राहाम जस्तै विश्वासी थिए। अब्राहाम हामी सबैका पिता हुन्। धर्मशास्त्रमा यस्तो लेखिएको छ, “मैले तिमीलाई सबै जातिका पिता बनाएँ” यो परमेश्वर समक्ष सत्य छ। अब्राहामले परमेश्वरमा विश्वास गरे जसले मृतहरूलाई जीवन दिनुहुन्छ र जुन कुराहरू अहिलेसम्म भएको छैन त्यसको निर्णय दिनुहुन्छ। अब्राहामको सन्तान हुनेछ भन्ने आशा थिएन। तर अब्राहामले परमेश्वरमा विश्वास गरे र आशा जीवित राखे। त्यही कारणले अब्राहाम धेरै जातिका पिता भए। परमेश्वरले जस्तो उनलाई भन्नुभयो, “तिमीसँग धेरै सन्तानहरू हुनेछन्।” अब्राहाम प्रायः एकसय वर्ष उमेर पुगिसकेका थिए, यसैले उनको शरीरबाट सन्तानहरू हुन उमेर बितिसकेको थियो। सारहबाट पनि कुनै छोरा-छोरी भएन। अब्राहामले यसको विषयमा सोचेका थिए। तर परमेश्वरप्रति उनको विश्वास कमजोर भएन। परमेश्वरले प्रतिज्ञा गर्नु भएको कुरा गर्नुहुनेछ भन्ने कुरामा अब्राहामले किहिल्यै शंका गरेनन्। अब्राहमले आफ्नो विश्वास गुमाएनन्। बरू, उनको विश्वास अझ दृढ भयो अनि उनले परमेश्वरको प्रशंसा गरे। आफूले दिनुभएको प्रतिज्ञा पूर्ण गर्नमा परमेश्वर सामर्थी हुनुहुन्छ भन्ने कुरामा अब्राहाम पूर्णरूपले निश्चिन्त थिए।
रोमी 4:13-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब्राहामले व्यवस्था पालन गरेकोले होइन, तर उहाँमा विश्वासद्वारा ठीक ठहरिएकोले नै उहाँले उनलाई र उनका सन्तानलाई संसारको हकवाला बनाउने प्रतिज्ञा गर्नुभयो। व्यवस्था पालन गर्नेहरू नै हकवाला बन्ने भए विश्वास वेकामको भएर परमेश्वरको प्रतिज्ञा पनि त व्यर्थ हुनेथियो। व्यवस्था नटेर्नेहरूमाथि परमेश्वरको रिस पोखिन्छ तर व्यवस्था नभएको भए त नटेर्ने कुरै आउने थिएन। अब प्रतिज्ञा विश्वासद्वारा पाइने भएकोले यो परमेश्वरको अनुग्रहमा भर पर्दछ। यसले अब्राहामका सबै सन्तानको लागि प्रतिज्ञा पक्का गराउँछ। यो ठूलो अनुग्रह व्यवस्था हुनेहरूको लागि मात्र होइन तर अब्राहामको जस्तो विश्वास गर्नेहरूको लागि पनि हो, कारण अब्राहाम हामी सबैका पुर्खा हुन्। धर्मशास्त्रमा परमेश्वरले अब्राहामलाई भन्नुभएको छ, “मैले तिमीलाई धेरै जातिको पुर्खा बनाएको छु,।” अब्राहामले उही मरेकालाई जीवन दिने र बोलेकै भरमा नभएकालाई हुने बनाउने परमेश्वरमा विश्वास गरे। सन्तानको आशै नभएको बेला अब्राहामले धेरै जातिका पुर्खा हुन्छु भनी विश्वास गरेर आशा राखे। परमेश्वरले यसो भन्नुभएको थियो, “तिम्रा सन्तानहरू ताराझैँ धेरै हुनेछन्,।” उनी सय वर्ष पुग्न लागेका थिए तर तिनलाई आफ्नो बुढो भएको शरीरले र साराको बाँझी कोखले विश्वासबाट कमजोर गराउन सकेन। तिनले परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरामा पटक्कै शङ्का गरेनन् तर विश्वासमा अझ बलियो भएर परमेश्वरको प्रशंसा गरे किनभने आफूले गर्नुभएको प्रतिज्ञा परमेश्वरले अवश्य पूरा गर्नुहुन्छ भन्ने उनलाई पक्का थाहा थियो।