रोमी 3:10-18
रोमी 3:10-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन। ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकम्मा भएका छन्। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन।” “तिनीहरूका घोक्रा खुला चिहान हुन्, तिनीहरू आफ्ना जिब्राले छलका कुरा गर्छन्।” “सर्पको विष तिनीहरूका ओठमा छ।” “तिनीहरूका मुख सराप र तीता कुराले भरिएका छन्।” “तिनीहरूका खुट्टा रक्तपात गर्नलाई छिटा छन्। विनाश र दुर्दशा तिनीहरूको बाटोमा छन्, र शान्तिको बाटो तिनीहरूले चिनेका छैनन्।” “तिनीहरूका आँखाको सामने परमेश्वरको भय छैन।”
रोमी 3:10-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसरी लेखिएको छ: “धर्मी कोही छैन, एक जना पनि छैन; बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने पनि कोही छैन। सबै परमेश्वरदेखि तर्किगएका छन्, ती सबै एकसाथ काम नलाग्ने भएका छन्; भलाइ गर्ने कोही छैन, एक जना पनि छैन।” “तिनीहरूका घोक्रो खुल्ला चिहानहरू हुन्; तिनीहरूका जिब्राले झूटा कुरा बोल्छन्।” “तिनीहरूका ओठमा विषालु सर्पका विष छ।” “तिनीहरूका मुख श्राप र तितोपनाले भरिएका छन्।” “तिनीहरूका खुट्टा रगत बगाउन सदा तयार छन्; तिनीहरूका मार्गहरू विनाश र दुर्दशाले भरिएका छन्, तिनीहरूले शान्तिको मार्गलाई चिनेकै छैनन्।” “तिनीहरूका आँखामा परमेश्वरको डर छैन।”
रोमी 3:10-18 पवित्र बाइबल (NERV)
धर्मशास्त्रले भन्दछ, “त्यहाँ पापरहित मानिस कोही छैनन्। एउटै पनि छैनन्! त्यहाँ कोही बुझ्झकी मानिस छैनन्। त्यहाँ परमेश्वरको खोजी गर्ने एकैजना पनि छैन। सबैले परमेश्वरपट्टि पीठ फर्काएका छन्, अनि सबै बेकम्मा भएका छन्। असल कर्म गर्ने कोही छैन। एकैजना पनि छैन।” “मानिसहरूका मुख खुल्ला चिहानहरू जस्ता छन्। तिनीहरू आफ्ना जिब्रोले अरूलाई धोका दिंदछन्।” “तिनीहरूले जुन कुराहरू भन्दछन् ती सर्पका विष जस्ता हुँदछन्।” “तिनीहरूका मुखहरू श्राप र तीतोपनले भरिपूर्ण छन्।” “तिनीहरूका खुट्टा हत्या गर्नमा छीटो कुद्दछन्। जता-जता तिनीहरू जान्छन् त्यहाँ सर्वनाश र विपत्ति ल्याउँदछन्। तिनीहरू शान्तिको बाटो जान्दैनन्।” “तिनीहरूमा परमेश्वरको डर र सम्मान छैन।”
रोमी 3:10-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यस्तै कुरा धर्मशास्त्रमा पनि लेखिएको छ, “परमेश्वरको अगाडि कुनै मानिस पनि ठीक छैन, अहँ एउटै पनि। परमेश्वरलाई बुझ्ने मानिस कोही छैन नता कसैले परमेश्वरको खोजी नै गरेका छन्। सबैले बाटो बिराएका छन् र सबै काम नलाग्ने भएका छन्, असल काम गर्ने एक जना पनि छैन,।” “तिनीहरूको घोक्रो खुल्ला चिहानजस्तै छ, तिनीहरूले आफ्नै जिब्राले ढाँटेका छन्,।” “तिनीहरूको बोली विषालु सर्पको विषजस्तो छ,।” “तिनीहरूले सरापिरहन्छन् र मनको तीतो पोखाइरहन्छन्,।” “तिनीहरू मानिस मार्न छिटा छन्। तिनीहरू जहाँ-जहाँ जान्छन्, त्यहाँ-त्यहाँ मृत्यु र दु:ख फैलाउँछन्। शान्तिको बाटो तिनीहरूले चिनेका छैनन्,।” “नता परमेश्वरको डरै मानेका छन्,।”