रोमी 15:18-21 - Compare All Versions
रोमी 15:18-21 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
किनभने, वचन र कामले अन्यजातिहरूलाई आज्ञाकारी बनाउनलाई ख्रीष्टले मद्वारा जे गर्नुभएको छ, तीबाहेक कुनै विषयमा बोल्ने आँट म गर्दिनँ। यो काम चिन्हहरू र आश्चर्यकर्महरूको शक्तिले र पवित्र आत्माको शक्तिद्वारा मैले गरेको छु। यसरी मैले यरूशलेमदेखि लिएर इल्लुरिकनसम्मै चारैतिर ख्रीष्टको सुसमाचार सम्पूर्ण रूपले प्रचार गरेको छु। अरू मानिसले बसालेको जगमाथि घर नबनाऊँ भनेर ख्रीष्टको नाउँ नलिएको ठाउँमा सुसमाचार प्रचार गर्ने उत्कट इच्छा मैले राखेको छु, जस्तै यसो लेखिएको छ, “उहाँको विषयमा जसलाई कहिल्यै भनिएको छैन, तिनीहरूले उहाँलाई देख्नेछन्, र उहाँको विषयमा जसले कहिल्यै सुनेका छैनन् तिनीहरूले बुझ्नेछन्।”
रोमी 15:18-21 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्टले मेरो जीवनद्वारा गर्नुभएको कामको बारेमा मात्र बोल्ने आँट गर्छु। परमेश्वरलाई मान्न मैले अन्यजातिका मानिसहरूलाई मेरा काम र प्रचारबाट सिकाएको छु। आश्चर्यकर्म, शक्तिशाली चिन्ह र पवित्र आत्माको शक्तिले यरूशलेमदेखि इल्लुरिकन भन्ने देशसम्मको यात्रा गरेर मैले ख्रीष्टको बारेमा सम्पूर्णरूपले प्रचार गरेको छु। अरूले सुरु गरेको जगमा घर बनाएझैँ अरूले प्रचार गर्न थालेको ठाउँमा म प्रचार गर्न चाहन्नँ। ख्रीष्टलाई सुन्दै नसुनेको र अरूले प्रचारै नगरेको ठाउँमा मात्र सुसमाचार प्रचार गर्न मलाई मन लाग्छ। यसै गरी धर्मशास्त्रले पनि भन्छ, “उहाँका बारेमा नभनिएकाहरूले उहाँलाई देख्नेछन् अनि उहाँका बारेमा नसुनेकाहरूले उहाँलाई बुझ्नेछन्।”
रोमी 15:18-21 NERV (पवित्र बाइबल)
गैर-यहूदीहरूलाई परमेश्वरको आज्ञाकारी बनाउनमा वचन र कर्मद्वारा ख्रीष्टले मेरो मार्फत जे गर्नु भएको छ त्यसबारे मात्र बोल्ने आँट म गर्नेछु। अनि तिनीहरूले परमेश्वरको आत्माको शक्तिद्वारा गरिएका चमत्कारहरू र आश्चर्यलाई देखेर आज्ञा पालन गरे। पूरै यरूशलेमदेखि इल्लिरिकमसम्म ख्रीष्टको सुसमाचार प्रचार गर्ने काम मैले सिद्धयाएँ। जहाँ-जहाँ ख्रीष्टलाई चिनिंदैन ती ठाउँहरूमा मात्र सुसमाचार प्रचार गर्ने इच्छा सदा मेरो रहेको छ। मैले यसो गरे कारण कसैले पहिल्यैबाट थालिसकेको काममाथि निर्माण गर्ने मैले चाहिनँ। तर धर्मशास्त्रमा लेखिएको छः “मानिसहरू जसलाई उहाँको विषयमा भनिएको छैन, तिनीहरूले देख्नेछन्, मानिसहरू जसले उहाँको विषयमा सुनेका छैनन्, तिनीहरूले बुझ्नेछन्।”
रोमी 15:18-21 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले भनेका वचन र गरेका कामद्वारा गैरयहूदीहरूलाई परमेश्वरतर्फ आज्ञाकारी बनाउनका निम्ति ख्रीष्टले मद्वारा जे गर्नुभएको छ, त्योभन्दा बढी म अरू केही कुरा भन्ने आँट गर्दिनँ। अलौकिक चिन्हहरू र अद्भुत कार्यहरूद्वारा परमेश्वरका आत्माको शक्तिद्वारा यी काम भए। यसकारण यरूशलेमदेखि इल्लिरिकमसम्म मैले ख्रीष्टको सुसमाचार पूर्ण रूपमा प्रचार गरेको छु। मेरो सधैँ उत्कट इच्छा यही रहेको छ, कि ख्रीष्ट नचिनिएको ठाउँमा म सुसमाचार प्रचार गर्न सकूँ, ताकि कसैले बसालेको जगमा मैले काम गर्नु नपरोस्। बरु यस्तो लेखिएको छ: “जसलाई उहाँको बारेमा बताइएन, उनीहरूले नै उहाँलाई देख्नेछन्; अनि जसले सुनेका छैनन्, तिनीहरूले नै बुझ्नेछन्।”