रोमी 11:25-32

रोमी 11:25-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

भाइ हो, आफ्‍नै अभिमानमा तिमीहरू बुद्धिमान्‌ हुन खोज्‍छौ कि भनेर तिमीहरू यो रहस्‍य बुझ भन्‍ने म चाहन्‍छु, कि अन्‍यजातिहरूको संख्‍या पूर्ण नभएसम्‍म इस्राएलीहरूको एक अंशमा कठोरता आएको छ। यसरी सारा इस्राएलको उद्धार हुनेछ, जस्‍तो लेखिएको छ: “उद्धारक सियोनबाट आउनुहुनेछ, उहाँले याकूबबाट अधर्म हटाउनुहुनेछ।” “अनि तिनीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पाप हरण गर्नेछु।” सुसमाचारको हिसाबले त तिनीहरू तिमीहरूका खातिर परमेश्‍वरका शत्रुहरू हुन्, तर चुनाउको हिसाबले चाहिँ पूर्वजहरूका खातिर तिनीहरू प्रियहरू हुन्‌। किनभने परमेश्‍वरका वरदान र बोलावट अटल छन्‌। किनकि जसरी तिमीहरू पनि एक पल्‍ट परमेश्‍वरको आज्ञापालन नगर्नेहरू थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताले गर्दा तिमीहरूले कृपा पाएका छौ। तिमीहरूलाई कृपा देखाइएकोले गर्दा तिनीहरूले पनि कृपा प्राप्‍त गरून्‌ भनी तिनीहरू अहिले अनाज्ञाकारी भएका छन्‌। किनभने परमेश्‍वरको कृपा सबै मानिसहरूमाथि होस्‌ भनेर उहाँले सबैलाई अनाज्ञाकारितामा नै सुम्‍पनुभएको छ।

शेयर गर्नुहोस्
रोमी 11 पढ्नुहोस्

रोमी 11:25-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू यो रहस्यमय सत्य कुरामा अनजान रहो भन्‍ने म चाहन्‍नँ, ताकि आफ्नै अभिमानमा तिमीहरू बुद्धिमान् नहोओ: इस्राएलका केही मानिसहरूको हृदय कठोर छ, तर यो गैरयहूदीहरूको पूरा संख्या ख्रीष्‍टमा नआउन्जेलसम्म मात्र हुनेछ। यसरी सबै इस्राएलको उद्धार हुनेछ, जसरी लेखिएको छ: “उद्धारकर्ता सियोनबाट आउनुहुनेछ; उहाँले याकोबबाट अभक्ति दूर गर्नुहुनेछ, अनि उनीहरूसँग यो मेरो करार हुनेछ, जब म उनीहरूका पाप मेटाइदिनेछु।” सुसमाचारको दृष्‍टिमा तिनीहरू तिम्रा लागि परमेश्‍वरका दुश्मन हुन्; तर परमेश्‍वरको चुनावको दृष्‍टिबाट तिनीहरू आफ्ना पुर्खाको कारण अति प्रिय छन्। किनकि परमेश्‍वरको वरदान र बोलावट अटल छ। जसरी तिमीहरू एक पल्ट परमेश्‍वरप्रति अनाज्ञाकारी थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताको कारणले गर्दा तिमीहरूले कृपा पाएका छौ, यसरी नै उनीहरू पनि अनाज्ञाकारी भएका छन्, ताकि तिमीहरूले पाएका परमेश्‍वरको कृपाको कारण उनीहरूले पनि कृपा पाउन सकून्। किनकि परमेश्‍वरले हरेकलाई अनाज्ञाकारितामा बन्दी बनाउनुभएको छ, ताकि उहाँद्वारा तिनीहरू सबैलाई कृपा मिलोस्।

शेयर गर्नुहोस्
रोमी 11 पढ्नुहोस्

रोमी 11:25-32 पवित्र बाइबल (NERV)

दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म तिमीहरूलाई यो गुप्त कुरा बताउन चाहन्छु। यसले तिमीहरूलाई नबुझेका सबै कुराहरू बुझ्नमा सहयोग गर्नेछ। सत्य यो होः इस्राएलको एउटा भाग हठी भयो। तर त्यो परिवर्तन हुन सक्नेछ जब प्रशस्त अ-यहूदीहरू परमेश्वरकहाँ आउँदछन्। अनि त्यसै गरी सारा इस्राएलीहरूलाई बचाइनेछ। यो धर्मशास्त्रमा लेखिएको छः “उद्धारक सियोनबाट आउनु हुनेछ; उहाँले याकूबका परिवारबाट दुष्ट्याइँ हटाउनुहुनेछ। अनि म तिनीहरूसँग यो वाचा गर्नेछु जब तिनीहरूका पापहरू म हरण गर्नेछु।” यहूदीहरू सुसमाचार ग्रहण गर्न अस्वीकार गर्छन्, यसकारण तिनीहरू परमेश्वरका शत्रुहरू हुन्। यो तिमी गैर-यहूदीहरूलाई सहायता गर्नको लागि भएको हो। तर तिनीहरू चुनिएका मानिसहरू हुनाको कारण परमेश्वरले अझ पनि प्रेम गर्नुहुन्छ। किनभने तिनीहरूका पिताहरूलाई वचन दिनुभएको थियो। परमेश्वरले मानिसहरूलाई आफूले दिनुहुने उपहारको बारेमा अनि आफ्नो बोलावटको बारेमा आफ्नो मन परिवर्तन गर्नुहुने छैन। एक समयमा तिमीहरूले परमेश्वरलाई मान्न अस्वीकार गरेका थियौ। तर अहिले तिमीहरूले परमेश्वरको कृपा पायौ कारण तिनीहरूले आज्ञा पालन गर्न मानेनन्। अनि अहिले तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गर्छन् किनभने परमेश्वरले तिनीहरू प्रति कृपा दर्शाउनुभयो। तिनीहरूले पनि परमेश्वरबाट कृपा प्राप्त गरून् भनि त्यसो भएको थियो। सबै मानिसहरू अवज्ञाको कारागारमा यसकारण थुनिएका छन् कि परमेश्वरको कृपा सबैमा पुग्न सकोस्।

शेयर गर्नुहोस्
रोमी 11 पढ्नुहोस्

रोमी 11:25-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दाजुभाइहरू हो, एउटा रहस्‍य तिमीहरूलाई थाहा होस् भन्‍ने म चाहन्‍छु। त्‍यो तिमीहरूलाई थाहा भयो भने तिमीहरूले आफ्‍नै लागि घमण्‍ड गर्नेछैनौ। यो रहस्‍य यस्‍तो छ, आउनुपर्ने जति अन्यजातिहरू ख्रीष्‍टमा नआउञ्‍जेल मात्र इस्राएलीहरूको हृदय कठोर हुनेछ। त्‍यसपछि सम्पूर्ण इस्राएली जाति बचाइनेछन्। धर्मशास्‍त्रमा लेखिएको छ, “सियोनदेखि मुक्तिदाता आउनुहुनेछ, याकूबको वंशलाई नराम्रो कामबाट फर्काउनुहुनेछ।” अनि प्रभु भन्‍नुहुन्‍छ, “तिनीहरूको पाप मेटेर मैले तिनीहरूसँग बाँधेको करार पूरा गर्नेछु।” सुसमाचारमा विश्‍वास नगरेकोले नै कोही इस्राएलीहरू परमेश्‍वरका शत्रु भएका हुन्। त्‍यसले गर्दा तिमीहरूलाई चाहिँ फाइदा भएको हो अनि परमेश्‍वर आफैंले छान्‍नुभएको हुनाले र पुर्खाहरूको कारणले गर्दा परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्‍छ किनभने परमेश्‍वरले आफूले दिनुभएका दानहरू फिर्ता लिनुहुन्‍न र बोलाइसकेकालाई कहिल्‍यै पनि त्‍याग्‍नुहुन्‍न। उहिले तिमी अन्यजातिका मानिसहरू परमेश्‍वरको आज्ञापालन गर्दैनथ्यौ तर अहिले इस्राएलीहरूले आज्ञापालन नगरेकोले मात्र परमेश्‍वरको दया तिमीहरूले पाएका हौ। आज अट्टेरी गरेर बस्‍नेहरूले पनि एक दिन दया पाऊन् भनी परमेश्‍वरले तिमीहरूलाई दया देखाउनुभयो। सबै मानिसहरूलाई दया देखाउन परमेश्‍वरले सबैलाई तिनीहरूकै अट्टेरीपनमा बन्‍द गरिदिनुभयो।

शेयर गर्नुहोस्
रोमी 11 पढ्नुहोस्