रोमी 11:11-36 - Compare All Versions

रोमी 11:11-36 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यसकारण म सोध्‍दछु, “के लोट्‌नलाई तिनीहरूले ठक्‍कर खाएका हुन्‌?” कदापि होइन! तर इस्राएलको अपराधद्वारा अन्‍यजातिहरूमा मुक्ति आएको छ, ताकि इस्राएल पनि मुक्तिको निम्‍ति डाही बनोस्‌। अब यदि तिनीहरूको अपराध संसारको निम्‍ति सम्‍पत्ति र तिनीहरूको असफलताचाहिँ अन्‍यजातिहरूका निम्‍ति सम्‍पत्ति हुने हो भनेता तिनीहरूको पूर्ण समावेश झन्‌ कति अर्थपूर्ण होला! अब तिमी अन्‍यजातिहरूलाई भनिरहेछु। अन्‍यजातिहरूको प्रेरित भएको हुनाले म मेरो सेवालाई महत्त्व दिँदछु, यस आशामा कि मेरो आफ्‍नै यहूदी जातिलाई डाही बनाउन सकूँ, र तीमध्‍ये कसै-कसैलाई बचाउन सकूँ। किनकि यदि तिनीहरूको बहिष्‍कार हुँदा संसारको निम्‍ति मिलाप भयो भने, के तिनीहरूको पुन:ग्रहण मृत्‍युबाट जीवन पाएको समान होइन र? यदि मुछेको पीठोको एक अंश प्रथम-भेटीको रूपमा अर्पण गरिएको छ भने, समस्‍त ढिका पवित्र हुन्‍छ। यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुन्‍छन्‌। तर यदि कुनै हाँगाहरू काटिए र असल जैतूनको जराको रस-भण्‍डारमा सहभागी हुनलाई तिमी एक जङ्गली जैतून भएर पनि तिनीहरूको ठाउँमा कलमी बाँधियौ भने, ती हाँगाहरूका सामु घमण्‍ड नगर। यदि घमण्‍ड नै गर्नु हो भने, यो याद राख, कि जरालाई थाम्‍ने तिमी होइनौ, तर जराले पो तिमीलाई थाम्‍छ। तिमी भन्‍नेछौ, “म कलमी बाँधिन सकूँ भनेर नै हाँगाहरू काटिएका थिए।” ठीकै हो, तिनीहरूको अविश्‍वासले गर्दा नै हाँगाहरू काटिएका हुन्‌। तिमीहरूचाहिँ तिम्रो विश्‍वासले मात्र खड़ा छौ। घमण्‍ड नगर, तर श्रद्धापूर्ण भय राख। किनभने यदि परमेश्‍वरले स्‍वाभाविक हाँगाहरूलाई बाँकी राख्‍नुभएन भनेता तिमीलाई पनि बाँकी राख्‍नुहुनेछैन। यसकारण परमेश्‍वरको दया र कठोरतालाई ध्‍यानमा राख— पतन भएकाहरूमाथि कड़ा व्‍यवहार, तर उहाँकै दयामुनि रहिरह्यौ भने तिमीलाई परमेश्‍वरको दया देखाइनेछ, नत्रता तिमी पनि काटिनेछौ। तिनीहरू पनि अविश्‍वासमा ढीट भएर बसेनन्‌ भनेता कलमी बाँधिनेछन्‌। किनभने परमेश्‍वरले तिनीहरूलाई फेरि पनि कलमी बाँध्‍न सक्‍नुहुन्‍छ। किनभने यदि तिमी प्राकृतिक जङ्गली जैतून भएर पनि काटियौ र प्रकृतिको विरुद्ध एउटा असल जैतूनको बोटमा कलमी बाँधियौ भनेता यी प्राकृतिक हाँगाहरू आफ्‍नै निज जैतूनकै रूखमा झन्‌ कति बढ़ी कलमी बाँधिएलान्‌। भाइ हो, आफ्‍नै अभिमानमा तिमीहरू बुद्धिमान्‌ हुन खोज्‍छौ कि भनेर तिमीहरू यो रहस्‍य बुझ भन्‍ने म चाहन्‍छु, कि अन्‍यजातिहरूको संख्‍या पूर्ण नभएसम्‍म इस्राएलीहरूको एक अंशमा कठोरता आएको छ। यसरी सारा इस्राएलको उद्धार हुनेछ, जस्‍तो लेखिएको छ: “उद्धारक सियोनबाट आउनुहुनेछ, उहाँले याकूबबाट अधर्म हटाउनुहुनेछ।” “अनि तिनीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पाप हरण गर्नेछु।” सुसमाचारको हिसाबले त तिनीहरू तिमीहरूका खातिर परमेश्‍वरका शत्रुहरू हुन्, तर चुनाउको हिसाबले चाहिँ पूर्वजहरूका खातिर तिनीहरू प्रियहरू हुन्‌। किनभने परमेश्‍वरका वरदान र बोलावट अटल छन्‌। किनकि जसरी तिमीहरू पनि एक पल्‍ट परमेश्‍वरको आज्ञापालन नगर्नेहरू थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताले गर्दा तिमीहरूले कृपा पाएका छौ। तिमीहरूलाई कृपा देखाइएकोले गर्दा तिनीहरूले पनि कृपा प्राप्‍त गरून्‌ भनी तिनीहरू अहिले अनाज्ञाकारी भएका छन्‌। किनभने परमेश्‍वरको कृपा सबै मानिसहरूमाथि होस्‌ भनेर उहाँले सबैलाई अनाज्ञाकारितामा नै सुम्‍पनुभएको छ। आहा! परमेश्‍वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो! उहाँका इन्‍साफहरू कति अगम र उहाँका मार्ग बुझ्‍न नसकिने! “किनभने प्रभुको मनलाई कसले जानेको छ? अथवा उहाँको सल्‍लाहकार को भएको छ?” “अथवा, कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्‍वरले उसलाई फिर्ता दिनुपरोस्‌?” किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्‍ति हुन्‌। उहाँलाई नै सदासर्वदा महिमा होस्‌। आमेन।

शेयर गर्नुहोस्
रोमी 11 NNRV

रोमी 11:11-36 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यसैकारण म भन्‍छु, तिनीहरू नाश हुने गरी ठेस खाएर लडेकै हुन् त? अहँ होइन। उनीहरू यसरी अविश्‍वासले लड्दा अन्यजातिका मानिसहरूले उनीहरूले पाउनुपर्ने मुक्ति पाए र इस्राएलीहरूले यो देखेर इख गरून् भन्‍ने परमेश्‍वरको इच्‍छा थियो। इस्राएलीहरूले अविश्‍वास गर्दा त अन्यजाति लगायत पूरै संसार मुक्तिको धनी भयो भने तिनीहरू सबैले विश्‍वास गरे भने झन् कस्‍तो होला? तिमी अन्यजातिहरूको लागि विशेषगरी खटाइएको ख्रीष्‍टको प्रेरित हुँ र म यी कुराहरू तिमीलाई सुनाउँदछु। इस्राएलीहरूको अगाडि म यस कामको बढाइँ गर्छु। हुन सक्‍छ, यस कामले मेरा आफ्‍नै जातिका मानिसहरू पनि तिमीहरूसँग इख गरेर कोही-कोहीचाहिँ परमेश्‍वरतर्फ फर्कि पो हाल्‍छन् कि? किनभने तिनीहरू त्‍यागिंदा त दुनियाँ परमेश्‍वरको मित्र बनियो भने तिनीहरूलाई आफ्‍नै बनाउँदा झन् के हुन्‍छ? तिनीहरूले मरेर पनि जीवन नै पाउनेछन्। यदि रोटी हाल्‍न मुछेको पिठोबाट केही भाग परमेश्‍वरलाई चढाइयो भने त्‍यसको भागबाट हालेको रोटी जम्‍मै चढाएको जत्तिकै हुन्‍छ। त्‍यस्‍तै रूखको जरा पवित्र छ भने सबै हाँगा पनि पवित्र हुन्‍छ। त्‍यस्‍तै कति हाँगा भाँचिएर गएझैँ कति यहूदी पनि परमेश्‍वरलाई छोडेर गए। तर तिमी अन्यजातिचाहिँ जङ्गली जैतुनको कलमी रोपिएको जैतुनको हाँगासँग बाँधिएझैँ भएर जोरिएका छौ। तर पनि अब तिमीहरूले एउटै फेदबाट शक्ति र जीवनको रस पाउँछौ। त्‍यसकारण तिमीले ती भाँचिएर गएका हाँगाजस्‍ता इस्राएलीहरूलाई घृणा गर्नुहुँदैन अनि तिनीहरूभन्दा आफैंलाई असल नसम्‍झ किनभने तिमीहरू हाँगा मात्र होइनौ, तिमीहरूले जरालाई थामेका छैनौ; तर जराले तिमीहरूलाई थामेको छ। तर तिमी भन्‍छौ होला, “म कलमी बाँधिन ती हाँगा भाँचिएका थिए।” यो साँचो हो तिनीहरूले विश्‍वास गरेनन् र तिनीहरू भाँचिएर गए, तर त्‍यसको ठाउँमा तिमीहरूले विश्‍वास गर्‍यौ र कलमी बाँधिएका छौ। यस बारेमा घमण्‍डले नफुल तर होशियार होओ। परमेश्‍वरले साँचो हाँगाहरूलाई त बाँकी राख्‍नुभएन भने तिमीहरूलाई पनि छोड्‍नुहुनेछैन नै। परमेश्‍वर कति दयालु र कति कठोर पनि हुनुहुन्‍छ, विचार गरिहेर। उहाँ विश्‍वास नगर्नेहरूका लागि कठोर हुनुहुन्‍छ। तर तिमीहरू उहाँको अनुग्रहमा शरण लिएर बसिरह्‌यौ भने उहाँ दयालु हुनुहुनेछ। नत्र तिमीहरू काटिएका हाँगाझैँ फालिनेछौ। यदि इस्राएलीहरूले अविश्‍वास छोडेर विश्‍वास गर्न थाल्‍छन् भने पहिले भएकै ठाउँमा हाँगाझैँ फेरि जोरिनेछन् किनभने परमेश्‍वरले फेरि तिनीहरूलाई जोर्न सक्‍नुहुन्‍छ। अरू जातिका मानिस तिमीहरूचाहिँ जङ्गली जैतुनको रूखबाट काटिल्‍याएका हाँगाजस्‍तै छौ। त्‍यसो हुँदा स्‍वभावअनुसार नमिल्‍ने भए पनि बारीमा लगाएको जैतुनको हाँगामा गाँसिएका छौ। इस्राएलीहरूचाहिँ बारीमा भएको जैतुनको हाँगाजस्‍तै हुन्। यसो हुँदा तिनीहरूलाई फेरि ल्‍याएर जोर्नु परमेश्‍वरको लागि झन् सजिलो हुन्‍छ। दाजुभाइहरू हो, एउटा रहस्‍य तिमीहरूलाई थाहा होस् भन्‍ने म चाहन्‍छु। त्‍यो तिमीहरूलाई थाहा भयो भने तिमीहरूले आफ्‍नै लागि घमण्‍ड गर्नेछैनौ। यो रहस्‍य यस्‍तो छ, आउनुपर्ने जति अन्यजातिहरू ख्रीष्‍टमा नआउञ्‍जेल मात्र इस्राएलीहरूको हृदय कठोर हुनेछ। त्‍यसपछि सम्पूर्ण इस्राएली जाति बचाइनेछन्। धर्मशास्‍त्रमा लेखिएको छ, “सियोनदेखि मुक्तिदाता आउनुहुनेछ, याकूबको वंशलाई नराम्रो कामबाट फर्काउनुहुनेछ।” अनि प्रभु भन्‍नुहुन्‍छ, “तिनीहरूको पाप मेटेर मैले तिनीहरूसँग बाँधेको करार पूरा गर्नेछु।” सुसमाचारमा विश्‍वास नगरेकोले नै कोही इस्राएलीहरू परमेश्‍वरका शत्रु भएका हुन्। त्‍यसले गर्दा तिमीहरूलाई चाहिँ फाइदा भएको हो अनि परमेश्‍वर आफैंले छान्‍नुभएको हुनाले र पुर्खाहरूको कारणले गर्दा परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्‍छ किनभने परमेश्‍वरले आफूले दिनुभएका दानहरू फिर्ता लिनुहुन्‍न र बोलाइसकेकालाई कहिल्‍यै पनि त्‍याग्‍नुहुन्‍न। उहिले तिमी अन्यजातिका मानिसहरू परमेश्‍वरको आज्ञापालन गर्दैनथ्यौ तर अहिले इस्राएलीहरूले आज्ञापालन नगरेकोले मात्र परमेश्‍वरको दया तिमीहरूले पाएका हौ। आज अट्टेरी गरेर बस्‍नेहरूले पनि एक दिन दया पाऊन् भनी परमेश्‍वरले तिमीहरूलाई दया देखाउनुभयो। सबै मानिसहरूलाई दया देखाउन परमेश्‍वरले सबैलाई तिनीहरूकै अट्टेरीपनमा बन्‍द गरिदिनुभयो। अहो परमेश्‍वरको धन कति प्रशस्‍त! उहाँको ज्ञान, बुद्धि कति गहिरो छ! उहाँले निधो गरेका कुराको कसले बयान गर्न सक्‍छ? उहाँले हिंडेको बाटो कसले पत्ता लगाउन सक्‍छ? परमेश्‍वरको मन कसले बुझ्‍ने? अथवा उहाँलाई सल्‍लाह दिने को छ र? कसले परमेश्‍वरलाई केही चीज दिएको छ र उहाँले कसलाई के फर्काउनुपर्छ र? सबै उहाँकै सृष्‍टि हुन्। ती सबै थोक उहाँद्वारै उहाँकै निम्‍ति हुन्। उहाँको जय-जयकार सधैँभरि होइरहोस्! आमेन।

शेयर गर्नुहोस्
रोमी 11 सरल नेपाली

रोमी 11:11-36 NERV (पवित्र बाइबल)

त्यसैले म सोध्छु जब यहूदीहरूले ठोक्कर खाए, त्यस ठोक्करले के ती ध्वंश भए? भएनन्। तिनीहरूको गल्तीले गैर-यहूदीहरूलाई मुक्ति प्रदान गर्यो र यहूदीहरूलाई इर्ष्यालु बनायो। यहूदीहरूको ठोक्करले संसारलाई ठूलो आशिष ल्याएको छ, अनि तिनीहरूले जे गुमाए त्यसले गैर-यहूदीहरूलाई ठूलो आशिष ल्याएको छ। यसकारण कल्पना गर परमेश्वरले तिनीहरूलाई जस्तो हुनु चाहनुहुन्छ तो त्यस्तै भइदिए संसारले कति महान् आशिष पाउने थियो! अब म तिमीहरूसँग बोलिरहेछु जो यहूदीहरू होइनौ। म गैर-यहूदीहरूको प्रेरित हुँ। यसैले जति बेला मसँग त्यो कर्म हुन्छ, म यथासक्य असल गर्छु। म आशा गर्छु कि म आफ्नै मानिसहरूलाई इर्ष्यालु बनाउन सक्छु। त्यस्तै प्रकारले म आशा गर्छु म तिनीहरूमा कतिपयलाई उद्धार गर्न सक्छु। परमेश्वर यहूदीहरूसँग रिसाउनु भनेको उहाँ संसारका अन्य मानिसहरूको मित्र बन्नुभयो भनेको हो। त्यसैले कल्पना गर, परमेश्वरले यहूदीहरूलाई पुनः स्वीकार गर्नु भयो भने के होला? त्यसले मृत्युपछि जीवन ल्याउँनेछ। यदि रोटीको पहिलो टुक्रा परमेश्वरलाई अर्पण गरे, जम्मै रोटी पवित्र हुन्छ। यदि एउटा रूखका जराहरू पवित्र छन् भने त्यसका हाँगाहरू पनि पवित्र हुनेछन्। भद्रक्षको रूखको केही हाँगाहरू भाँचिएका थिए। अनि जङ्गली भद्राक्षको हाँगा (जस्तो गैर-यहूदी) तिमीहरू त्यस भद्राक्षको हाँगाहरूमा कलमी बाँधिएकाहरू थियौ। अब त्यसै भद्राक्ष रूखको शक्ति र जीवनको साझेदारी तिमीहरूले गर्नेछौ। यसैले भाँचिएका हाँगाहरू भन्दा ठूला बन्ने घमण्ड नगर। तिमीहरूले घमण्ड गर्ने कुनै कारण छैन। किन तिमीहरूले त्यो जरामा प्राण भर्दैनौं? त्यो जराले पो तिमीहरूलाई प्राण दिन्छ। तिमीहरूले भन्नेछौ, “हागाँहरू भाँचिएर गए जसमा कि म रूखमा कलमी बनाउन सकुँ।” त्यो सत्य हो। ती हाँगाहरू भाँचिएका थिए किनभने तिनीहरूले विश्वास गरेनन्। अनि तिमीहरू आफ्नो विश्वासको कारणले त्यस रूखमा ठाउँ पाउँछौ। घमण्डी नबन तर नम्र बन। परमेश्वरले प्राकृतिक हाँगाहरूलाई नजोगाए जस्तै यदि तिमीहरूले विश्वास गरिरहेनौ भने उहाँले तिमीहरूलाई जोगाउनु हुने छैन। यसकारण बुझ, परमेश्वर कति दयालु हुनुसक्नु हुन्छ, तर साथै बुझ, परमेश्वर कठोर पनि हुन सक्नुहुन्छ, जसले परमेश्वरको बाटो पछ्याउन छाड्छ उसित उहाँ कठोर हुनुहुन्छ। तर तिमी उहाँका दयाभित्र रहिरह्यौ भने परमेश्वर दयालु हुनुहुन्छ। तर तिमीले त्यसो गरेनौ भने तिमी रूखका हाँगाहरू काटिए झौं, काटिने छौ। अनि यदि यहूदीहरूले परमेश्वरमा फेरि विश्वास राख्न थाले, परमेश्वरले तिनीहरूलाई फेरि ग्रहण गर्नुहुनेछ। परमेश्वरमा तिनीहरूलाई फेरि फर्काई ल्याउने क्षमता छ जहाँ तिनीहरू पहिले थिए एउट असल भद्राक्षको रूखमा जंगली भद्राक्ष का हाँगाहरू कलम सार्नु प्राकृति कुरो होइन। तर तिमी गैर-यहूदीहरू जङ्गली भद्राक्ष रूखका हाँगाहरू जस्ता हुन्। यसकारण निःसन्देह तिनीहरू मूल रूखमा कलमी सार्न सकिन्छ। दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म तिमीहरूलाई यो गुप्त कुरा बताउन चाहन्छु। यसले तिमीहरूलाई नबुझेका सबै कुराहरू बुझ्नमा सहयोग गर्नेछ। सत्य यो होः इस्राएलको एउटा भाग हठी भयो। तर त्यो परिवर्तन हुन सक्नेछ जब प्रशस्त अ-यहूदीहरू परमेश्वरकहाँ आउँदछन्। अनि त्यसै गरी सारा इस्राएलीहरूलाई बचाइनेछ। यो धर्मशास्त्रमा लेखिएको छः “उद्धारक सियोनबाट आउनु हुनेछ; उहाँले याकूबका परिवारबाट दुष्ट्याइँ हटाउनुहुनेछ। अनि म तिनीहरूसँग यो वाचा गर्नेछु जब तिनीहरूका पापहरू म हरण गर्नेछु।” यहूदीहरू सुसमाचार ग्रहण गर्न अस्वीकार गर्छन्, यसकारण तिनीहरू परमेश्वरका शत्रुहरू हुन्। यो तिमी गैर-यहूदीहरूलाई सहायता गर्नको लागि भएको हो। तर तिनीहरू चुनिएका मानिसहरू हुनाको कारण परमेश्वरले अझ पनि प्रेम गर्नुहुन्छ। किनभने तिनीहरूका पिताहरूलाई वचन दिनुभएको थियो। परमेश्वरले मानिसहरूलाई आफूले दिनुहुने उपहारको बारेमा अनि आफ्नो बोलावटको बारेमा आफ्नो मन परिवर्तन गर्नुहुने छैन। एक समयमा तिमीहरूले परमेश्वरलाई मान्न अस्वीकार गरेका थियौ। तर अहिले तिमीहरूले परमेश्वरको कृपा पायौ कारण तिनीहरूले आज्ञा पालन गर्न मानेनन्। अनि अहिले तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गर्छन् किनभने परमेश्वरले तिनीहरू प्रति कृपा दर्शाउनुभयो। तिनीहरूले पनि परमेश्वरबाट कृपा प्राप्त गरून् भनि त्यसो भएको थियो। सबै मानिसहरू अवज्ञाको कारागारमा यसकारण थुनिएका छन् कि परमेश्वरको कृपा सबैमा पुग्न सकोस्। हो, परमेश्वरको एश्वर्यको सीमा छैन! उहाँको ज्ञान र बुद्धिको कुनै अन्त छैन! कसैले पनि परमेश्वरले गर्नुभएको निर्णयको व्याख्या गर्न सक्तैन। कसैले पनि परमेश्वरको बाटोहरू बुझ्दैन। जस्तो धर्मशास्त्रमा लेखिएको छः “परमप्रभुको मन कसले जान्दछ? उहाँलाई सल्लाह कसले दिनसक्छ?” “कसैले कहिल्यै परमेश्वरलाई केही उपहार दिएको छ? ता कि बद्लिमा परमेश्वरले पनि उसलाई उपहार दिनु परोस्।” हो, परमेश्वरले सबै थोक सृजना गर्नुभयो। सबै कूरा उहाँकै कारणले र उनैका निम्ति चलिरहेछ। परमेश्वरको महीमा रहिरहोस्! आमिन।

शेयर गर्नुहोस्
रोमी 11 NERV

रोमी 11:11-36 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

म फेरि प्रश्न गर्छु: के उनीहरूले उठ्न नसक्ने गरी ठक्‍कर खाएका हुन् त? कदापि होइन! तर इस्राएलमा पनि मुक्तिका लागि डाह पलाओस् भनेर तिनीहरूका अपराधका कारण गैरयहूदीहरूमा मुक्ति आएको छ। तर यदि तिनीहरूका अपराध संसारको निम्ति सम्पत्ति र तिनीहरूका पतन गैरयहूदीहरूको निम्ति सम्पत्ति ठहरिन्छ भने तिनीहरूका पुनर्स्थापनाले झन् कति धेरै वैभव ल्याउला! म तिमी गैरयहूदीहरूसँग बोल्दैछु। म गैरयहूदीहरूका निम्ति प्रेरित हुँ। म यस सेवामा गर्व गर्छु; यस आशामा कि, जसरी भए तापनि म मेरा आफ्ना मानिसहरूमा डाह उत्पन्‍न गराउन सकूँ, र तीमध्ये केहीलाई बचाउन सकूँ। किनकि यदि तिनीहरूको अस्वीकृतिचाहिँ संसारको निम्ति परमेश्‍वरसँग मिलापको कारण बन्छ भने के तिनीहरूको स्वीकृति मृत्युबाट पुनर्जीवित हुनुबाहेक अरू के हुन सक्ला र? यदि मुछेको पिठोको केही भाग प्रथम भेटीको रूपमा चढाउँदा पवित्र हुन्छ भने पिठोको जम्मै भाग पवित्र हुन्छ। यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुन्छन्। यदि केही हाँगाहरू काटिएका छन् र तिमी, जो जङ्गली जैतुन हौ, ती रूखमा कलमी गरिएका छौ; अनि जैतुनको रूखको जराबाट प्राप्‍त पोषिलो रसमा अहिले भागीदार बनेका छौ भने, आफैँलाई ती हाँगाहरू भन्दा श्रेष्‍ठ नठान। यदि यसो गर्छौ भने यो बुझ, कि जरालाई थाम्ने तिमी होइनौ, तर जराले पो तिमीलाई थामेको हुन्छ। त्यसपछि तिमीले भन्‍नेछौ, “हाँगाहरू काटिएका कारणले नै म कलमी हुन पाएँ।” ठिकै हो, तर ती हाँगाहरू उनीहरूको अविश्‍वासको कारणले काटिएका हुन्। अनि तिमी विश्‍वासद्वारा अडिएका छौ। घमण्ड नगर, तर भय मान। किनकि यदि परमेश्‍वरले स्वभाविक हाँगाहरूलाई त छोड्नुभएन भने उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन। यसकारण परमेश्‍वरको दया र कठोरतामा ध्यान देऊ: पतन भएकाहरूलाई कठोरता, तर यदि तिमीहरू उहाँको दयामा स्थिर बस्यौ भने तिमीहरूलाई दया; नत्रता तिमीहरू पनि काटिनेछौ। अनि यदि उनीहरू पनि आफ्नो अविश्‍वासमा निरन्तर रहिरहेनन् भने उनीहरू कलमी हुनेछन्; किनकि परमेश्‍वरले उनीहरूलाई फेरि कलमी गर्न सक्नुहुन्छ। यदि तिमी जैतुनको रूखबाट काटियौ, जुन स्वभाविक रूपमा जङ्गली हो अनि प्रकृतिविरुद्ध हुँदा-हुँदै पनि रोपिएको जैतुनको रूखमा कलमीद्वारा गाँसियौ भने झन् यी स्वभाविक जैतुनका हाँगाहरू आफ्नै जैतुनका रूखमा कति सहजै गाँसिएलान्! दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू यो रहस्यमय सत्य कुरामा अनजान रहो भन्‍ने म चाहन्‍नँ, ताकि आफ्नै अभिमानमा तिमीहरू बुद्धिमान् नहोओ: इस्राएलका केही मानिसहरूको हृदय कठोर छ, तर यो गैरयहूदीहरूको पूरा संख्या ख्रीष्‍टमा नआउन्जेलसम्म मात्र हुनेछ। यसरी सबै इस्राएलको उद्धार हुनेछ, जसरी लेखिएको छ: “उद्धारकर्ता सियोनबाट आउनुहुनेछ; उहाँले याकोबबाट अभक्ति दूर गर्नुहुनेछ, अनि उनीहरूसँग यो मेरो करार हुनेछ, जब म उनीहरूका पाप मेटाइदिनेछु।” सुसमाचारको दृष्‍टिमा तिनीहरू तिम्रा लागि परमेश्‍वरका दुश्मन हुन्; तर परमेश्‍वरको चुनावको दृष्‍टिबाट तिनीहरू आफ्ना पुर्खाको कारण अति प्रिय छन्। किनकि परमेश्‍वरको वरदान र बोलावट अटल छ। जसरी तिमीहरू एक पल्ट परमेश्‍वरप्रति अनाज्ञाकारी थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताको कारणले गर्दा तिमीहरूले कृपा पाएका छौ, यसरी नै उनीहरू पनि अनाज्ञाकारी भएका छन्, ताकि तिमीहरूले पाएका परमेश्‍वरको कृपाको कारण उनीहरूले पनि कृपा पाउन सकून्। किनकि परमेश्‍वरले हरेकलाई अनाज्ञाकारितामा बन्दी बनाउनुभएको छ, ताकि उहाँद्वारा तिनीहरू सबैलाई कृपा मिलोस्। आहा! परमेश्‍वरको बुद्धि र ज्ञानको कति अपार धनसम्पत्ति! उहाँका न्यायहरू कति अथाह, र उहाँका पथहरू कति अगम छन्! “प्रभुको मनलाई कसले जानेको छ र? अथवा उहाँको सल्‍लाहकार को भएको छ र?” “परमेश्‍वरलाई कसले केही दिएको छ, र परमेश्‍वरले तिनीहरूलाई फिर्ता गर्नुपरोस्?” किनकि सबै कुरा उहाँमार्फत्, उहाँद्वारा र उहाँकै निम्ति हुन्। उहाँलाई सदासर्वदा महिमा भइरहोस्! आमेन।

शेयर गर्नुहोस्
रोमी 11 NCV