रोमी 1:7-17
रोमी 1:7-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
रोममा भएका तिमीहरू सबै, परमेश्वरका प्रियहरू, जो सन्त हुनलाई बोलाइएका छौ: तिमीहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति। सर्वप्रथम, म मेरा परमेश्वरलाई येशू ख्रीष्टद्वारा तिमीहरू सबैका निम्ति धन्यवाद चढ़ाउँछु, किनकि तिमीहरूका विश्वासको कुरा सारा संसारमा प्रचार भएको छ। म सम्पूर्ण हृदयले उहाँका पुत्रको सुसमाचार प्रचारमा उहाँको सेवा गर्दछु, र परमेश्वर मेरो साक्षी हुनुहुन्छ कि कसरी म निरन्तर मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु। अनि यो माग्दछु, कि कुनै किसिमले परमेश्वरको इच्छाद्वारा आखिरमा म तिमीहरूकहाँ आउन सफल हुन सकूँ। किनभने तिमीहरूलाई बलिया पार्नलाई केही आत्मिक वरदान तिमीहरूलाई दिन सकूँ भनेर म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु। यसरी तिमीहरूको र मेरो, हाम्रो पारस्परिक विश्वासबाट, हामी दुवैले एक-अर्काबाट प्रोत्साहन पाउन सकौं। भाइ हो, तिमीहरूलाई थाहा होस् भन्ने म चाहन्छु, कि म तिमीहरूका र बाँकी अन्यजातिहरूका बीचमा पनि केही फल बटुल्न सकूँ भनेर तिमीहरूकहाँ आउने धेरै पल्ट इच्छा गरें। तर म अहिलेसम्म रोकिएको छु। ग्रीक होस् वा अरू असभ्य जाति, बुद्धिमान् होस् वा निर्बुद्धि, सबैको म ऋणी छु। यसैले सकेसम्म तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार प्रचार गर्न म उत्सुक छु। किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहूदीहरूका निम्ति र अन्यजातिहरूका निम्ति पनि। किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यो धार्मिकता जोचाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ। यस्तो लेखिएको छ, “धर्मीचाहिँ विश्वासद्वारा नै जिउनेछ।”
रोमी 1:7-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
रोममा भएका सबैलाई, जो परमेश्वरका प्रिय र पवित्र जन हुनलाई बोलाइएका छन्: हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति! सर्वप्रथम, म मेरा परमेश्वरलाई येशू ख्रीष्टद्वारा तिमीहरू सबैका निम्ति धन्यवाद चढाउँछु। किनकि तिमीहरूका विश्वासका कुराहरू सारा संसारमा प्रचार भइरहेको छ। परमेश्वर, जसको सेवा म उहाँका पुत्रको सुसमाचार प्रचारमा सम्पूर्ण हृदयले गर्दछु, उहाँ नै मेरो साक्षी हुनुहुन्छ कि कसरी म सधैँ मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु र मेरा हरेक प्रार्थनामा माग्दछु, कि अन्त्यमा परमेश्वरको इच्छाद्वारा तिमीहरूकहाँ आउनमा सफलता प्राप्त गर्न सकूँ। किनकि म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु, ताकि तिमीहरूलाई आत्मिक रूपमा बलियो बनाउनलाई केही आत्मिक वरदान दिन सकूँ अनि तिमीहरू र म एक-अर्काका विश्वासले प्रोत्साहित हुन सकौँ। दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरू अजान रहो भन्ने चाहन्नँ। गैरयहूदीहरूका बीचमा मैले आत्मिकी फल बटुलेझैँ तिमीहरूका बीचबाट पनि आत्मिकी फल पाउन सकूँ भनेर तिमीहरूकहाँ आउनलाई मैले धेरै पल्ट योजना बनाएँ, तर अहिलेसम्म यसो गर्नबाट रोकिएको छु। सभ्य होस् वा असभ्य होस्, शिक्षित तथा अशिक्षित, सबैको म ऋणी छु। त्यसैले रोममा बस्ने तिमीहरू सबैलाई सुसमाचार प्रचार गर्न म उत्सुक छु। किनकि म सुसमाचारसँग लजाउँदिनँ। किनभने यो परमेश्वरको शक्ति हो, जसले विश्वास गर्नेहरू सबैमा मुक्ति ल्याउँदछ: यहूदीलाई पहिले, त्यसपछि गैरयहूदीलाई। किनकि सुसमाचारमा परमेश्वरको धार्मिकता प्रकट भएको छ, जुन धार्मिकता सुरुदेखि अन्त्यसम्म विश्वासद्वारा नै आउँछ। धर्मशास्त्रमा यसरी लेखिएको छ: “धर्मी जनचाहिँ विश्वासद्वारा नै जिउनेछ।”
रोमी 1:7-17 पवित्र बाइबल (NERV)
यो पत्र तिमीहरू सबै रोमवासीहरूलाई हो कि प्रभुले तिमीहरूलाई आफ्ना पवित्र मानिसहरू भनेर बोलाउनु भएको छ। तिमीहरू ती मानिसहरू हौ जसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। तिमीहरूलाई हाम्रो पिता परमेश्वरबाट र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति। सर्वप्रथम तिमीहरू सबै जनाको लागि येशू ख्रीष्ट द्वारा मेरो परमेश्वरलाई म धन्यवाद प्रकट गर्दछु। म मेरो परमेश्वरलाई त्यस कारणले धन्यवाद प्रकट गर्दछु कि संसारमा चारैतिर मानिसहरूले तिमीहरूको विश्वासको विषयमा प्रशंसा गरिरहेका छन्। प्रत्येक समयमा म प्रार्थना गर्दछु र सधैँ सम्झना गर्दछु। प्रभुलाई यो सत्य हो भन्ने थाहा छ। परमेश्वर एक हुनुहुन्छ जसको सेवा म आफ्नो आत्मामा उहाँकै पुत्रको सुसमाचारको प्रचारद्वारा गर्छु। म प्रार्थना गर्छु कि मलाई तिमीहरूलाई भेट्ने अनुमति दिईयोस्। परमेश्वरले चाहनु भयो भने मात्र यी सबै हुनेछन्। म तिमीहरूलाई हेर्न एकदमै इच्छुक छु। म तिमीहरूलाई कुनै आत्मिक उपहार दिन चाहन्छु जसले तिमीहरूलाई दरिलो बनाओस्। मेरो भन्नुको तात्पर्य हामी प्रत्येकलाई विश्वासले परस्परमा प्रोत्साहन गरोस्। तिमीहरूको विश्वासले मलाई सहयोग गर्छ अनि मेरा विश्वासले तिमीहरूलाई सहयोग गर्छ। दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, तिमीहरूले जान कि मैले धेरै पटक तिमीहरूकहाँ आउने योजना गरें। म तिमीहरूकहाँ आउन चाहन्थे ताकि तिमीहरूलाई आत्मिक तवरले सहायता पुर्याउन सकुँ। म तिमीहरूलाई अन्य गैर-यहूदीहरूलाई जस्तै सहयोग गर्न चाहन्छु। मलाई लाग्छ मैले सबै मानिसहरूको सेवा गर्न परेको छः ग्रीकहरू, गैर-ग्रीकहरू, ज्ञानी र मूर्ख मानिसहरू। यसैले म रोममा हुने तिमीहरूलाई पनि सुसमाचार प्रचार गर्न इच्छुक छु। म सुसमाचारसँग शर्माउँनदिन तर गौरव गर्छु। सुसमाचार त्यस्तो शक्ति हो जुन परमेश्वरले प्रयोग गर्नुहुन्छ। जसले उहाँमाथि विश्वास गर्छ पहिले यहूदी र गैर-यहूदीहरूलाई रक्षा गर्नलाई प्रयोग गर्नुहुन्छ। सुसमाचारले मानिसहरूलाई उहाँसँग धार्मिक बन्ने कुरो प्रकट गरेको छ। परमश्वरको बाटोले मानिसहरूलाई शुरूदेखि अन्तसम्म विश्वासद्वारा धार्मिकता तिर डोर्याउँदछ। जस्तो धर्मशास्त्रमा भनिएको छ, “जुन मानिस परमेश्वरको विश्वासमा ठीक रहँदछ ऊ अनन्त सम्म बाँच्नेछ।”
रोमी 1:7-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
रोमवासीहरूमध्ये परमेश्वरले प्रेम गरेर उहाँको पवित्र जन हुन बोलाइएकाहरू हो, हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति देऊन्। तिमीहरूले ख्रीष्टमाथि गरेको विश्वासबारे सम्पूर्ण दुनियाँलाई थाहा छ। यसकारण पहिले म तिमीहरू सबैका लागि येशू ख्रीष्टद्वारा मेरा परमेश्वरलाई धन्यवाद चढाउँछु। उहाँकै पुत्रको सुसमाचार सुनाएर म हृदयदेखि नै उहाँको सेवा गर्दछु। मैले तिमीहरूलाई माया मारेको छैनँ तर सधैँ तिमीहरूका लागि प्रार्थना गरिरहेको छु। मैले भनेको कुरा साँचो हो भनेर परमेश्वर आफैंले गवाही दिनुहुन्छ। परमेश्वरको इच्छाअनुसार अब तिमीहरूलाई भेट्न सकूँ भनेर म उहाँलाई बिन्ती चढाउँदै छु। पवित्र आत्माले दिनुभएको आशिष् बाँडेर ख्रीष्टमा दरिलो बनाउन तिमीहरूलाई भेट्ने मेरो साह्रै इच्छा छ। मेरो विश्वासले तिमीहरूलाई र तिमीहरूको विश्वासले मलाई आपसमा बल मिलोस् भन्ने मेरो इच्छा हो। प्यारा दाजुभाइहरू, तिमीहरूलाई थाहा होस् भन्ने म चाहन्छु: धेरै पल्ट मैले तिमीहरूलाई भेट्ने विचार गरें तर कुनै न कुनै कारणले गर्दा सकिनँ। म अरू ठाउँका मानिसहरूबाट झैँ तिमीहरूबाट पनि परमेश्वरको असल भक्ति भएको देख्न चाहन्छु किनभने मलाई सभ्य-असभ्य, पढेका-नपढेका सबैलाई सुसमाचार सुनाउन कर लागेको छ। त्यसैकारण तिमी रोमवासीहरूलाई पनि यो सुसमाचार सुनाउन मलाई साह्रै इच्छा छ। मलाई यो सुसमाचार सुनाउन लाज लाग्दैन कारण विश्वास गर्ने जति पहिले यहूदी अनि अन्यजातिका मानिसलाई यो सुसमाचार परमेश्वरको मुक्ति दिने शक्ति हो। सुसमाचारले मानिसलाई परमेश्वरले आफ्नो सामु कसरी ठीक ठहराउनुहुन्छ भन्ने देखाउँछ अनि परमेश्वरसँग ठीक ठहरिने कुरा विश्वासबाटै सुरु हुन्छ र विश्वासबाटै पूरा पनि हुन्छ। यस्तै धर्मशास्त्रले पनि भन्छ, “जो विश्वासद्वारा परमेश्वरसँग ठीक ठहरिन्छ, त्यही मानिसले नै जीवन पाउँछ,।”