रोमी 1:25-31

रोमी 1:25-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

किनकि तिनीहरूले परमेश्‍वरको सत्‍यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्‍य सृष्‍टिकर्तालाई त्‍यागेर बरु सृष्‍टि गरिएका थोकहरूको पूजा र सेवा गरे। यसैकारण परमेश्‍वरले तिनीहरूलाई लाजमर्दो कामुकताको निम्‍ति छोडिदिनुभयो। तिनीहरूका स्‍त्रीहरूले आफ्‍ना स्‍वाभाविक व्‍यवहारलाई अस्‍वाभाविक व्‍यवहारमा परिवर्तन गरे, र त्‍यसरी नै स्‍त्रीतर्फको स्‍वाभाविक व्‍यवहार त्‍यागेर एक-दोस्रातर्फ कामुकताको जलनमा पुरुषहरूले पुरुषहरूसितै निर्लज्‍ज काम गरे, र आफ्‍नै शरीरमा आफ्‍ना कसूरको उचित दण्‍ड भोगे। यसरी तिनीहरूले परमेश्‍वरलाई मान्‍यता दिन नचाहेका हुनाले परमेश्‍वरले तिनीहरूलाई भ्रष्‍ट मनका अवस्‍थामा अनुचित आचरणको निम्‍ति त्‍यागिदिनुभयो। तिनीहरू सबै किसिमका बदमाशी, दुष्‍टता, लोभ, इबीले भरिएका छन्‌। तिनीहरू डाह, हत्‍या, झैँझगड़ा, छल, बदख्‍वाइँले भरिएका हुन्‍छन्, र तिनीहरू कुरौटे, र बदनाम गर्ने, परमेश्‍वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, अभिमानी, दुष्‍ट कुरा रचिहिँड्‌ने, आमा-बुबाको आज्ञापालन नगर्ने, मूर्ख, विश्‍वासघाती, निर्दयी र क्रूर हुन्‍छन्‌।

शेयर गर्नुहोस्
रोमी 1 पढ्नुहोस्

रोमी 1:25-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तिनीहरूले परमेश्‍वरको सत्यतालाई त्यागेर झूटसँग साटे, र सृष्‍टिकर्ताको सट्टामा, सृष्‍टि गरिएका वस्तुहरूको सेवा र आराधना गरे। सृष्‍टिकर्ता, जो सदासर्वदा प्रशंसाको योग्य हुनुहुन्छ, आमेन! यसैकारण परमेश्‍वरले तिनीहरूलाई शर्मलाग्दो कामवासनाका निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले पनि स्वभाविक शारीरिक सम्बन्धलाई अस्वभाविक सम्बन्धमा परिणत गरे। त्यसरी नै पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वभाविक शारीरिक सम्बन्धलाई त्यागेर पुरुषहरूसँगै कामवासनाले जल्न लागे। पुरुषहरूले पुरुषहरूसँग निर्लज्ज शारीरिक सम्बन्ध राख्न लागे, र तिनीहरूले आफ्नो गल्तीको उचित दण्ड भोगे। यसरी तिनीहरूले परमेश्‍वरलाई स्वीकार गर्न उचित नठानेकाले परमेश्‍वरले पनि तिनीहरूलाई भ्रष्‍ट मन दिनुभयो; ताकि तिनीहरूले जुन काम गर्न नहुने हो त्यही गरून्। तिनीहरू हरेक प्रकारका दुष्‍टता, खराबी, लोभ, भ्रष्‍टताले भरिएका छन्। तिनीहरूका जीवन ईर्ष्या, हत्या, झगडा, छल र डाहले भरिएका छन्। तिनीहरू कुरा काट्ने, निन्दा गर्ने, परमेश्‍वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, घमण्डी हुन्छन्; तिनीहरू दुष्‍ट काम गर्न नयाँ तरिकाहरू बनाउँछन्। तिनीहरू आफ्ना आमाबुबाका आज्ञापालन गर्दैनन्। तिनीहरू निर्बुद्धि, विश्‍वासघाती, निर्दयी र क्रूर हुन्छन्।

शेयर गर्नुहोस्
रोमी 1 पढ्नुहोस्

रोमी 1:25-31 पवित्र बाइबल (NERV)

ती मानिसहरूले परमेश्वरको सत्यलाई झूटमा परिवर्तन गरे। आफैंद्वारा बनाइएका ती थोकहरूलाई पुज्न र सेवा गर्न थाले। तर परमेश्वरले बनाउनु भएको कुराहरूको उनीहरूले न त पूजा गरे न सेवा गरे। परमेश्वरको प्रशंसा सधैँ हुनपर्छ। आमिन। मानिसहरूले त्यस्तो कार्यहरू गरेकाले परमेश्वरले तिनीहरूलाई लाजमर्दो काम गर्नलाई छोडिदिनु भयो जुन तिनीहरू गर्न चाहन्थे। पत्नी मानिसहरूले पुरुषहरूसँग प्राकृतिक यौन सर्म्पक छडेर स्त्रीसँग नै अप्राकृतिक यौन सर्म्पक गर्न थाले। त्यस्तै प्रकारले लोग्ने-मानिसहरूले पनि स्त्रीसँगको प्राकृतिक यौन छोडेर अन्य लोग्ने-मानिसहरूसँग अप्राकृतिक सम्बन्ध राख्न थाले। तिनीहरूले आपसमा लाजमर्दो कामहरू गरे। अनि तिनीहरूले गल्ती काम गरेकोले तिनीहरूका शरीरले कष्ट पाए। परमेश्वरको सत्य ज्ञान राख्नु पर्छ भन्ने कुरालाई मानिसहरूले महत्व दिएनन्। त मानिसहरूले नगर्नु पर्ने काम गरे। यसैले व्यर्थकै कामहरू गरोस् भनेर परमेश्वरले छाडिदिनु भयो। तिनीहरूको मन हरेक प्रकारको पाप, दुष्ट्याइँ, स्वार्थपन र घृणाले भरियो। ती मानिसहरू आफैंमा डाह, हत्याको भावना, झैझगडा झूटा र एक-अर्कामा दुर्विचारले भरिए। तिनीहरू आपसमा दुष्ट्याईँ पूर्ण कुराहरू गर्छन्। तिनीहरू परमेश्वरलाई घृणा गर्छन्। तिनीहरू रूखो, अहंकार अभिमानी, र ढीट छन्। तिनीहरूले नराम्रा कामहरू गर्ने नयाँ बाटोहरू खोजि हिँड्छन्। तिनीहरूले आफ्ना माता-पितालाई पनि टेर्दैनन्। तिनीहरू मूर्ख छन् र तिनीहरूले आफ्नो भाकलहरू पूरा गर्दैनन्। तिनीहरूमा अरूहरू प्रति प्राकृतिक ममता हुँदैन अनि कसैलाई पनि दया देखाउँदैनन्।

शेयर गर्नुहोस्
रोमी 1 पढ्नुहोस्

रोमी 1:25-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिनीहरूले परमेश्‍वरको सत्‍यलाई झूटसँग साटे। सृष्‍टि गर्नुहुने र सधैँ आदर पाइरहनुपर्ने परमेश्‍वरलाई होइन तर उहाँले बनाउनुभएको चीजलाई तिनीहरूले पूजा र सेवा गरे। यसैकारण परमेश्‍वरले तिनीहरूलाई उनीहरूकै घिनलाग्‍दो इच्‍छाअनुसारको काम गर्न छोडिदिनुभयो। तिनीहरूका आइमाईहरूले आफ्‍ना लोग्‍नेसँगको सहवास छोडेर आइमाईसँगै सहवास गरे। तिनीहरूका लोग्‍नेहरूले पनि आफ्‍ना आइमाईहरूसँग सही काम गरेनन् तर एक-अर्काको निम्‍ति जलेर लोग्‍ने मानिसले लोग्‍ने मानिससँगै घिनलाग्‍दो काम गरे। तिनीहरूका आफ्‍ना शरीरले गरेका दुष्‍ट कामका लागि उचित दण्ड पाए। तिनीहरूले परमेश्‍वरलाई दिनुपर्ने मान्यता दिन पनि छाडे। यसो हुँदा उहाँले तिनीहरूलाई खराबी गरून् भनेर तिनीहरूकै कुविचारमा छोडिदिनुभयो। यसैकारण तिनीहरू सबै किसिमका खराबी र दुष्‍टताले भरिएका छन्। तिनीहरूले लोभ र घृणा गर्छन्, अरूको डाहा गर्छन् र अरूलाई मार्छन्। तिनीहरू झगडा गर्छन्, छक्याउँछन् अनि झूटो बोल्‍छन्, एक-अर्काको चुक्‍ली लाउँछन्, अर्काको निन्‍दा गर्छन्। तिनीहरूले परमेश्‍वरलाई पनि घृणा गर्छन्, कसैलाई पनि इज्‍जत गर्दैनन् तर आफैं घमण्‍डले फुल्‍छन्, ठूलाठूला कुरा गर्छन्। अनि खराब कुराहरू खोजीखोजी निकाल्‍छन्। तिनीहरूले आमा-बुबाको कुरा मान्‍दैनन्। तिनीहरू मूर्ख छन् अनि गर्छु भनेका कुरा गर्दैनन्। तिनीहरू माया नभएका निर्दयी हुन्।

शेयर गर्नुहोस्
रोमी 1 पढ्नुहोस्