प्रकाश 5:6-14
प्रकाश 5:6-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मैले एउटा थुमा उभिरहनुभएको देखें, जो मारिएको जस्तो देखा पर्नुहुन्थ्यो। उहाँ सिंहासन र चार जीवित प्राणीहरूका बीचमा, र धर्म-गुरुहरूका माझमा हुनुहुन्थ्यो। उहाँका सात वटा सीङ र सात वटा आँखा थिए, जुनहरू सारा पृथ्वीमा पठाइएका परमेश्वरका सात आत्मा हुन्। उहाँ जानुभयो, र सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीबाट त्यो मुट्ठो लिनुभयो। जब उहाँले त्यो मुट्ठो लिनुभयो, तब ती चारै जीवित प्राणी र चौबीसै धर्म-गुरुहरू थुमाको सामुन्ने घोप्टो परे। प्रत्येकको हातमा वीणा र धूपले भरिएका सुनका पात्रहरू थिए, जो सन्तहरूका प्रार्थना हुन्। तिनीहरूले यसो भन्दै एउटा नयाँ गीत गाए: “तपाईं यो चर्मपत्रको मुट्ठो लिने र त्यसका मोहोरहरू तोड्ने योग्यका हुनुहुन्छ, तपाईं मारिनुभयो र आफ्नो रगतद्वारा तपाईंले परमेश्वरको निम्ति हरेक कुल, भाषा, मानिस र जातिबाट मानिसहरूलाई छुटकारा दिनुभयो, र तिनीहरूलाई राज्य र हाम्रा परमेश्वरका पूजाहारी बनाउनुभएको छ, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन्।” तब मैले हेरें, अनि सिंहासन, जीवित प्राणीहरू र धर्म-गुरुहरूका वरिपरि धेरै स्वर्गदूतहरूका आवाज सुनें। तिनीहरूको संख्या लाखौँ र करोडौँ थियो। तिनीहरू चर्को सोरले यसो भनिरहेका थिए, “मारिएका थुमा सामर्थ्य, वैभव, बुद्धि, शक्ति सम्मान, महिमा, र स्तुति ग्रहण गर्ने योग्यका हुनुहुन्छ।” अनि स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि, समुद्र र त्यहाँ भएको हरेक प्राणीले यसो भनिरहेको मैले सुनें, “सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई स्तुति, सम्मान, महिमा, र सामर्थ्य सदासर्वदा होस्।” तब ती चारै जीवित प्राणीले भने, “आमेन।” अनि ती धर्म-गुरुहरूले घोप्टो परेर दण्डवत् गरे।
प्रकाश 5:6-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मैले मारिनुभएको थुमाजस्तो कसैलाई सिंहासनको बीचमा उभिरहनुभएको देखेँ, जसको चारैतिर चार वटा जीवित प्राणीहरू र धर्मगुरुहरू थिए। थुमाका सात वटा सिङहरू अनि सात वटा आँखाहरू थिए; जुनचाहिँ संसारभरि पठाइएका परमेश्वरका सात आत्माहरू हुन्। थुमाले सिंहासनमा बस्नुहुनेको दाहिने हातबाट त्यो चर्मपत्र लिनुभयो। अनि जब त्यो लिनुभयो, तब ती चार वटा जीवित प्राणीहरू र चौबीसजना प्रधानहरू त्यस थुमाको सामु घोप्टो परे। प्रत्येकसित एउटा वीणा थियो, र तिनीहरूले धूपले भरिएका सुनका धुपौराहरू पक्रेका थिए, जुन सन्तहरूका प्रार्थना हुन्। अनि तिनीहरूले एउटा नयाँ गीत गाए: “तपाईं यो चर्मपत्र लिने र त्यसका छापहरू खोल्ने योग्यको हुनुहुन्छ; किनकि तपाईं मारिनुभएको थियो; अनि तपाईंको रगतद्वारा तपाईंले मानिसहरूलाई प्रत्येक कुल र भाषाबाट जातिहरूलाई र राष्ट्रहरूलाई परमेश्वरको निम्ति किन्नुभयो। तपाईंले तिनीहरूलाई हाम्रा परमेश्वरको सेवा गर्नलाई राज्य र पुजारीहरू बनाउनुभयो; अनि तिनीहरूले संसारमा राज्य गर्नेछन्।” तब मैले दर्शनमा, सिंहासन, जीवित प्राणीहरू र प्रधानहरूका वरिपरि असंख्य स्वर्गदूतहरूका सोर सुनेँ। तिनीहरूको संख्या लाखौँ र करोडौँ थियो। चर्को सोरमा तिनीहरूले यो गीत गाए: “मारिनुभएको थुमा, शक्ति, वैभव, बुद्धि, बल, आदर, महिमा र प्रशंसा पाउन योग्यका हुनुहुन्छ!” तब मैले स्वर्गमा, पृथ्वीमाथि, पृथ्वीमुनि र समुद्रमा भएका समस्त प्राणीहरूले यो गीत गाइरहेका सुनेँ: “सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई प्रशंसा, आदर, महिमा र शक्ति सदासर्वदा भइरहोस्!” चार जीवित प्राणीहरूले भने, “आमेन,” अनि प्रधानहरूले घोप्टो परेर उहाँलाई आराधना गरे।
प्रकाश 5:6-14 पवित्र बाइबल (NERV)
तब मैले ती चार सजीव वस्तुहरू अग्रजहरूले वरिपरि घेरिएको सिंहासनको अगाडी एउटा भेंड़ाको पाठो उभिरहेको देखें। त्यो भेंड़ाको पाठा मारिएको थुमा जस्तो देखिन्थ्यो। त्यसका सातवटा सींङ अनि सातवटा आँखहरू थिए, यी परमेश्वरका सात-आत्माहरू हुन् जो संम्पूर्ण संसारमा पठाइएका थिए। तो भेंड़ाको पाठो आयो अनि जो सिंहासनमा बसिरहेका थिए तिनको दाहिने हातबाट त्यो बेह्रिएको पत्र लियो। जब भेंड़ाको पाठोले त्यो बेह्रिएको पत्र लियो ती चार सजीव पशुहरू अनि चौबीस जना अग्रजहरू भेंडा़को पाठोको समक्ष निहुरिए। तिनीहरू प्रत्येकसित वीणा अनि सुनौलो धूप-दानी थियो। यी सुनौलो धूप पात्रहरू परमेश्वरका पवित्र-मानिसरुको प्रार्थना हुन्। अनि तिनीहरू सबैले भेंडा़को पाठाको लागि एउटा नयाँ गीत गाए: “तिमी त्यो बेह्रिएको चर्मपत्र लिन अनि त्यसको मोहर खोल्न योग्य छौ, किनभने तिमी मारिएका थियौ, अनि तिम्रो रगतद्वारा तिमीले परमेश्वरका निम्ति हरेक जाति, भाषा, कुल अनि राष्ट्रबाट मानिसहरूलाई किन्यौ। यी मानिसहरूलाई तिमीले राज्यको रुप दियौ अनि, तिमीले यी मानिहरूलाई हाम्रा परमेश्वरका निम्ति पूजाहारीहरू बनायौ। अनि तिनीहरूले पृथ्वीमाथि शासन गर्नेछन्।” तब मैले हेरें, अनि मैले धेरै स्वर्गदूतहरूको आवाज सुनें। ती स्वर्गदूतहरू सिंहासनको ती चार सजीव वस्तुहरूको, अनि ती अग्रजहरूको वरिपरि थिए। त्यहाँ हजारौं स्वर्गदूतहरू थिए-त्यहाँ दशहजार स्वर्गदूतहरू थिए। ती स्वर्गदूतहरूले ठूलो स्वरमा भने: “त्यो भेंडा़को पाठा जसलाई मारियो, उनैलाई शक्ति, सम्पत्ति, ज्ञान अनि पराक्रम, उहाँ सम्मान, महिमा अनि प्रशंसा पाउन योग्यको हुनुहुन्छ।” तब मैले स्वर्गमा भएका, पृथ्वीमा भएका, पृथ्वी मूनि भएका अनि सागरमा भएका हरेक सजीव वस्तुहरूलाई भन्दै गरेको सुनें। मैले तिनीहरू सबैले यो भनेको सुनें, “उहाँ एक जो सिंहासनमा बस्नु भएकोछ, उहाँ अनि भेंडा़को पाठाप्रति, सम्पूर्ण स्तुति अनि सम्मान अनि गौरव अनि शक्ति सदा-सर्वदा रहुन्।” ती चार सजीव वस्तुहरूले भने, “आमिन!” अनि अग्रजहरूले घुँडा टेके र आराधना गरे।
प्रकाश 5:6-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि मैले चार जीवित प्राणीहरू र धर्म-गुरुहरूले घेरेको त्यो सिंहासनको बीचमा एउटा थुमा उभिरहेको देखें। यो थुमाचाहिँ मारिएको जस्तो देखिन्थ्यो। त्यसका सातवटा सिङ र सातै आँखा थिए जुनचाहिँ सारा पृथ्वीमा पठाइएका परमेश्वरका सात आत्मा हुन्। अघि बढेर थुमाले सिंहासनमा विराजमान् हुनुहुनेको दाहिने हातबाट त्यो कागजको मुट्ठा लिनुभयो। त्यति नै खेर ती चारवटा जीवित प्राणीहरू र चौबीस जना धर्म-गुरुले थुमाको चरणमा दण्डवत् गरे। प्रत्येकको हातमा एउटा वीणा र धूपको सुबासनाले भरिएको सुनको बटुको थियो। ती धूपका बास्नाचाहिँ परमेश्वरका भक्तहरूका बिन्ती-प्रार्थनाहरू हुन्। उनीहरूले यसो भनेर एउटा नयाँ गीत गाए, “यस कागजको मुट्ठा लिन र यसका मोहर तोडेर खोल्न तपाईं मात्र योग्य हुनुहुन्छ किनभने तपाईं मारिनुभयो र आफ्नो रगतले सबै कुल, भाषा, देश र जातिबाट परमेश्वरको लागि मानिसहरूलाई किन्नुभयो। त्यसबाट हाम्रा परमेश्वरका सेवा गर्नलाई पूजाहारीको एउटा राज्य खडा गर्नुभयो अनि तिनीहरूले संसारमाथि राज गर्नेछन्।” फेरि मैले हेरें र करोडौं स्वर्गदूतहरू गाइरहेका सुनें। उनीहरूले मूल सिंहासन, चार जीवित प्राणीहरू र धर्म-गुरुहरूको वरिपरि उभी गाइरहेका थिए: “बलि भई मारिनुभएका थुमा अधिकार, धन, बुद्धि, बल, मान, आदर र जयजयकार लिन योग्यको हुनुहुन्छ!” स्वर्ग, पृथ्वी, पाताल र समुद्रमा सबै प्राणीले यो गीत गाइरहेका मैले सुनें, “सिंहासनमा विराजमान् हुनुहुने र थुमालाई सदासर्वदा जयजयकार, आदर, सम्मान् र अधिकार भइरहोस्!” अनि ती चारवटा जीवित प्राणीहरूले, ‘आमेन’ भनेर जवाफ दिए अनि धर्म-गुरुहरूले चाहिँ दण्डवत् गर्दै आराधना गरे!