प्रकाश 14:1-5
प्रकाश 14:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि मैले हेरें, र सियोन डाँड़ामा थुमा खड़ा हुनुभएको मैले देखें। उहाँको साथमा एक लाख चवालीस हजार थिए, जसका निधारमा उहाँको नाउँ र उहाँका पिताको नाउँ लेखिएका थिए। अनि धेरै पानीहरूको आवाजजस्तै, र ठूलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर मैले सुनें। मैले सुनेको त्यो सोर वीणा बजाउनेहरूले बजाइरहेका वीणाको सोरजस्तो थियो। सिंहासनको र ती चार जीवित प्राणीहरूका र धर्म-गुरुहरूका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाउँदथे। पृथ्वीबाट मोल तिरी छुटाएका एक लाख चवालीस हजारले बाहेक कसैले त्यो गीत सिक्न सक्दैनथ्यो। तिनीहरू स्त्रीसँग लसपस भएका थिएनन्, र आफूलाई चोखो राखेका थिए। थुमा जता-जता जानुहुन्छ उहाँको पछिपछि लाग्नेहरू यिनीहरू नै हुन्। परमेश्वर र थुमाको निम्ति पहिलो फलको रूपमा मानिसहरूका बीचबाट यिनीहरू मोल तिरी छुटाइएका थिए। तिनीहरूका मुखमा कुनै झूट पाइएन, तिनीहरू निष्खोट छन्।
प्रकाश 14:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मैले हेरेँ, र मेरो सामु सियोन पर्वतमा थुमालाई उभिरहनुभएको देखेँ। उहाँसँग 1,44,000 लाई देखेँ, जसको निधारमा उहाँ र उहाँका पिताको नाम लेखिएको थियो। तब मैले स्वर्गबाट जोडसित बग्दै गरेको पानी र ठूलो गर्जनजस्तो आवाज आइरहेको सुनेँ। मैले सुनेको आवाज वीणा वादकहरूले आफ्ना वीणाहरू बजाएको जस्तै थिए। तिनीहरूले सिंहासनको सामु ती चार वटा जीवित प्राणीहरूको र प्रधानहरूको सामु एउटा नयाँ गीत गाए। पृथ्वीबाट छुटकारा पाएका ती 1,44,000 ले बाहेक कसैले पनि त्यो गीत सिक्न सक्दैनथे। यी मानिसहरू ती हुन्, जो स्त्रीहरूसित बिटुलिएनन्; किनकि तिनीहरूले आफूलाई शुद्ध राखेका थिए। थुमा जहाँ जानुहुन्छ, तिनीहरूले उहाँलाई पछ्याउँछन्। तिनीहरू मानव जातिबाट किनिएका थिए; अनि परमेश्वर र थुमालाई पहिलो फलझैँ चढाइए। तिनीहरूका मुखमा कुनै झूट पाइएन; तिनीहरू निर्दोष छन्।
प्रकाश 14:1-5 पवित्र बाइबल (NERV)
त्यसपछि मैले हेरें, अनि त्यहाँ मेरो अघि परमेश्वरको थुमा थियो। ऊ सियोन पर्वतमा उभिरहेको थियो। त्यहाँ उसित एक लाख चवालीस हजार मानिसहरू थिए। तिनीहरू सबैको निधारमा उसको अनि उसका पिताको नाउँ लेखिएको थियो। अनि मैले बाढी आएको आवाज अथवा ठूलो गर्जनको आवाज जस्तो स्वर्गबाट आएको सुनें। मैले सुनेको आवाज वीणा बजाउँदा मानिसहरूको आवाज जस्तै थियो। मानिसहरूले सिंहासन, ती चार सजीव वस्तु अनि धर्म-गुरुहरू अघि एउटा नयाँ गीत गाए। केवल ती मानिसहरू जसले नयाँ गीत सिक्न सके, एक लाख चवालीस हजार थिए जसलाई पृथवीबाट मुक्त गरिएका थिए। अन्य कसैले त्यो गीत सिक्न सकेनन्। यी एक लाख चवालीस हजार मानिसहरू जसले स्त्रीहरूसित अनुचित कर्म गरेनन् अनि स्वयंलाई शुद्ध राखे। तिनीहरूले परमेश्वरको थुमा जता गयो त्यतै पछ्याए। यी एक लाख चवालीस हजारलाई पृथ्वीका मानिसहरूबाट मुक्त गरिएको थियो। परमेश्वर अनि परमेश्वरको थुमालाई अर्पण गरिएका तिनीहरू नै पहिलो मानिसहरू थिए। यी मानिसहरूले कहिल्यै झूटो बोलेनन्। तिनीहरू दोषरहित थिए।
प्रकाश 14:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
फेरि पनि मैले हेरें र सियोन पर्वतमा थुमा उभिरहनुभएको थियो र उहाँको नाउँ र उहाँको पिताको नाउँ, आ-आफ्ना निधारमा लेखिएका एक लाख चवालीस हजार मानिसहरू उहाँसित थिए। पानीको छाँगो र बादलका गड्याङ-गुडुङको आवाज जस्तो स्वर्गबाट एउटा ठूलो सोर आएको मैले सुनें। त्यो आवाज वीणा बजाउनेहरूले धेरै वीणा बजाएको जस्तो पनि सुनियो। ती एक लाख चवालीस हजार मानिसचाहिँ मूल सिंहासनको अगाडि र ती चार जीवित प्राणीहरू र धर्म-गुरुहरू अगाडि उभिएर एउटा नयाँ गीत गाइरहेका थिए। यो गीतचाहिँ उनीहरूले मात्र सिक्न पाएका थिए किनभने संसारबाट उनीहरूको मात्र उद्धार भएको थियो। उनीहरू कन्ये केटीहरूजस्ता चोखो छन्, जसले व्यभिचारी काम गरेका छैनन्। उनीहरूले थुमालाई मात्र पछ्याएका छन्। उनीहरू संसारका मानिसहरूबाट बचाइएका हुन् र परमेश्वर र थुमाको लागि सबैभन्दा पहिला चढाइएका भेटी हुन्। उनीहरूका मुखमा केही छल भेटिएन। उनीहरू निर्दोष छन्।