प्रकाश 14:1-13
प्रकाश 14:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि मैले हेरें, र सियोन डाँड़ामा थुमा खड़ा हुनुभएको मैले देखें। उहाँको साथमा एक लाख चवालीस हजार थिए, जसका निधारमा उहाँको नाउँ र उहाँका पिताको नाउँ लेखिएका थिए। अनि धेरै पानीहरूको आवाजजस्तै, र ठूलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर मैले सुनें। मैले सुनेको त्यो सोर वीणा बजाउनेहरूले बजाइरहेका वीणाको सोरजस्तो थियो। सिंहासनको र ती चार जीवित प्राणीहरूका र धर्म-गुरुहरूका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाउँदथे। पृथ्वीबाट मोल तिरी छुटाएका एक लाख चवालीस हजारले बाहेक कसैले त्यो गीत सिक्न सक्दैनथ्यो। तिनीहरू स्त्रीसँग लसपस भएका थिएनन्, र आफूलाई चोखो राखेका थिए। थुमा जता-जता जानुहुन्छ उहाँको पछिपछि लाग्नेहरू यिनीहरू नै हुन्। परमेश्वर र थुमाको निम्ति पहिलो फलको रूपमा मानिसहरूका बीचबाट यिनीहरू मोल तिरी छुटाइएका थिए। तिनीहरूका मुखमा कुनै झूट पाइएन, तिनीहरू निष्खोट छन्। अनि अर्को स्वर्गदूतलाई मध्य आकाशमा उड़िरहेका मैले देखें। पृथ्वीमा रहने हरेक जाति, कुल, भाषा र मानिसलाई घोषणा गर्ने अनन्त सुसमाचार तिनीसँग थियो। तिनले चर्को सोरमा भने, “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँका इन्साफको घड़ी आएको छ। स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत् गर।” अनि एउटा अर्को स्वर्गदूत, अर्थात् दोस्राचाहिँ यसो भन्दै पछिपछि लागे, “पतन भयो! जाति-जातिलाई आफ्नो व्यभिचारका क्रोधको मद्य पिउन लाउने महान् बेबिलोनको पतन भयो।” त्यसपछि तेस्रा स्वर्गदूत चर्को सोरले यसो भन्दै तिनीहरूका पछि आए, “यदि कुनै मानिसले त्यो पशु र त्यसको मूर्तिलाई पुज्यो र निधार वा हातमा त्यसको छाप लियो भने, त्यसले पनि उहाँका क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्वरका क्रोधको कड़ा मद्य पिउनेछ, र पवित्र स्वर्गदूतहरू र थुमाको सामुन्ने आगो र गन्धकमा त्यसलाई यातना दिइनेछ। तिनीहरूका यातनाको धूवाँ सदासर्वदा मास्तिर गइरहनेछ। तिनीहरू यी नै हुन् जसले त्यो पशु र त्यसको मूर्तिलाई पूजा गर्छन्, र त्यसका नाउँको छाप लिन्छन्। तिनीहरूले दिनरात कहिल्यै पनि आराम पाउनेछैनन्।” परमेश्वरका आज्ञाहरू पालन गर्ने र येशूमाथि विश्वास राख्ने सन्तहरूको धैर्य धारण यसैमा छ। अनि स्वर्गबाट आएको यस्तो आवाज मैले सुनें, “यो लेख: अब उप्रान्त प्रभुमा मर्नेहरू धन्यका हुन्।” आत्मा भन्नुहुन्छ, “हो, तिनीहरूले आ-आफ्ना परिश्रमबाट आराम पाउनेछन्, किनकि तिनीहरूका काम तिनीहरूका पछि लाग्नेछन्।”
प्रकाश 14:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मैले हेरेँ, र मेरो सामु सियोन पर्वतमा थुमालाई उभिरहनुभएको देखेँ। उहाँसँग 1,44,000 लाई देखेँ, जसको निधारमा उहाँ र उहाँका पिताको नाम लेखिएको थियो। तब मैले स्वर्गबाट जोडसित बग्दै गरेको पानी र ठूलो गर्जनजस्तो आवाज आइरहेको सुनेँ। मैले सुनेको आवाज वीणा वादकहरूले आफ्ना वीणाहरू बजाएको जस्तै थिए। तिनीहरूले सिंहासनको सामु ती चार वटा जीवित प्राणीहरूको र प्रधानहरूको सामु एउटा नयाँ गीत गाए। पृथ्वीबाट छुटकारा पाएका ती 1,44,000 ले बाहेक कसैले पनि त्यो गीत सिक्न सक्दैनथे। यी मानिसहरू ती हुन्, जो स्त्रीहरूसित बिटुलिएनन्; किनकि तिनीहरूले आफूलाई शुद्ध राखेका थिए। थुमा जहाँ जानुहुन्छ, तिनीहरूले उहाँलाई पछ्याउँछन्। तिनीहरू मानव जातिबाट किनिएका थिए; अनि परमेश्वर र थुमालाई पहिलो फलझैँ चढाइए। तिनीहरूका मुखमा कुनै झूट पाइएन; तिनीहरू निर्दोष छन्। तब मैले बीच आकाशमा उडिरहेका अर्को स्वर्गदूतलाई देखेँ, र तिनीसित पृथ्वीमा बस्नेहरू, प्रत्येक राष्ट्र, कुल, भाषा र जातिहरूलाई घोषणा गर्नुपर्ने अनन्तको सुसमाचार थियो। तिनले चर्को सोरले भने, “परमेश्वरसित डराओ, र उहाँलाई महिमा देओ; किनकि उहाँको न्यायको बेला आएको छ। उहाँको आराधना गर, जसले स्वर्गहरू, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुभयो।” दोस्रो स्वर्गदूतले पनि आएर भने सबै राष्ट्रहरूलाई आफ्नो व्यभिचारी कामवासनाको मद्यको कचौरा पिउन लगाउने, “महान् सहर बेबिलोनको पतन भयो! पतन भयो।” ती दुई स्वर्गदूतका पछि तेस्रो स्वर्गदूतले चर्को सोरले भने: “यदि कसैले त्यस पशु र त्यसको मूर्तिलाई आराधना गर्छ र त्यसको छाप निधारमा अथवा हातमा लगाउँछ भने, त्यसले पनि उहाँको क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्वरको क्रोधको कडा मद्य पिउनेछ। त्यसलाई पवित्र स्वर्गदूतहरू र थुमाको उपस्थितिमा बल्दैगरेको गन्धकमा यातना दिइनेछ। अनि तिनीहरूका यातनाको धुवाँ सदासर्वदा उँभोतिर उठिरहनेछ। जसले त्यो पशु र त्यसको मूर्तिको आराधना गर्छन् र जसले त्यसको नामको छाप लगाउँछन्, तिनीहरूले दिनरात आराम पाउनेछैनन्।” परमेश्वरका आज्ञाहरू पालन गर्ने, र येशूप्रति विश्वासयोग्य भइरहने परमेश्वरका जनहरूको धीरज र सहनशीलता यसैमा हुनुपर्छ। तब मैले स्वर्गबाट आएको एउटा आवाजले यसो भनिरहेको सुनेँ, “यो लेख: अब उसो प्रभुमा मर्नेहरू धन्यका हुन्।” आत्मा भन्नुहुन्छ, “हो, तिनीहरूले परिश्रमबाट विश्राम पाउनेछन्; किनकि तिनीहरूका काम तिनीहरूका साथ लाग्नेछन्।”
प्रकाश 14:1-13 पवित्र बाइबल (NERV)
त्यसपछि मैले हेरें, अनि त्यहाँ मेरो अघि परमेश्वरको थुमा थियो। ऊ सियोन पर्वतमा उभिरहेको थियो। त्यहाँ उसित एक लाख चवालीस हजार मानिसहरू थिए। तिनीहरू सबैको निधारमा उसको अनि उसका पिताको नाउँ लेखिएको थियो। अनि मैले बाढी आएको आवाज अथवा ठूलो गर्जनको आवाज जस्तो स्वर्गबाट आएको सुनें। मैले सुनेको आवाज वीणा बजाउँदा मानिसहरूको आवाज जस्तै थियो। मानिसहरूले सिंहासन, ती चार सजीव वस्तु अनि धर्म-गुरुहरू अघि एउटा नयाँ गीत गाए। केवल ती मानिसहरू जसले नयाँ गीत सिक्न सके, एक लाख चवालीस हजार थिए जसलाई पृथवीबाट मुक्त गरिएका थिए। अन्य कसैले त्यो गीत सिक्न सकेनन्। यी एक लाख चवालीस हजार मानिसहरू जसले स्त्रीहरूसित अनुचित कर्म गरेनन् अनि स्वयंलाई शुद्ध राखे। तिनीहरूले परमेश्वरको थुमा जता गयो त्यतै पछ्याए। यी एक लाख चवालीस हजारलाई पृथ्वीका मानिसहरूबाट मुक्त गरिएको थियो। परमेश्वर अनि परमेश्वरको थुमालाई अर्पण गरिएका तिनीहरू नै पहिलो मानिसहरू थिए। यी मानिसहरूले कहिल्यै झूटो बोलेनन्। तिनीहरू दोषरहित थिए। तब मैले अर्को स्वर्गदूतलाई आकाशमा उडिरहेको देखें। पृथ्वीमा बस्ने मानिसहरू प्रत्येक राष्ट्र, जाति, भाषा अनि वंशलाई प्रचार गर्नका निम्ति त्यो स्वर्गदूतसित अनन्त सुसमाचार थियो! त्यो स्वर्गदूतले ठूलो आवाजमा भन्यो, “परमेश्वरको भय राख अनि उहाँको स्तुति गर। सबै मानिसहरूको न्याय गर्ने परमेश्वरको समय आएको छ। परमेश्वरको उपासना गर। जसले स्वर्ग, पृथ्वी, समुद्र अनि जल श्रोत सृष्टि गरे।” तब दोस्रो स्वर्गदूतले पहिलो स्वर्गदूतको अनुशरण गर्यो अनि भन्यो, “ऊ नष्ट भई। महान् नगर बेविलोनको नष्ट भयो। उसले सम्पूर्ण राष्ट्रहरूलाई आफ्नो व्यभिचारको अनि परमेश्वरको क्रोधबाट निस्किएको दाखरस पिउन लगाई।” तेस्रो स्वर्गदूतले पहिलो दुइ स्वर्गदूतहरूको अनुशरण गरे। त्यो तेस्रो स्वर्गदूतले ठूलो आवाजमा भने, “जसले त्यस पशु अनि पशुको मूर्तिको पूजा गर्छ, अनि आफ्ना निधार अथवा हातमा पशुको चिन्ह अंकित गर्छ, त्यस मानिसको निम्ति नराम्रो हुनेछ। त्यस मानिसले परमेश्वरको क्रोधको दाखरस पिउनेछ। परमेश्वरको प्यालामा कड़ा दाखरस हालिएको छ। त्यो मानिसले पवित्र स्वर्गदूतहरू अनि परमेश्वरको थुमाको अघि पोल्ने गन्धकद्वारा प्रचण्ड यातना पाउनुपर्छ। अनि तिनीहरूको निम्ति कष्टदायक धुवाँ सदा सर्वदा रहनेछ। ती मानिसहरू जसले पशुको अनि त्यसको मूर्तिको पूजा गर्नेछन् अथवा त्यसको नाउँ खोपाउने छन्, तिनीहरूको निम्ति दिन रात आराम रहने छैन।” यसको मतलब-परमेश्वरको पवित्र मानिसहरूमा धैर्य हुनुपर्छ। तिनीहरूले परमेश्वरको आदेशहरू पालन गर्नुपर्छ अनि आफ्ना विश्वास येशूमाथि राख्नु पर्छ। तब, मैले स्वर्गबाट यस्तो भन्दै गरेको आवाज सुने, “यसलाई लेख परमप्रभुमा जो मरे तिनीहरू धन्य हुन्।” आत्माले भन्छ, “हो, त्यो सत्य हो। ती मानिसहरू तिनीहरूका कठिन परिश्रमदेखि विश्राम गर्नेछन् किनभने तिनीहरूले गरेका कुराहरू तिनीहरूसितै रहनेछन्।”
प्रकाश 14:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
फेरि पनि मैले हेरें र सियोन पर्वतमा थुमा उभिरहनुभएको थियो र उहाँको नाउँ र उहाँको पिताको नाउँ, आ-आफ्ना निधारमा लेखिएका एक लाख चवालीस हजार मानिसहरू उहाँसित थिए। पानीको छाँगो र बादलका गड्याङ-गुडुङको आवाज जस्तो स्वर्गबाट एउटा ठूलो सोर आएको मैले सुनें। त्यो आवाज वीणा बजाउनेहरूले धेरै वीणा बजाएको जस्तो पनि सुनियो। ती एक लाख चवालीस हजार मानिसचाहिँ मूल सिंहासनको अगाडि र ती चार जीवित प्राणीहरू र धर्म-गुरुहरू अगाडि उभिएर एउटा नयाँ गीत गाइरहेका थिए। यो गीतचाहिँ उनीहरूले मात्र सिक्न पाएका थिए किनभने संसारबाट उनीहरूको मात्र उद्धार भएको थियो। उनीहरू कन्ये केटीहरूजस्ता चोखो छन्, जसले व्यभिचारी काम गरेका छैनन्। उनीहरूले थुमालाई मात्र पछ्याएका छन्। उनीहरू संसारका मानिसहरूबाट बचाइएका हुन् र परमेश्वर र थुमाको लागि सबैभन्दा पहिला चढाइएका भेटी हुन्। उनीहरूका मुखमा केही छल भेटिएन। उनीहरू निर्दोष छन्। यसपछि मैले आकाशमा उडिरहेको अर्को एक स्वर्गदूत देखें। सबै जाति, कुल, भाषा र देशका मानिसहरूलाई सुनाउन तिनी सुसमाचार लिएर आउँदै थिए। तिनले ठूलो सोरले भने, “परमेश्वरको डर मान र उहाँको प्रशंसा गर किनभने उहाँले मानिस जातिको न्याय गर्ने बेला आइसकेको छ। आकाश, पृथ्वी, समुद्र र सब पानीका मूलहरू बनाउनुहुने परमेश्वरलाई मान-आदर देओ।” तब पहिलो स्वर्गदूतको पछि दोस्रो स्वर्गदूत यसो भन्दै आए, “ध्वंश भयो! महासहर बेबिलोन ध्वंश भयो। त्यसले संसारका सबै जातिलाई त्यसका व्यभिचारको कचौराबाट पियाएर उनीहरूलाई मताइदिई।” ती दुई स्वर्गदूतहरूका पछि तेस्रो स्वर्गदूतले ठूलो सोरले यसो भन्दै कराए, “जतिले जनावरलाई अथवा त्यसको मूर्तिलाई मान-आदर गरेर त्यसको टीका आफ्नो निधारमा वा आफ्नो हातमा लिन्छन्, उनीहरूलाई परमेश्वरले आफ्नो क्रोधको कचौराबाट पियाउनुहुनेछ। तिनीहरू पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा पिरोलिनुपर्छ र उनीहरूलाई पिरोल्ने आगोको धुवाँ सधैँ उँभोतिर उडेर जानेछ। जतिले त्यो जनावर र त्यसको मूर्तिलाई मान-आदर गर्छन् र त्यसको टीका लाउँछन्, दिन-रात आफ्नो सजायबाट विश्राम पाउनेछैनन्।” परमेश्वरका पवित्र जनहरू, जसले परमेश्वरको वचन मान्छन् र प्रभु येशूमा विश्वास राख्छन्, तिनीहरू स्थिर भएर बस्नुपर्छ। यसपछि स्वर्गबाट यसो भनिरहेको एउटा सोर मैले सुनें, “यो कुरा लेख: अबदेखि जतिले विश्वास गरी प्रभुको सेवामा मर्छन्, उनीहरू धन्यका हुन्।” पवित्र आत्माले यसो भनेर जवाफ दिनुभयो। “साँच्चै हो! किनभने अबदेखि उनीहरूले आफ्ना दु:ख र परिश्रमबाट आराम पाउनेछन् र उनीहरूका काम उनीहरूका साथ लाग्नेछन्।”