भजनसंग्रह 9:1-20
भजनसंग्रह 9:1-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, मेरो पूरा हृदयले म तपाईंको प्रशंसा गर्नेछु। तपाईंका सबै आश्चर्यकर्महरूको वर्णन म गर्नेछु। म तपाईंमा रमाउनेछु र उल्लसित हुनेछु। हे सर्वोच्च परमेश्वर, तपाईंको नाउँमा म स्तुति गाउनेछु। मेरा शत्रुहरू पिठिउँ फर्काएर भाग्छन्, तिनीहरू तपाईंको सामुन्ने ठक्कर खाएर नष्ट हुन्छन्। किनभने तपाईंले मेरो अधिकार र मामिलाको रक्षा गरिदिनुभएको छ। सिंहासनमा विराजमान भई तपाईंले निष्पक्ष न्याय गर्नुभएको छ। जाति-जातिहरूलाई तपाईंले हप्काउनुभएको छ र दुष्टहरूलाई नष्ट पार्नुभएको छ। तपाईंले तिनीहरूको नाउँ सधैँको निम्ति मेटिदिनुभएको छ। शत्रुहरूमाथि अनन्त विनाश छाएको छ, तिनीहरूका सहरहरू तपाईंले उखेल्नुभएको छ। तिनीहरूको नाउँनिशानै मेटिएको छ। परमप्रभुले सदाकालको निम्ति राज्य गर्नुहुन्छ। उहाँले न्यायको निम्ति आफ्नो सिंहासन तयार पार्नुभएको छ। र उहाँले धार्मिकतासित संसारको न्याय गर्नुहुन्छ, उहाँले निष्पक्षतासित मानिसहरूमाथि शासन गर्नुहुन्छ। थिचोमिचोमा परेकाहरूका निम्ति परमप्रभु किल्ला हुनुहुन्छ, कष्टको समयमा एउटा शरणस्थान। तपाईंको नाउँ जान्नेहरू जतिले आफ्नो भरोसा तपाईंमा राख्छन्, किनकि हे परमप्रभु, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले त्याग्नुभएको छैन। सियोनमा विराजमान हुनुहुने परमप्रभुको स्तुति गाओ। मानिसहरूका बीचमा उहाँका कामहरूको घोषणा गर। किनकि रगतको बदला लिनुहुनेले सम्झना गर्नुहुन्छ। सङ्कष्टमा परेकाहरूको पुकारलाई उहाँले बेवास्ता गर्नुहुन्न। हे परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्। हेर्नुहोस्, मलाई घृणा गर्नेहरूबाट मैले कस्तो कष्ट भोग्नुपरेको छ। तपाईंले नै मलाई मृत्युको मुखबाट छुटाउनुहोस्, र सियोनकी छोरीका ढोकाहरूमा म तपाईंका सबै प्रशंसाको घोषणा गर्न सकूँ, र त्यहाँ तपाईंले गर्नुभएको उद्धारमा म रमाउन सकूँ। जाति-जातिहरू आफूले खनेको खाड़लमा आफै जाकिएका छन्। तिनीहरूले लुकाएर फैलाएको जालमा तिनीहरू आफै परेका छन्। परमप्रभु त उहाँकै न्यायद्वारा चिनिनुहुन्छ। दुष्टहरूचाहिँ आफ्नै हातका कामको जालमा फसेका छन्। (हिग्गायोन) सेला दुष्टहरूचाहिँ पातालमै फर्केर जानेछन्, सबै जातिहरू, जसले परमेश्वरलाई बिर्सन्छन्। तर दरिद्रहरूलाई सधैँ बिर्सिइनेछैन, पीडितहरूको आशा कहिल्यै चकनाचूर हुनेछैन। हे परमप्रभु, उठ्नुहोस्, मानिस विजयी हुन नपाओस्। जाति-जातिहरूको न्याय तपाईंको सामुन्ने होस्। हे परमप्रभु, तिनीहरूलाई भयभीत तुल्याउनुहोस्। तिनीहरू त मानिस मात्र हुन् भनी जातिहरूले थाहा पाऊन्। सेला
भजनसंग्रह 9:1-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु; तपाईंका सबै अचम्मका कामहरूको वर्णन म गर्नेछु। म तपाईंमा रमाउनेछु र आनन्द मनाउनेछु; हे सर्वोच्च परमेश्वर, तपाईंको नाममा म स्तुति गाउनेछु। मेरा शत्रुहरू पिठिउँ फर्काएर भाग्छन्; तपाईंका सामु तिनीहरूले ठेस खान्छन् र नष्ट हुन्छन्। किनकि तपाईंले न्याय गर्नुभयो र मेरो पक्षमा निर्णय गरिदिनुभएको छ, सिंहासनमा विराजमान भई तपाईंले निष्पक्ष न्याय गर्नुभएको छ। तपाईंले जाति-जातिहरूलाई हप्काउनुभएको छ; र दुष्टहरूलाई नष्ट पार्नुभएको छ; तपाईंले तिनीहरूका नाम सधैँको निम्ति मेटिदिनुभएको छ। मेरा शत्रुहरूमाथि अनन्त विनाश आइपरेको छ, तपाईंले तिनीहरूका सहरहरू ध्वस्त पारिदिनुभएको छ; तिनीहरूको सम्झना नै मेटिएको छ। याहवेहले सदासर्वदाको निम्ति राज्य गर्नुहुन्छ; उहाँले आफ्नो सिंहासन न्यायको निम्ति स्थापित गर्नुभएको छ। उहाँले धार्मिकतामा संसारको न्याय गर्नहुन्छ; उहाँले जाति-जातिहरूमाथि निष्पक्षसाथ न्याय गर्नुहुन्छ। याहवेह थिचोमिचोमा परेकाहरूका निम्ति शरणस्थान हुनुहुन्छ, सङ्कष्टको समयमा उहाँ किल्ला हुनुहुन्छ। तपाईंका नाम जान्नेहरूले तपाईंमा भरोसा राख्दछन्, किनकि, हे याहवेह, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले कहिल्यै त्याग्नुभएको छैन। सियोनमा विराजमान हुनुहुने याहवेहको स्तुति गाओ; जाति-जातिहरूका बीच उहाँका कामहरूको घोषणा गर। किनकि रक्तपातको बदला लिनुहुनेले सम्झना राख्नुहुन्छ; उहाँले सङ्कष्टमा परेकाहरूको पुकारलाई बेवास्ता गर्नुहुन्न। हे याहवेह, हेर्नुहोस्, कसरी मलाई मेरा शत्रुहरूले खेदो गर्छन्। ममाथि कृपा गर्नुहोस् र मलाई मृत्युको मुखबाट छुटाउनुहोस्; ताकि सियोनकी छोरीका ढोकाहरूमा म तपाईंको प्रशंसाको घोषणा गर्न सकूँ र त्यहाँ तपाईंले गर्नुभएको मुक्तिमा म रमाउन सकूँ। राष्ट्रहरू आफूले खनेका खाडलमा आफैँ जाकिएका छन्; तिनीहरूले लुकाइराखेका जालमा तिनीहरूका आफ्नै पाउ परेका छन्। याहवेह त उहाँको न्यायको कामद्वारा चिनिनुहुन्छ; तिनीहरूका हातका कामद्वारा दुष्टहरू जालमा पर्दछन्। हिग्गियोन। सेला दुष्टहरूचाहिँ मृत्युको पातालमै फर्केर जानेछन्, सबै राष्ट्रहरू जसले परमेश्वरलाई बिर्सन्छन्। तर परमेश्वरले अभावमा हुनेहरूलाई कहिल्यै बिर्सनुहुनेछैन; पीडितहरूको आशा कहिल्यै चकनाचुर हुनेछैन। हे याहवेह, तपाईं उठ्नुहोस्, नाशवान् मानिस विजयी हुन नपाओस्; तपाईंको उपस्थितिमा जाति-जातिहरूको न्याय गरियोस्। हे याहवेह, तिनीहरूमाथि त्रास खन्याउनुहोस्; तिनीहरू त नाशवान् मानिस मात्र हुन् भनी राष्ट्रहरूले जानून्। सेला
भजनसंग्रह 9:1-20 पवित्र बाइबल (NERV)
म सम्पूर्ण हृदयबाट परमप्रभुको प्रशंसा गर्छु। हे परमप्रभु, तपाईंले सिर्जना गर्नु भएका सबै आर्श्चयपूर्ण कुराहरूको विषयमा म भन्नेछु। सर्वोच्च परमेश्वर, म तपाईंको नाउँको प्रशंसा गर्छु। तपाईंले मलाई अत्यन्त खुशी बनाउनु भयो। मेरा शत्रुहरू तपाईंदेखि भागेर फर्किए तर तिनीहरू लडे र नष्ट भए। तपाईं साँच्चो न्यायकर्त्ता हुनुहुन्छ, तपाईं आफ्नो सिंहासनमा न्यायकर्त्ता सरह विराजमान हुनुहुन्छ। हे परमप्रभु तपाईंले मेरो मामिला सुनिदिनु भयो र मेरो विषयमा निर्णय लिनु भयो। तपाईंले अन्य मानिसहरूका दोष देखाउनु भयो। हे परमप्रभु, तपाईंले ती दुष्टहरूलाई नाश गर्नुभयो। तपाईंले तिनीहरूको नाउँ जिउँदा मानिसहरूको सूचीबाट सदाको लागि मेटिदिनु भयो। शत्रुहरू खत्तम भए! हे परमप्रभु, तपाईंले तिनीहरूका शहरहरू पनि ध्वंश पारिदिनु भयो। अब, खाली भग्नावशेष मात्र छाडिएका छन्। ती दुष्टहरूको पुनः सम्झनाको लागि हामीसँग केही पनि बाँकी छैन। तर परमप्रभुले सदा-सर्वदा राज्य गर्नुहुन्छ, परमप्रभुले आफ्नो साम्राज्य दह्रिलो बनाउनु भएको छ। परमप्रभुले यस पृथ्वीमा भएका सबै मानिसहरूको ठीकसँग न्याय गर्नुहुन्छ। परमप्रभुले यस पृथ्वीका सबैलाई निष्पक्ष न्याय गर्नुहुन्छ। उहाँले सबै जातिहरूलाई एक समान न्याय गर्नुहुन्छ। धेरै मानिसहरू संकष्टमा फँसेका छन् र पीडित छन् किनभने तिनीहरूसँग धेरै कष्टहरू छन्। ती मानिसहरू आफ्ना समस्याहरूको बोझद्वारा श्रापित छन्। परमप्रभु, सुरक्षाको स्थान हुनुहुन्छ, तिनीहरू भाग्न सक्छन्। मानिसहरू ज-जसले तपाईंको नाउँ जान्दछन् तपाईंमाथि भरोसा राख्ने नै छन्। हे परमप्रभु, यदि मानिसहरू तपाईंकहाँ आए भने, तपाईंले उनीहरूलाई सहयोग नगरी बस्न सक्नु हुन्न। तिमीहरू जो सियोनमा बस्द छौ परमप्रभुको प्रशंसा गाऊ। अन्य मानिसहरूलाई पनि परमप्रभुले गर्नु भएका महान् कार्यहरूको विषयमा भन। परमप्रभुले ती मानिसहरूलाई सम्झनु भयो जसले उहाँलाई गुहारे। ती दुःखी मानिसहरू सहयोगको लागि चिच्याए अनि परमप्रभुले उनीहरूलाई बिर्सनु भएन। मैले परमेश्वरलाई यो प्रार्थना गरें, “हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्। मेरो शत्रुहरूले मलाई सताइरहेछन्, ‘मृत्युको द्वारबाट’ मलाई बचाउँनु होस्। तब, यरूशलेमको प्रवेशद्वारहरूमा म तपाईंको लागि स्तुति-गान गर्न सक्छु। परमप्रभु म अत्यन्त खुशी हुनेछु किनभने तपाईंले मलाई बचाउँनु भयो।” ती मानिसहरू जो अन्य जातिहरूबाट आएका थिए, तिनीहरूले अरूलाई संकष्टमा पार्न खाडल खने। तर तिनीहरू आफूले थापेका पासोहरूमा आफैं फस्नेछन्। अनि तिनीहरू ती जालहरूमा आफैं पर्ने छन्। परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ, यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन्। मानिसहरू जसले परमेश्वरलाई बिर्सन्छन् तिनीहरू दुष्टहरू हुन्, तिनीहरू मृत्युको ठाउँमा जानेछन्। कहिले काहीं यस्तो लाग्छ परमेश्वरले दुःखमा परेका मानिसहरूलाई बिर्सनु भयो। यस्तो भान हुन्छ ती गरीबहरूमा आशा छैन। तर परमेश्वले तिनीहरूलाई कहिल्यै पनि बिर्सनु हुने छैन। हे परमप्रभु, उठ्नुहोस् र जाति-जातिहरूलाई न्याय गर्नुहोस्। तिनीहरू शक्तिशाली छन् भनेर मानिसहरूलाई सोच्न नदिनुहोस्। मानिसहरूलाई शिक्षा दिनुहोस्। तिनीहरूले जान्न सकुन् कि तिनीहरू मानिस मात्र हुन्।
भजनसंग्रह 9:1-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु! म आफ्नै सारा हृदयले तपाईंको प्रशंसा गर्नेछु, तपाईंका सारा उदेकका कामबारे म भन्नेछु। तपाईंको कारण म आनन्दले गाउनेछु, हे सर्वशक्तिमान् परमेश्वर! म तपाईंको प्रशंसाको गीत गाउनेछु। तपाईं देखा पर्नुहुँदा मेरा बैरीहरू भाग्दछन्, तिनीहरू भूइँमा लड्छन् र मर्छन्। धर्म र इमानदारीसाथ तपाईंले न्याय गर्नुहुन्छ, तपाईंले मेरो पक्षमा न्याय गर्नुभएको छ। तपाईंले अविश्वासीहरूलाई दोषी ठहराउनुभएको छ, तपाईंले दुष्टहरूलाई नाश पार्नुभएको छ। अब कसैले तिनीहरूलाई याद गर्दैनन्। सदाको लागि हाम्रा बैरीहरू नाश भएका छन्। तपाईंले तिनीहरूका सहरहरू नाश पार्नुभएको छ, सबैले तिनीहरूलाई पूर्णरूपमा बिर्सिसकेका छन्। तर परमप्रभु सदाको लागि राजा हुनुहुन्छ, उहाँले न्याय गर्न आफ्नो सिंहासन तयार पार्नुभएको छ। उहाँले धर्मसित संसारमाथि राज्य गर्नुहुन्छ, उहाँले न्यायसँग जातिहरूको न्याय गर्नुहुन्छ। सताइएकाहरूले परमप्रभुमा शरण पाउँदछन्, कष्टका समयमा उहाँमा रक्षा पाउँछन्। हे परमप्रभु! तपाईंलाई चिन्नेहरूले तपाईंमा भरोसा राख्छन्, तपाईंमा शरण लिनेहरूलाई तपाईंले छोड्नुहुन्न। सियोनमा राज्य गर्नुहुने परमप्रभुको प्रशंसा गाओ, सबै जातिहरूलाई उहाँको कामबारे भन। परमेश्वरले कष्टमा परेकाहरूलाई याद गर्नुहुन्छ, उहाँले तिनीहरूको पुकार भुल्नुहुन्न र तिनीहरूलाई कष्ट दिनेहरूलाई उहाँले दण्ड दिनुहुन्छ। हे परमप्रभु! ममाथि दया गर्नुहोस्! मेरा शत्रुहरूले मलाई कष्ट दिएको हेर्नुहोस्! हे परमप्रभु! मलाई मृत्युदेखि बचाउनुहोस्! र म यरूशलेमका मानिसहरूको अघि खडा हुनेछु र जुन कुराका लागि म तपाईंको प्रशंसा गर्दछु, म तिनीहरूलाई ती सबै कुरा भन्नेछु। तपाईंले मलाई बचाउनुभएकोले म रमाउनेछु। अविश्वासीहरूले खाडल खने र आफैं त्यसमा परे; आफूले थापेको पासोमा तिनीहरू आफैं फसे। धर्मसित गरिएका निसाफमा परमप्रभु आफैं प्रकट हुनुभएको छ र दुष्टहरू आफ्नै कामका फन्दामा परेका छन्। सबै दुष्टहरू र परमेश्वर नमान्नेहरूका अन्त्य मृत्यु हो। अभावमा परेकाहरू सधैँभरि त्यागिनेछैनन्। दरिद्रको आशा सधैँभरि चकनाचुर हुनेछैन। हे परमप्रभु, आउनुहोस्! मानिसहरू विजयी हुन नपाऊन्। अविश्वासीहरूलाई आफ्नो अघि खडा गर्नुहोस् र तिनीहरूमाथि न्याय गरी न्याय सुनाउनुहोस्। हे परमप्रभु! तिनीहरूलाई डर देखाउनुहोस्, हामी मरणशील मानिस मात्र हौं भनी तिनीहरूले जान्न सकून्।
