भजनसंग्रह 89:11-18
भजनसंग्रह 89:11-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
स्वर्ग तपाईंको हो, र पृथ्वी पनि तपाईंकै हो, संसार र त्यसको सारा पूर्णता तपाईंले नै बसाल्नुभएको हो। उत्तर र दक्षिण तपाईंले नै सृष्टि गर्नुभएको हो, तबोर र हेर्मोन तपाईंको नाउँमा हर्षले गाउँछन्। तपाईंको बाहु शक्तिशाली छ, तपाईंको हात बलियो छ, र तपाईंको दाहिने बाहुली उच्च पारिएको छ। धार्मिकता र न्याय तपाईंको सिंहासनका जग हुन्, प्रेम र विश्वस्तता तपाईंको अगि जान्छन्। ती मानिसहरू धन्य हुन्, जसले तपाईंको प्रशंसा गर्न सिकेका छन्, जुनहरू, हे परमप्रभु, तपाईंका प्रकाशको उपस्थितिमा हिँड्छन्। तिनीहरू दिनभरि तपाईंको नाउँमा रमाउँछन्, र तिनीहरू तपाईंकै धार्मिकतामा आनन्दले मग्न हुन्छन्। किनकि तपाईं नै तिनीहरूको महिमा र शक्ति हुनुहुन्छ, र तपाईंकै निगाहले हाम्रो सीङ ठाडो पारिदिनुभएको छ। साँच्चै हाम्रो ढाल परमप्रभुकै हो, र हाम्रा राजा इस्राएलका परमपवित्रकै हुन्।
भजनसंग्रह 89:11-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
स्वर्गहरू तपाईंको हो, र पृथ्वी पनि तपाईंकै हो; संसार र त्यसमा भएका यावत् थोक तपाईंले नै स्थापित गर्नुभयो। उत्तर र दक्षिण तपाईंले नै सृष्टि गर्नुभएको हो; तबोर र हेर्मोन तपाईंको नाममा हर्षले गाउँछन्। तपाईंको पाखुरा शक्तिशाली छ; तपाईंको हात बलियो छ, तपाईंको दाहिने हात उच्च छ। धार्मिकता र न्याय तपाईंको सिंहासनका जग हुन्; अचुक प्रेम र विश्वासयोग्यता तपाईंको अगि जान्छन्। हे याहवेह, ती मानिसहरू धन्य हुन्, जसले जयध्वनिसाथ तपाईंको प्रशंसा गर्न सिकेका छन्; जो तपाईंका प्रकाशको उपस्थितिमा हिँड्छन्। तिनीहरू दिनभरि तपाईंको नाममा रमाउँछन्; तिनीहरूले तपाईंको धार्मिकताको उत्सव मनाउँछन्। किनकि तपाईं नै तिनीहरूका महिमा र बल हुनुहुन्छ, र तपाईंकै निगाहले हाम्रो सिङ उच्च पारिदिनुभएको छ। वास्तवमा याहवेह नै हाम्रो ढाल हुनुहुन्छ; हाम्रा राजा इस्राएलका पवित्र परमेश्वर हुनुहुन्छ।
भजनसंग्रह 89:11-18 पवित्र बाइबल (NERV)
स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू तपाईंकै हुन्, परमेश्वर तपाईंले संसार र यसका सबै थोकहरू सृजना गर्नुभयो। उत्तर र दक्षिण दिशामा तपाईंले सारा थोकहरू सृजना गर्नुभयो। ताबोर पर्वत र हर्मोन पर्वतले तपाईंकै नाउँको गुण-गान गर्दछन्। हे परमेश्वर तपाईंसँग शक्ति छ। तपाईंको शक्ति महान् छ, विजय तपाईंकै हो। तपाईंको साम्राज्य सत्य र न्यायमाथि बनिएको छ। प्रेम र विश्वास तपाईंको सिंहासनका दासहरू हुन्। हे परमेश्वर, तपाईंका ईमान्दार भक्तजनहरू साँच्चि नै खुशी छन्। तिनीहरू तपाईंको कृपाको प्रकाशमा बाँच्दछन्। तपाईंको नाउँले तिनीहरूलाई सधैँ खुशी पार्छ। तिनीहरूले तपाईंको सदगुणको प्रशंसा गर्दछन्। तपाईं तिनीहरूका आश्चार्यमय बल हुनुहुन्छ। तपाईंबाटै उनीहरूको शक्ति आउँछ। परमप्रभु, तपाईं हाम्रो रक्षक हुनुहुन्छ। इस्राएल को एकमात्र पवित्र आत्मा हाम्रा राजा हुनुहुन्छ।
भजनसंग्रह 89:11-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
स्वर्ग र पृथ्वी तपाईंकै हुन्, तपाईंले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो। उत्तर र दक्षिण तपाईंले बनाउनुभएको हो, तबोर र हेर्मोन पहाडहरूले तपाईंलाई आनन्दले गीत सुनाउँछन्। तपाईं कति शक्तिमान् हुनुहुन्छ! तपाईंको बल कति महान् छ! धर्म र न्यायमा तपाईंको राज्यको जग बसालेको छ, तपाईंका सबै काममा प्रेम र विश्वासयोग्यता प्रकट हुँन्छन्। तपाईंलाई भजन गाएर आराधना चढाउँछन् र तपाईंको दयाको ज्योतिमा जिउने मानिसहरू कति खुसी छन्! तपाईंको कारण तिनीहरूले दिनभरि आनन्द गर्दछन् र तपाईंको भलाइको लागि प्रशंसा गर्दछन्। तपाईंले हामीलाई ठूल्ठूला विजय दिनुहुन्छ, तपाईंले आफ्नो प्रेममा हामीलाई जयवन्त बनाउनुहुन्छ, हे परमप्रभु, तपाईंले हाम्रो रक्षक चुन्नुभयो, तपाईं इस्राएलका पवित्र परमेश्वरले हामीलाई हाम्रो राजा दिनुभयो!