भजनसंग्रह 78:1-8

भजनसंग्रह 78:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे मेरा प्रजा, मेरा शिक्षातिर कान लगाओ, मेरो मुखका वचनमाथि ध्‍यान देओ। म मेरो मुख दृष्‍टान्‍तमा खोल्‍नेछु, प्राचीनका भेदका कुराहरू सुनाउनेछु, ती जुन कुराहरू हामीले सुनेका र जानेका छौं, र जुन कुरा हाम्रा पिता-पुर्खाहरूले हामीलाई भनेका छन्‌। हामी यी कुराहरू तिनीहरूका छोराछोरीहरूबाट लुकाएर राख्‍नेछैनौं, तर आउने पुस्‍तालाई परमप्रभुका महिमामय कार्यहरू र उहाँको सामर्थ्‍य अनि उहाँले गर्नुभएका आश्‍चर्यपूर्ण कामहरूको वर्णन गर्नेछौं। उहाँले याकूबको निम्‍ति कानूनहरू कायम राख्‍नुभयो, र इस्राएलमा एउटा व्‍यवस्‍था स्‍थापना गर्नुभयो। आफ्‍ना सन्‍तानहरूलाई यी कुरा सिकाऊन्‌ भनेर, उहाँले हाम्रा पिता-पुर्खाहरूलाई हुकुम दिनुभयो, कि आउँदो पुस्‍ताले यी कुरा जानून्‌, र अझ नजन्‍मेका शिशुहरूले पनि यी कुरा जानून्‌, र तिनीहरूले आफ्‍ना सन्‍तानलाई पनि यी कुरा भनून्‌। यसरी तिनीहरूले परमेश्‍वरमा भरोसा राख्‍नेथिए, र उहाँका कार्यहरू बिर्सनेथिएनन्‌, तर उहाँका आज्ञाहरू पालन गर्नेथिए। तिनीहरू आफ्‍ना पिता-पुर्खाझैँ हठी र विद्रोही पुस्‍ता नहोऊन्‌, जसका हृदयहरू परमेश्‍वरतर्फ बफादार थिएनन्‌, र जसका आत्‍मा परमेश्‍वरतर्फ विश्‍वस्‍त थिएनन्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 78 पढ्नुहोस्

भजनसंग्रह 78:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे मेरा मानिसहरू हो, मेरा शिक्षातिर ध्यान दिएर सुन; मेरा मुखका वचनहरूतिर ध्यान लगाओ। म मेरो मुख दृष्‍टान्तमा बोल्नलाई खोल्नेछु; म प्राचीनका कुराहरूबाट गुप्‍त कुराहरू भन्‍नेछु— हामीले ती कुराहरू सुनेका र जानेका छौँ, जुन कुरा हाम्रा पितापुर्खाहरूले हामीलाई बताएका छन्। हामी ती कुराहरूलाई तिनीहरूका छोराछोरीहरूबाट लुकाउनेछैनौँ; हामी आउने पुस्तालाई याहवेहका प्रशंसायोग्य कामहरू, उहाँको शक्ति र उहाँले गर्नुभएका अद्‌भुत कार्यहरूको बारेमा वर्णन गर्नेछौँ। उहाँले याकोबको निम्ति विधि-विधानहरू कायम गर्नुभयो, र इस्राएलमा व्यवस्था स्थापित गर्नुभयो; यी कुराहरू आफ्ना छोराछोरीहरूलाई सिकाउनु भनेर उहाँले हाम्रा पितापुर्खाहरूलाई आज्ञा दिनुभयो; ताकि यी कुराहरू आउँदा पुस्ताले जानून्, यी कुराहरू नजन्मेका शिशुहरूले पनि जानून्, र यी कुराहरू तिनीहरूले पनि आफ्ना छोराछोरीहरूलाई भनून्। तब तिनीहरूले परमेश्‍वरमा आफ्ना भरोसा राख्नेछन्, र उहाँका कामहरू तिनीहरूले बिर्सने छैनन्; तर तिनीहरूले उहाँका आज्ञाहरू पालन गर्नेछन्। तिनीहरू आफ्ना पितापुर्खाहरू जस्तै अटेरी र विद्रोही पुस्ता हुनेछैनन्; तिनीहरूका हृदय परमेश्‍वरप्रति वफादार थिएनन्, तिनीहरूका आत्मा परमेश्‍वरप्रति विश्‍वासयोग्य थिएनन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 78 पढ्नुहोस्

भजनसंग्रह 78:1-8 पवित्र बाइबल (NERV)

मेरो मानिसहरू, मेरो उपदेशहरू ध्यान दिएर सुन। मैले भनेका कुराहरूमा ध्यान देऊ। म तिमीहरूलाई यो कथा भन्ने छु। म तिमीहरूलाई यो पुरानो कथा भन्ने छु। हामीले ती कथाहरू सुन्यौं, अनि हामी त्यो राम्रो प्रकारले जान्दछौं। हाम्रा पिता-पुर्खाहरूले यी कथाहरू सुनाए। अनि हामी त्यो कथा भुल्ने छैनौं। हाम्रा मानिसहरूले पछि आउने सन्तानहरूलाई त्यो कथाहरू भन्ने नै छन्। हामी मिली परमप्रभुको प्रशंसा गर्नेछौं, अनि उहाँका अचम्म लाग्दा कार्यहरू सबैलाई भन्नेछौं। परमप्रभुले याकूबसँग सम्झौता गर्नुभयो। परमेश्वरले इस्राएल लाई नियम दिनुभयो। परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई आज्ञाहरू दिनुभयो। उहाँले हाम्रा पिता-पुर्खाहरूलाई भन्नुभयो कि, ती नियमहरू बारे आफ्ना भावी सन्तानहरूलाई बताऊ। अनि आउने भावि सन्तानहरूले पनि यो नियमको बारेमा जान्नेछन् र तिनीहरू आफ्ना नानीहरूलाई सिकाउन सक्षम हुनेछन्। यसैकारण ती सबै मानिसहरूले परमेश्वरमाथि भरोसा गर्नेछन्। तिनीहरूले परमेश्वरका कार्यहरू भुल्ने छैनन्। तिनीहरूले परमेशवरको आज्ञा अनुसार उहाँको नियमहरू पालन गर्नेछन्। यदि मानिसहरूले आफ्ना नानीहरूलाई परमेश्वरका, आज्ञाहरूको विषयमा बताए भने तिनीहरूका पुर्खाहरू जस्तै हुने छैनन्। तिनीहरूका पिता-पुर्खाहरू परमेश्वरका विरूद्ध खडा भए, र उहाँको आज्ञा पालन गर्न अस्वीकार गरे ती मानिसहरू हठ्ठी थिए। तिनीहरू परमेश्वर प्रति विश्वासी थिएनन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 78 पढ्नुहोस्

भजनसंग्रह 78:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे मेरा मानिसहरू हो! मेरो शिक्षा सुन, मेरा कुरामा ध्‍यान देओ। म बुद्धिका कुराहरू भनेर बितेका रहस्‍यहरूका भेद खोलिदिनेछु। हामीले सुनेका र जानेका कुराहरू हाम्रा पुर्खाहरूले भनेका कुराहरू बुझाउनेछु। ती कुराहरू हामी आफ्‍ना छोरा-छोरीहरूबाट लुकाउनेछैनौं, आउँदा पिँढीलाई ती कुरा भन्‍नेछौं। परमप्रभुका शक्ति र महान् कार्यहरू, उहाँका उदेकका कामबारे भन्‍नेछौं। उहाँले इस्राएलीहरूलाई व्‍यवस्‍था दिनुभयो र याकूबका सन्‍तानलाई व्‍यवस्‍था-विधि दिनुभयो। आफ्‍ना छोरा-छोरीहरूलाई उहाँका नियमहरू सिकाउन उहाँले हाम्रा पिता-पुर्खालाई शिक्षा दिनुभयो। त्‍यसरी आउँदो पुस्‍ताले तिनका बारेमा सिक्‍न सकून् र आफ्‍ना सन्‍तानलाई पनि ती सिकाउन सकून्! यसरी तिनीहरूले परमेश्‍वरमाथि भरोसा राख्‍नेछन् र उहाँका कामहरू भुल्‍नेछैनन् र सधैँ उहाँका आज्ञाहरू मान्‍नेछन्। आफ्‍ना पिता-पुर्खाहरूजस्‍ता तिनीहरू विद्रोही र आज्ञा नमान्‍नेहरू बन्‍नेछैनन्। ती पुर्खाहरूका परमेश्‍वरमाथि भरोसा कहिल्‍यै दरिलो थिएन, तिनीहरू उहाँप्रति विश्‍वासयोग्‍य रहेनन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 78 पढ्नुहोस्