भजनसंग्रह 74:1-17
भजनसंग्रह 74:1-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमेश्वर, तपाईंले हामीलाई किन सधैँको लागि त्याग्नुभएको छ? तपाईंको रीस तपाईंको खर्कका भेड़ाहरूका विरुद्धमा किन दन्कन्छ? आफ्ना मानिसहरूलाई सम्झना गर्नुहोस्, जुनहरूलाई प्राचीनकालमा तपाईंले किन्नुभएको थियो, जुनहरूलाई तपाईंका उत्तराधिकारको कुल हुनलाई तपाईंले मोल तिरेर छुटाउनुभयो— सियोन पर्वत, जहाँ तपाईं वास गर्नुहुन्छ। आफ्ना कदम यी अनन्त भग्नावशेषतिर बढ़ाउनुहोस्, शत्रुहरूले पवित्रस्थानमा भएका यी सबै थोक नष्ट पारेका छन्। तपाईंले हामीलाई भेट्नुभएको स्थानमा तपाईंका शत्रुहरू गर्जेका छन्, तिनीहरूले आफ्ना झन्डाहरू चिन्हको रूपमा गाड़ेका छन्। रूखहरूको घारी बन्चराले नष्ट पार्ने मानिसले झैँ तिनीहरूले व्यवहार गरे। तिनीहरूले आफ्ना बन्चरो र घनले बुट्टा काटेका सबै खापाहरूलाई चकनाचूर पारे। तिनीहरूले तपाईंको पवित्रस्थानमा आगो लगाए, तपाईंका नाउँको वासस्थान तिनीहरूले अपवित्र तुल्याए। तिनीहरूले आफ्ना हृदयभित्र भने, “हामी तिनीहरूलाई पूर्ण रूपले मिच्नेछौं।” देशमा भएको परमेश्वरको आराधना गरिने प्रत्येक स्थान तिनीहरूले जलाए। हामी कुनै पनि आश्चर्य चिन्हहरू देख्दैनौं, अब कुनै अगमवक्ता बाँकी छैनन्, र यो कतिञ्जेल रहन्छ हामीमध्ये कसैलाई थाहा छैन। हे परमेश्वर, शत्रुहरूले कहिलेसम्म तपाईंको ठट्टा गर्नेछन्? के शत्रुले तपाईंका नाउँको निन्दा सधैँभरि गरिरहन्छन्? तपाईं किन आफ्नो बाहुली, आफ्नो दाहिने बाहुली पछि थामेर राख्नुहुन्छ? लुगाबाट हात निकाल्नुहोस् र तिनीहरूलाई नाश गर्नुहोस्। तर हे परमेश्वर, तपाईं तादिदेखि नै मेरा राजा हुनुहुन्छ, तपाईंले पृथ्वीमा उद्धार ल्याउनुहुन्छ। तपाईं नै हुनुहुन्छ जसले आफ्नो शक्तिले समुद्रलाई विभक्त गर्नुभयो, तपाईंले समुद्रको ठूलो जलचरका टाउकोहरू चूर्ण पार्नुभयो। तपाईंले लिव्यातन् जल-पशुका शिरहरू चूरचूर पार्नुभयो, र तपाईंले त्यसलाई वनपशुहरूका आहारको निम्ति दिनुभयो। तपाईं नै हुनुहुन्छ जसले पानीका मूल र खोलाहरू फुटाएर निकाल्नुभयो। तपाईंले निरन्तर बगिरहने नदीहरूलाई सुकाइदिनुभयो। दिन तपाईंको हो, रात पनि तपाईंकै हो। सूर्य र चन्द्र तपाईंले नै स्थापित गर्नुभयो। पृथ्वीका सबै साँधसिमाना तपाईंले नै लगाउनुभएको हो। तपाईंले ग्रीष्म ऋतु र शिशिर ऋतु बनाउनुभएको हो।
भजनसंग्रह 74:1-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे परमेश्वर, किन तपाईंले हामीलाई सधैँका लागि त्याग्नुभएको छ? तपाईंको क्रोध तपाईंका खर्कका भेडाहरूका विरुद्धमा किन दन्कन्छ? आफ्ना राष्ट्रलाई सम्झना गर्नुहोस्, जसलाई तपाईंले प्राचीन समयमा किन्नुभएको थियो; जसलाई तपाईंका उत्तराधिकारका प्रजा हुनलाई तपाईंले मोल तिरेर छुटाउनुभयो— सियोन पर्वत, जहाँ तपाईं बास गर्नुहुन्छ। आफ्ना कदमहरू यी अनन्त भग्नावशेषतिर बढाउनुहोस्; पवित्रस्थानमा भएका सबै थोक शत्रुहरूले नष्ट पारेका छन्। तपाईंले हामीसँग भेट गर्नुभएको ठाउँमा तपाईंका वैरीहरू गर्जेका छन्; तिनीहरूले आफ्ना झण्डाहरू विजयको चिन्हको रूपमा गाडेका छन्। झाडीका रूखहरू बन्चरोले काट्दै नष्ट पार्ने मानिसजस्तै तिनीहरू थिए। तिनीहरूले ठूलो बन्चरो र घनले बुट्टादार काठहरूलाई चकनाचुर पारे। तपाईंका पवित्रस्थानलाई तिनीहरूले आगो लगाए; तपाईंका नामको वासस्थान तिनीहरूले अपवित्र पारे। तिनीहरूले आफ्ना मनमा भने, “हामी तिनीहरूलाई पूर्ण रूपले नाश पारौँ!” तिनीहरूले देशमा भएका परमेश्वरका आराधना गरिने हरेक पवित्रस्थान जलाए। परमेश्वरबाट हामीले कुनै अलौकिक चिन्हहरू पाएका छैनौँ; अब कोही अगमवक्ता बाँकी रहेनन्, यस्तो हालत कहिलेसम्म रहने हो, सो हामी कसैले जान्दैनौँ। हे परमेश्वर, कहिलेसम्म शत्रुहरूले तपाईंको ठट्टा उडाउनेछन्? के वैरीहरूले तपाईंको नामको निन्दा सदासर्वदा गर्नेछन् त? किन तपाईं आफ्नो बाहुली, तपाईंको दाहिने हात रोक्नुहुन्छ? हस्तक्षेप गर्नुहोस् र तिनीहरूलाई नष्ट पार्नुहोस्। तर परमेश्वर प्राचीन समयदेखि नै मेरा राजा हुनुहुन्छ; उहाँले नै पृथ्वीमा मुक्ति ल्याउनुहुन्छ। तपाईंले नै आफ्नो शक्तिद्वारा समुद्रलाई दुई भाग पार्नुभयो; तपाईंले समुद्रको विशाल जन्तुहरूका टाउकाहरू कुच्याउनुभयो। तपाईं नै हो, जसले लिव्यातनको शिर कुच्याउनुभयो; र त्यसलाई मरुभूमिका पशुहरूलाई आहाराको निम्ति दिनुभयो। तपाईंले छहरा र नदीनालाका मूल फुटाइदिनुभयो; तपाईंले अटुट बगिरहने नदीहरूलाई सुकाइदिनुभयो। दिन तपाईंको हो, र रात पनि तपाईंकै हो; तपाईंले नै सूर्य र चन्द्र स्थापित गर्नुभएको हो। तपाईं नै हो, जसले पृथ्वीका सबै सिमानाहरू बनाउनुभयो; तपाईंले ग्रीष्म ऋतु र शिशिर ऋतु दुवैलाई बनाउनुभयो।
भजनसंग्रह 74:1-17 पवित्र बाइबल (NERV)
हे परमेश्वर, के तपाईंले हामीलाई सधैँको निम्ति त्याग्नु हुन्छ? के तपाईं आफ्ना मानिसहरूसित अझै क्रोधित हुनुहुन्छ? तपाईंले धेरै अघि किन्नु भएका ती मानिसहरूलाई सम्झनु होस्। तपाईंले हामीलाई बचाउँनु भयो। हामी तपाईं कै सम्पत्ति हौ। जहाँ तपाईं बस्नु भयो, त्यो सियोन पर्वतलाई सम्झनु होस्। परमेश्वर, यी अनन्त भग्नावशेषहरूबाट हिंडेर आउनु होस्, पवित्र ठाउँमा जुन शत्रुहरूले नष्ट गरेको तर्फ फर्की आउनु होस्। शत्रुहरू मन्दिरमा आफ्नो विजय नारा लगाएर चिच्याए। तिनीहरूले आफ्ना झण्डा युद्ध जित्यौं भनेर भान गर्न मन्दिरमा गाडे। शत्रुका सैनिकहरू यस्ता देखिन्छन्, कि घाँस काट्ने मानिसहरू घाँस काटिरहे जस्तो। हे परमेश्वर, तिनीहरूले आफ्ना बन्चरो र हँसियाहरू चलाउँदै, तपाईंको मन्दिरका चौकटहरू काट्दै भत्काउने छन्। ती सिपाहीहरूले तपाईंको पवित्र स्थान जलाए। जुन तपाईंको नाउँको सम्मानमा बनिएको थियो तिनीहरूले त्यो मन्दिर भूईँमा लडाए। शत्रुले हामीलाई पूर्ण रूपले तहस्-नहस् पार्ने निर्णय गरे, तिनीहरूले देशमा भएको प्रत्येक चिज र परमेश्वरको पवित्र स्थान जलाए। हामीले कुनै पनि हाम्रो चिन्हहरू देख्नसकेनौं। अब त्यहाँ अगमवक्ताहरू छैनन्। के गर्नु पर्ने कसैले जान्दैनन्। हे परमेश्वर, कहिले सम्म शत्रुले हामीलाई खेलौना बनाउने हो? के तपाईं आफ्नो निन्दा गराउन तिनीहरूलाई सधैँ दिइरहनुहुन्छ? हे परमेश्वर, तपाईंले यति कठिन दण्ड हामीलाई किन दिनुहुन्छ? तपाईंले आफ्नो महान-शक्तिले हामीलाई पूर्ण रूपमा नष्ट पार्नु भयो। हे परमेश्वर, तपाईं लामो समयदेखि हाम्रो राजा हुनु भएको छ, तपाईंले यस देशमा धेरै युद्धहरू जिताउनलाई सहयोग गर्नु भएकोछ। हे परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति प्रयोग गर्नुभयो, समुद्रलाई दुइ भागमा विभाजन गर्नुभयो। तपाईंले विशाल समुद्रको राक्षसहरूलाई जित्नु भयो, तपाईंले लिब्यातानको शिर टुक्रा-टुक्रा पार्नु भयो, अनि त्यसको शरीर जनावरहरूले खाओस् भनेर फाली दिनुभयो। तपाईंले नदीहरू र झर्नाहरू बग्ने बनाउनु भयो अनि तपाईंले नदीहरू सुकाइ दिनुभयो। हे परमेश्वर, तपाईं एक हुनुहुन्छ जसले दिन र रातलाई नियन्त्रण गर्नु हुन्छ। तपाईंले चन्द्रमा र सूर्य बनाउनु भयो। तपाईंले पृथ्वीमा सबै कुराको सीमा बनाइदिनु भयो। अनि तपाईंले ग्रीष्म ऋतु र शिशिर ऋतु बनाउनु भयो।
भजनसंग्रह 74:1-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमेश्वर, किन तपाईंले हामीलाई यसरी त्याग्नुभयो? के सधैँभरि आफ्नो प्रजासँग तपाईं रिसाउनुहुन्छ? तपाईंले धेरै समयअघि आफ्नै लागि चुन्नुभएको प्रजा, जसलाई तपाईंले दासत्वबाट छुटाएर आफ्नो जाति बनाउनुभयो, तिनीहरूलाई याद गर्नुहोस्, तपाईं एकपल्ट बास गर्नुभएको सियोन पहाडलाई सम्झनुहोस्। हाम्रा शत्रुहरूले मन्दिरमा भएका सबै कुरा नष्ट गरेका छन्, तपाईं यी सबै ध्वंस भएका चीजबीजमाथि हिँड्नुहोस्। शत्रुहरूले तपाईंको मन्दिरमा विजयको स्वर उचालेका छन्; त्यहाँ आफूले गरेको विजय देखाउन तिनीहरूले आफ्ना झन्डा गाडेका छन्। बन्चरोले रूख काट्दै गरेका दाउरेहरूजस्ता तिनीहरू देखा पर्थे, आफ्ना बन्चरो र ठूला घनहरूले काठका सारा बुट्टादार काम तिनीहरूले टुक्रा-टुक्रा पारे। तिनीहरूले तपाईंको मन्दिर भत्काए र आगो लाइदिए, तपाईंको आराधना गरिने ठाउँ तिनीहरूले अपवित्र गरे। देशमा भएका सबै पवित्रस्थानहरू तिनीहरूले डढाएर भस्म पारे, तिनीहरूले हामीलाई पूरै चुर-चुर गर्न चाहे। हाम्रा सबै पवित्र थोकहरू फ्याँकिएका छन्, कुनै अगमवक्ता बाँचेका छैनन्, कहिलेसम्म यो अवस्था रहने हो, कसैले जान्दैनन्। हे परमेश्वर, कहिलेसम्म हाम्रा शत्रुहरू तपाईंमाथि हाँस्नेछन्? के सधैँ तिनीहरूले तपाईंको नामको अपमान गर्ने हुन्? किन हाम्रो सहायता गर्न छोड्नुभयो? किन आफ्ना हात पछिपट्टि बाँधी राख्नुहुन्छ? हे परमेश्वर, सुरुदेखि नै तपाईं हाम्रा राजा हुनुभएको छ; धेरैपल्ट तपाईंले हामीलाई बचाउनुभएको छ। तपाईंले आफ्नो परमशक्तिले समुद्रलाई भाग-भाग गर्नुभयो र समुद्रका डरलाग्दा जन्तुहरूका टाउका चुर-चुर पार्नुभयो। तपाईंले पानीको भयानक जन्तु लिव्यातनका टाउकाहरू चूरचूर पार्नुभयो, त्यसको शरीर तपाईंले मरुभूमिका जन्तुहरूलाई खान दिनुभयो। तपाईंले पानीका झरना र फोहोराहरूका मूल फुटाउनुभयो र ठूला-ठूला नदीहरू सुकाउनुभयो। तपाईंले रात र दिनलाई बनाउनुभयो र घाम र जूनलाई तिनका ठाउँ-ठाउँमा राख्नुभयो। तपाईंले पृथ्वीका सिमाना बाँध्नुभयो र गर्मी र ठन्डाका ऋतुहरू बनाउनुभयो।