भजनसंग्रह 48:1-14

भजनसंग्रह 48:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभु महान्‌ र प्रशंसाको अति योग्‍य हुनुहुन्‍छ, हाम्रा परमेश्‍वरको नगरमा, उहाँको पवित्र पर्वतमा। उहाँको पवित्र पर्वत आफ्‍नो उचाइमा मनोहर छ, सारा पृथ्‍वीको लागि त्‍यो हर्ष बनेको छ। सापोनको परम उचाइझैँ सियोन पर्वत छ, महान्‌ राजाको नगर। परमेश्‍वर त्‍यसका किल्‍लाहरूमा हुनुहुन्‍छ, अनि उहाँ त्‍यसको सुरक्षा हुनुहुन्‍छ भनी उहाँले देखाउनुभएको छ। जब राजाहरू भेला भए र दल बाँधी सँगै अगि बढ़े, तब तिनीहरूले त्‍यसलाई देखे र चकित भए, तिनीहरू आतङ्कित भए अनि भागे। त्‍यहीँ नै तिनीहरू थरथरी काँप्‍न लागे, प्रसवपीडामा परेकी स्‍त्रीजस्‍तै तिनीहरू भए। तपाईंले तिनीहरूलाई तर्शीशका जहाजहरूलाई झैँ पूर्वी बतासले नष्‍ट गर्नुहुन्‍छ। सर्वशक्तिमान्‌ परमप्रभुको नगरमा, हाम्रा परमेश्‍वरको सहरमा, हामीले जस्‍तो सुनेका छौं, त्‍यस्‍तै देखेका छौं, परमेश्‍वरले त्‍यसलाई सदाको निम्‍ति सुरक्षित राख्‍नुहुन्‍छ। सेला हे परमेश्‍वर, तपाईंको मन्‍दिरभित्र, हामी तपाईंको अचूक कृपामाथि ध्‍यान गर्छौं। हे परमेश्‍वर, तपाईंको नाउँ जस्‍तो छ, त्‍यस्‍तै पृथ्‍वीको पल्‍लो छेउसम्‍मै तपाईंको प्रशंसा पुग्‍दछ। तपाईंको दाहिने बाहुली धार्मिकताले भरिएको छ। सियोन पर्वत हर्षित हुन्‍छ, यहूदाका गाउँहरू तपाईंका न्‍यायको कारण रमाउँदछन्‌। सियोनको चारैतिर हिँड़, र त्‍यसको परिक्रमा गर, त्‍यहाँका धरहराहरू गन, त्‍यसका पर्खालहरूलाई ध्‍यानसाथ हेर, त्‍यसका किल्‍लाहरू राम्ररी हेर, र तिमीले पछि आउने पुस्‍तालाई बताउन सक। किनकि यी नै परमेश्‍वर हाम्रा सदासर्वदाका परमेश्‍वर हुनुहुन्‍छ, उहाँ नै अनन्‍तकालसम्‍म हाम्रा अगुवा हुनुहुनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 48 पढ्नुहोस्

भजनसंग्रह 48:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हाम्रा परमेश्‍वरको सहरमा, उहाँको पवित्र पर्वतमा, याहवेह महान् र प्रशंसाको योग्य हुनुहुन्छ। उचाइमा सुन्दर, सारा पृथ्वीको आनन्द सियोन पर्वत हो, जो सापोनको उचाइझैँ छ, जो हाम्रा महाराजाको सहर हो। तिनका किल्‍लाहरूमा परमेश्‍वर हुनुहुन्छ; तिनका रक्षक परमेश्‍वर आफैँ हुनुहुन्छ भनी उहाँले देखाउनुभएको छ। जब राजाहरूले एकसाथ दल बाँधे; जब तिनीहरूसँगै अगि बढे, तिनीहरूले तिनलाई देखे; र तिनीहरू छक्‍क परे; तिनीहरू डराएर भागे। तिनीहरू त्यहीँ नै डरले थरथर काँप्न लागे, प्रसवपीडामा भएकी स्त्रीजस्तै तिनीहरू पीडामा परे। तर्शीशको जहाजहरूलाई झैँ तपाईंले तिनीहरूलाई पूर्वीय बतासले नष्‍ट पार्नुभयो। सेनाहरूका याहवेहको सहरमा, हाम्रा परमेश्‍वरको नगरमा, जस्तो हामीले सुनेका थियौँ, त्यस्तै देखेका छौँः परमेश्‍वरले तिनलाई सदासर्वदा सुरक्षित राख्नुहुन्छ। सेला हे परमेश्‍वर, तपाईंको मन्दिरभित्र, हामी तपाईंको अचुक प्रेमको ध्यान गर्छौँ। हे परमेश्‍वर, तपाईंको नामजस्तै, तपाईंको प्रशंसा पृथ्वीको छेउसम्मै पुग्दछ; तपाईंको दाहिने बाहुली धार्मिकताले भरिएको छ। तपाईंका सही न्यायहरूका कारण, सियोन पर्वत आनन्दित हुन्छ; यहूदाका सहरहरू हर्षित हुन्छन्। सियोनको चारैतिर हिँड, र यसको परिक्रमा गर; यसका धरहराहरू गन, यसको सुरक्षाको पर्खालहरूमाथि ध्यानसाथ हेर; यसका किल्‍लाहरूमाथि दृष्‍टि लगाओ; तब तिमीहरूले अर्को पुस्तालाई यसको बारेमा राम्ररी वर्णन गर्न सक्छौ। किनकि यिनै परमेश्‍वर हाम्रा सदासर्वदाका परमेश्‍वर हुनुहुन्छ; अनन्तसम्मै उहाँले हामीलाई अगुवाइ गर्नुहुनुहुनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 48 पढ्नुहोस्

भजनसंग्रह 48:1-14 पवित्र बाइबल (NERV)

परमप्रभु महान् हुनुहुन्छ। उहाँको पवित्र पर्वतमा, मानिसहरूले हाम्रो परमेश्वरको शहरमा अधिक प्रशंसा गर्दछन्। परमेश्वरको पवित्र शहर यस्तो आनन्दमय उचाइमा छ! यसले पृथ्वीभरिका मानिसहरूलाई आनन्द दिन्छ! सियोन पर्वत परमेश्वरको साँच्चो पर्वत हो, यो महान् राजाको शहर हो। त्यस शहरको राजमहलमा, परमेश्वरलाई किल्ला भनिन्छ। एक समय, केही राजाहरू आपस्तमा भेट गरे। तिनीहरूले यस शहरमाथि आक्रमण गर्ने योजना गरे। तिनीहरू सबैले यस शहरतर्फ कदम बढाए। तर त्यसपछि ती राजाहरू यो शहर देखेर छक्क परे। तिनीहरू सबै भयग्रस्त भए अनि लम्पट परे! डरले ती राजाहरूलाई कस्सेर समात्यो। ती राजाहरू डरले कामे। हे परमेश्वर तपाईंले शक्तिशाली पूर्वेली बतास चलाउनु भयो अनि तिनीहरूका ठूल-ठूला जहाजहरू सबै भताभुङ्ग पारिदिनु भयो। हो, हामीले तपाईंको महान् शक्तिका कथाहरू सुनेका छौं। तर यसलाई हामीले हाम्रो परमेश्वरको शहरमा पनि देख्यौं, सर्वशक्तिमान् परमेश्वरको शहरलाई उहाँले अनन्त सम्मको लागि बलियो बनाउनु भयो! हे परमेश्वर, तपाईंको मन्दिरमा तपाईंको प्रेमपूर्ण अनुग्रहलाई हामी सतर्क भएर सोच्दछौं। हे परमेश्वर, तपाईं प्रख्यात हुनुहुन्छ, मानिसहरूले तपाईंलाई पृथ्वीभरि प्रशंसा गर्दछन्। तपाईं कति धार्मिक हुनुहुन्छ भनेर सबैलाई थाहा छ। हे परमेश्वर! सियोन पर्वत खुशी हुन्छ। यहूदाका शहरहरू तपाईंको सही निर्णयले गर्दा रमाउँदछन्। सियोनको चारैतर्फ हिंड्। शहरमा हेर। त्यहाँका अग्ला महलहरू गन। अग्ला पर्खालहरू हेर, सियोनका राजमलहरूको प्रशंसा गर। तब तिमीले आफ्ना भावी सन्तानहरूलाई यसको विषयमा भन्न सक्नेछौ। यी परमेश्वर सदा-सर्वदाका लागि हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँले हामीलाई सघैं पथ-प्रर्दशन गर्नु हुनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 48 पढ्नुहोस्

भजनसंग्रह 48:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु महान् हुनुहुन्‍छ र हाम्रा परमेश्‍वरको सहरमा, उहाँका पवित्र डाँडामा उहाँको ठूलो प्रशंसा हुनुपर्छ। परमेश्‍वरको पर्वत सियोन अग्‍लो र सुन्‍दर छ, महान् राजाको यस सहरले सारा संसारमा आनन्‍द ल्‍याउँदछ। परमेश्‍वरले देखाउनुभएको छ कि सहरका किल्‍लाहरूभित्र उहाँसित सुरक्षा छ। राजाहरू भेला भएर सियोन पर्वतलाई आक्रमण गर्न आए। तर त्‍यसलाई देखेर तिनीहरू छक्‍क परे, तिनीहरू डराएर भागे। त्‍यहीँ नै तिनीहरूलाई डर र कम्‍पले बच्‍चा जन्‍माउन आँटेकी स्‍त्रीलाई झैँ वेदना भयो। प्रचण्‍ड आँधी-बेहरीले भत्‍काएका जहाजहरूझैँ तिनीहरूलाई तपाईंले नाश पार्नुभयो। परमेश्‍वरले के गर्नुभएको छ, त्‍यो हामीले सुनेका छौं, सर्वशक्तिमान्‌ परमप्रभु हाम्रा परमेश्‍वरको सहरमा अहिले हामीले त्‍यो देखेका छौं। त्‍यस सहरलाई सदाकालको निम्‍ति उहाँले सकुशल राख्‍नुहुनेछ। हे परमेश्‍वर! तपाईंको मन्‍दिरमा हामी तपाईंको अटुट प्रेमबारे सोच्‍दछौं। मानिसहरूले सबै ठाउँमा तपाईंको प्रशंसा गर्दछन्, पृथ्‍वीभरि उहाँको नाम फैलिएको छ, तपाईंले न्‍यायसाथ राज्‍य गर्नुहुन्‍छ। सियोनका बासिन्‍दाहरू आनन्‍द गरून्। तपाईंले ठीक न्‍याय गर्नुहुन्‍छ, यहूदाका सहरहरूमा आनन्‍द होस्! हे परमेश्‍वरका प्रजा हो! सियोनको चारैपट्टि फेरो लगाओ र धरहराहरू गन। पर्खालहरू ध्‍यान दिएर हेर र गढीहरूको जाँच गर, ताकि तिमीले आउँदा पुस्‍तालाई यसो भन्‍न सकौला: “परमेश्‍वर सदासर्वदाको लागि हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, आउँदा दिनमा हरघडी उहाँले हामीलाई डोर्‍याउनुहुनेछ।”

शेयर गर्नुहोस्
भजनसंग्रह 48 पढ्नुहोस्