भजनसंग्रह 27:1-14
भजनसंग्रह 27:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ, मैले कसको भय मान्नु? परमप्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ, कोसँग म भयभीत हुनु? जब दुष्ट मानिसहरू मेरो मासु खान मेरो विरुद्ध अगि बढ्छन्, जब शत्रु र विरोधीहरू मलाई आक्रमण गर्छन्, तिनीहरू ठक्कर खाएर जमिनमा लोट्नेछन्। सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउनेछैन। मेरो विरुद्धमा लड़ाइँ चले पनि त्यस बेला म पूरा आत्मविश्वास राख्नेछु। एउटै कुरा म परमप्रभुसँग माग्दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ, र उहाँको सुन्दरतालाई हेरिरहन पाऊँ, र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकूँ। किनकि सङ्कष्टको दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ, आफ्नो पवित्र वासस्थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ, अनि एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ। तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्च पारिनेछ, र उहाँको पवित्र वासस्थानमा हर्षले कराउँदै म बलिदान चढ़ाउनेछु, म भजन गाउनेछु, र परमप्रभुको प्रशंसा गर्नेछु। हे परमप्रभु, जब म उच्च सोरले कराउँछु, तब सुन्नुहोस्, ममाथि कृपालु हुनुहोस्, र मलाई जवाफ दिनुहोस्। मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।” हे परमप्रभु, तपाईंका मुहारको खोजी म गर्नेछु। तपाईंको मुहार मबाट नलुकाउनुहोस्, क्रोधमा तपाईंको दासलाई नहटाउनुहोस्। तपाईं मेरा सहायक हुनुभएको छ। मलाई इन्कार नगर्नुहोस्, मलाई नत्याग्नुहोस्, हे मेरा उद्धारकर्ता परमेश्वर! मेरा बुबा र मेरी आमाले मलाई त्यागे तापनि परमप्रभुले मलाई सम्हाल्नुहुनेछ। हे परमप्रभु, तपाईंको मार्ग मलाई सिकाउनुहोस्, र मेरा शत्रुहरूको कारण मलाई सोझो मार्गमा डोर्याउनुहोस्। मेरा शत्रुहरूको इच्छामा मलाई नछोडिदिनुहोस्, किनकि झूटा गवाहहरू मेरो विरुद्धमा उठेका छन्, अनि तिनीहरू हिंसा गर्नलाई फुलिएर हिँड्छन्। मलाई अझ पनि विश्वास छ कि जीवितहरूको देशमा परमप्रभुको उत्तमता म देख्नेछु। परमप्रभुको प्रतीक्षा गर। बलिया होऊ, र तिम्रो हृदय साहसिलो होस्, र परमप्रभुकै प्रतीक्षा गर।
भजनसंग्रह 27:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ; मैले कसको भय मान्नु? याहवेह नै मेरो जीवनको किल्ला हुनुहुन्छ; म कोसँग भयभीत हुनु? जब दुष्टहरू मलाई आक्रमण गर्न मेरो विरुद्धमा अगि बढ्छन्, जब मेरा शत्रुहरू र मेरा वैरीहरू ममाथि आइलाग्दछन्; तब तिनीहरू ठक्कर खाएर लड्नेछन्। सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउनेछैनँ; मेरो विरुद्धमा लडाइँ चले तापनि त्यस बेलामा पनि म पूरा निर्धक्क रहनेछु। याहवेहसँग म एउटै कुरा माग्दछु, म त्यसैको मात्र खोजी गर्दछु: कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ, उहाँको सुन्दरता हेर्न पाऊँ, र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ। किनकि सङ्कष्टका दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ; उहाँले आफ्नो पवित्र वासस्थानको छहारीमा मलाई लुकाउनुहुनेछ; र एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ। तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्च पारिनेछ; उहाँको पवित्र वासस्थानमा म आनन्दको सोर सुनाउँदै बलिदान चढाउनेछु; म भजन गाउनेछु, र याहवेहलाई प्रशंसा गर्नेछु। हे याहवेह, जब म पुकार गर्छु, मेरो सोर सुन्नुहोस्; ममाथि कृपालु हुनुहोस् र मलाई जवाफ दिनुहोस्। मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।” हे याहवेह, म तपाईंको मुहारको खोजी गर्नेछु। मबाट तपाईंको मुहार नलुकाउनुहोस्; तपाईंको सेवकलाई क्रोधमा नहटाउनुहोस्; तपाईं मेरा सहायक हुनुभएको छ। हे परमेश्वर, मेरा मुक्तिदाता, मलाई नत्याग्नुहोस्; मलाई तिरस्कार नगर्नुहोस्। मेरा बुबाआमाले मलाई त्यागे तापनि याहवेहले मलाई सम्हाल्नुहुनेछ। हे याहवेह, मलाई तपाईंका मार्ग सिकाउनुहोस्; र मलाई अत्याचार गर्ने मानिसहरूको कारण, मलाई सोझो मार्गमा अगुवाइ गर्नुहोस्। मेरा वैरीहरूका इच्छामा मलाई नछोडिदिनुहोस्; किनकि मेरो विरुद्धमा झूटा साक्षीहरू खडा भएका छन्, तिनीहरू खराब आरोप लगाउँछन्। म यसमा अझ विश्वस्त छु: म जीवितहरूको देशमा याहवेहको भलाइ देख्नेछु। याहवेहको प्रतीक्षा गर; बलियो र हृदयमा साहसिलो होऊ; र याहवेहको प्रतीक्षा गर।
भजनसंग्रह 27:1-14 पवित्र बाइबल (NERV)
हे परमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ, मैले कोहीसँग पनि डराउनु पर्दैन! मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ! यसैले म कोसैसँग डराउने छैन। दुष्ट मानिसहरूले मलाई आक्रमण गर्न सक्छन्। तिनीहरूले मलाई तरवारले काट्न सक्छन्। मेरा शत्रुहरूले मलाई आक्रमण गर्न सक्छन्, अनि मलाई ध्वंश पार्ने प्रयास गर्न सक्छन्। तर मेरा शत्रुहरू ठक्कर खानेछन् अनि पतित हुनेछन्। तथापि सिपाहीहरू मेरो वरिपरि छन्, म डराउने छैन। यदि मानिसहरूले युद्धमा आक्रमण गरे तापनि म डराउने छैन। किनभने म परमप्रभुमाथि भरोसा गर्दछु। परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छुः “जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ, परमपरभुले दिने खुशी अनुभव गर्नुसकूँ अनि मन्दिरमा परिदर्शन गर्न सकुँ।” परमप्रभुले मलाई बचाउँनु हुन्छ। जब म सङ्कटमा पर्छु उहाँले मलाई आफ्नो वासस्थानमा लुकाउनुहुन्छ। उहाँले मलाई आफ्नो सुरक्षाको ठाउँमा लानुहुन्छ। मेरा शत्रुहरूले मलाई घेरेका छन्। तर तिनीहरूलाई परास्त गर्न मलाई परमप्रभुले सहयोग गर्नु हुनेछ। त्यसपछि म उहाँको पालमा बलि चढाउने छु। म आनन्दको जयकार सहित बलिदान गर्नेछु, म परमप्रभुको सम्मानमा भजन गाउनेछु। हे परमप्रभु, मेरो बिन्ती सुन्नुहोस्। मलाई जवाफ दिनुहोस्। मलाई कृपादान गर्नुहोस्। हे परमप्रभु, म तपाईंसँग बोल्न चाहन्छु। म हृदयबाटै तपाईंसँग कुरा गर्न चाहन्छु। म तपाईं समक्ष बोल्न आएँ। हे परमप्रभु, तपाईंको दासबाट अनुहार नफर्काउनु होस्, मलाई साथ दिनुहोस्। मलाई टाढा नधकेल्नुहोस्, मलाई नत्याग्नु होस्, मेरो परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ। मेरो माता-पिताले मलाई छोडी गए। तर परमप्रभुले मलाई लानु भयो र बनाउनु भयो। हे परमप्रभु, मेरा शत्रुहरू छन्। यसैले मलाई पथ प्रदर्शन गर्नुहोस् र तपाईंको उपायहरू बताउनु होस्। मलाई ठीक कुराहरू मात्र गर्न सिकाउनु होस्। मेरा शत्रुहरूले ममाथि आक्रमण गरे। मलाई अरूले चोट पुर्याओस् भनी तिनीहरूले मेरो विषयमा झूटो बोलेका छन्। परमप्रभु, मेरा शत्रुहरूले मलाई पराजित नगरून्। मलाई पूरा विश्वास छ म मर्नु भन्दाअघि परमप्रभुको सतगुण हेर्न पाउनेछु। परमप्रभुको सहयोगलाई पर्ख, बलियो र साहसी होऊ, अनि परमप्रभुको सहयोग पर्ख।
भजनसंग्रह 27:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु मेरो ज्योति र मुक्ति हुनुहुन्छ, मलाई कसैको डर छैन। परमप्रभुले सबै खतरादेखि मेरो रक्षा गर्नुहुन्छ, म कहिल्यै डराउनेछैनँ। दुष्टहरूले जब मलाई आक्रमण गर्छन् र मार्ने चेष्टा गर्छन्, तिनीहरू ठेस लागेर लड्छन्। सारा सेनाले मलाई घेरे पनि म डराउनेछैनँ; शत्रुहरूले ममाथि हमला गरे पनि म परमेश्वरमा भरोसा गरिरहनेछु। मैले परमप्रभुसित एउटा कुरा मागेको छु, एउटै कुरा मात्र म चाहन्छु कि जीवनभरि म परमप्रभुको घरमा बस्न पाऊँ र त्यहाँ उहाँको भलाइको सुन्दरतामा मग्न रहन पाऊँ र उहाँको अगुवाइको लागि बिन्ती गर्न पाऊँ। उहाँले मलाई कष्टको बेलामा आश्रय दिनुहुनेछ, उहाँले मलाई आफ्नो मन्दिरमा कुशल राख्नुहुनेछ र अग्लो चट्टानमाथि मलाई सुरक्षित राख्नुहुनेछ। यसैले म आफ्ना चारैपट्टिका शत्रुहरूलाई जित्नेछु, आनन्दको सोरले म उहाँको मन्दिरमा बलि चढाउनेछु, म गाउनेछु, म परमप्रभुको प्रशंसा गर्नेछु। हे परमप्रभु! मैले तपाईंलाई पुकारेको बेलामा सुन्नुहोस्! मलाई दयामाया गरेर आफ्नो उत्तर दिनुहोस्! “आइज र मलाई दण्डवत् गर्,” तपाईंले भन्नुहुँदा, “म आउनेछु, हे परमप्रभु,” भनी मैले उत्तर दिएँ। मदेखि नलुक्नुहोस्! मसँग नरिसाउनुहोस्, आफ्नो दासलाई नफर्काउनुहोस्। तपाईं मेरो सहारा बन्नुभएको छ, मलाई नछोड्नुहोस्, मलाई नत्याग्नुहोस्, हे परमेश्वर, मेरो उद्धारक! मेरा आमा-बुबाले मलाई त्याग्न सक्लान्, तर परमप्रभुले मलाई सह्माल्नुहुनेछ। मैले के गरेको तपाईं चाहनुहुन्छ, हे परमप्रभु, मलाई सिकाउनुहोस्। मलाई कुशल मार्गमा डोर्याउनुहोस् किनभने मेरा शत्रु धेरै छन्। मलाई मेरा शत्रुहरूका हातमा नछोड्नुहोस्, तिनीहरू ममाथि झूटा र धम्कीका कुरा लिएर आइहाल्छन्। म यो जान्दछु कि परमप्रभुको भलाइ यही जीवनमा म देख्न पाउनेछु। परमप्रभुमा भरोसा गर, उहाँमा विश्वास राख। हरेस नखाऊ, परमप्रभुमा भरोसा गर।