भजनसंग्रह 2:1-12
भजनसंग्रह 2:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जाति-जातिहरू किन षड्यन्त्र रच्छन्, र मानिसहरू किन व्यर्थका जाल रच्छन्? परमप्रभु र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्वीका राजाहरू खड़ा हुन्छन्, र शासकहरू आपसमा सल्लाह गर्छन्। तिनीहरू भन्छन्, “हामी उनीहरूका साङ्लाहरू छिनालौं,” “र उनीहरूका बन्धनहरू फुकाऔं।” स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्नुहुन्छ, परमप्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ। तब आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनुहुनेछ, र आफ्नो बल्दो कोपमा तिनीहरूलाई यसो भन्दै त्रस्त पार्नुहुनेछ: “मैले आफ्नो पवित्र पर्वत सियोनमा मेरो आफ्नो राजालाई नियुक्त गरेको छु।” परमप्रभुको यो आदेश म घोषणा गर्नेछु, उहाँले मलाई भन्नुभयो, ‘तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु।’ मसँग माग, र म जातिहरूलाई तिम्रो उत्तराधिकार तुल्याइदिनेछु, र समस्त पृथ्वी तिम्रो निजी सम्पत्ति तुल्याइदिनेछु। फलामको राजदण्डले तिमीले तिनीहरूमाथि शासन गर्नेछौ, र कुमालेको भाँड़ालाई झैँ तिमीले तिनीहरूलाई चकनाचूर पार्नेछौ। यसकारण हे राजा हो, बुद्धिमान् होओ, पृथ्वीका शासक हो, सावधान! भय मानेर परमप्रभुको सेवा गर, र कम्पनसाथ आनन्द मनाओ। पुत्रलाई चुम्बन गर, नत्रता उहाँ रिसाउनुहुनेछ, र तिमीहरू बाटैमा नष्ट हुनेछौ, किनभने उहाँको कोप चाँड़ै दन्कन्छ। ती सबै धन्य हुन्, जो उहाँको शरण पर्दछन्।
भजनसंग्रह 2:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
राष्ट्रहरू किन षड्यन्त्र रच्दछन्, अनि जाति-जातिहरू किन व्यर्थमा जाल रच्छन्? याहवेह र उहाँका अभिषिक्त जनका विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन्, र शासकहरू एकजुट भएर भेला भएका छन्। तिनीहरू यसो भन्छन्, “आओ, हामी तिनीहरूका साङ्लाहरू छिनालौँ, र तिनीहरूका बन्धनहरू फुकालौँ।” स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्नुहुन्छ; प्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ। आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनुहुन्छ, र आफ्ना क्रोधमा तिनीहरूलाई यसो भन्दै भयभीत पार्नुहुन्छ, “मैले मेरो राजालाई नियुक्त गरेको छु, मेरो पवित्र सियोन पर्वतमा”, प्रभु घोषणा गर्नुहुन्छ। म याहवेहको उर्दी घोषणा गर्नेछु: उहाँले मलाई आज्ञा गर्नुभयो, “तिमी मेरा पुत्र हौ; आज म तिम्रो पिता भएको छु। मसँग माग र म राष्ट्रहरूलाई तिम्रो उत्तराधिकार तुल्याइदिनेछु, र पृथ्वीको अन्तसम्म तिम्रो निज सम्पत्ति तुल्याइदिनेछु। तिमीले फलामको राजदण्डले तिनीहरूलाई पिस्नेछौ, कुमालेको भाँडाझैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ।” यसकारण हे राजाहरू हो, बुद्धिमान् होओ; पृथ्वीका शासकहरू हो, सचेत होओ! भयसाथ याहवेहको सेवा गर, र कम्पनसाथ उहाँको आनन्द मनाओ। उहाँको पुत्रलाई सम्मान गर, नत्रता उहाँ क्रोधित हुनुहुनेछ, र तिमीहरूको व्यवहारले विनाशमा पुर्याउला; किनकि उहाँको क्रोध चाँडै दन्कन्छ। धन्य हुन् तिनीहरू सबै, जो उहाँको शरणमा पर्दछन्।
भजनसंग्रह 2:1-12 पवित्र बाइबल (NERV)
अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्? किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्? तिनीहरूका राजाहरू र अगुवाहरू परमप्रभुको विरूद्ध र उहाँले रोजेका राजाको विरूद्धमा युद्ध गर्न एकजुट भए। ती अगुवाहरूले भने, “परमेश्वर र आफूले रोजेका राजाको विरूद्ध विद्रोह गरौं, तिनीहरूबाट अलग हौं।” तर मेरा स्वामी, स्वर्गका राजा ती मानिसहरू प्रति हाँस्नुहुन्छ। परमप्रभुले तिनीहरूलाई हाँसोको पात्र बनाउनु हुन्छ। तब परमेश्वर रिसाउनु हुन्छ, अनि यसो गर्दा ती अन्य अगुवाहरू डराउँछन्। अनि ती मानिसहरूलाई भन्नुहुन्छ, “यो मानिस राजा होस् भनी मैले रोजें। अनि उसले सियोन पर्वतमा राज गर्नेछ। सियोन मेरो एक विशेष पर्वत हो।” अब म तिमीलाई परमप्रभुको करारको विषयमा भन्नेछु। परमप्रभुले मलाई भन्नुभयो, “आज म तिम्रो पिता भएँ, तिमी मेरा पुत्र भयौ। यदि तिमीले माग्छौ भने, म तिमीहरूलाई यो देश दिनेछु अनि पृथ्वीमा भएका सबै जातिहरू तिमीहरूका मानिसहरू हुनेछन्। तिमीहरूले ती देशहरूलाई फलामको डण्डाले माटोको भाँडाहरू टुक्रा पारे झैं नष्ट गर्न सक्ने छौ।” यसैकारण, राजा र शासकहरू बुद्धिमान होउन् र तिम्रा सम्पूर्ण शासकहरूले यो पाठ सिकुन्। यसकारण एकदम डराएर परमप्रभुको आज्ञा पालन गर। तिमीहरूले परमप्रभुको पुत्रको भक्त हुँ भन्ने देखाऊ। यदि तिमीहरूले त्यसो गरेनौ भने उहाँ क्रोधित हुनुहुनेछ, र तिमीहरू सबैलाई ध्वंश पार्नु हुनेछ। जसले परमप्रभुमाथि विश्वास गर्छन् उनीहरू सुखी हुन्छन्। तर अन्य मानिसहरू होशियार हुनु पर्नेछ। परमप्रभु आफ्नो क्रोध देखाउन तयार हुनुहुन्छ।
भजनसंग्रह 2:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किन जाति-जातिले विद्रोह गर्ने युक्ति गर्छन्? किन मानिसहरूले व्यर्थका जाल रच्छन्? तिनीहरूका राजाहरूले विद्रोह गर्छन्, तिनीहरूका शासकहरूले परमप्रभुको विरुद्ध र उहाँले चुन्नुभएको राजाको विरुद्ध जाल रच्छन्। “तिनीहरूका राज्यदेखि हामी छुटौं; तिनीहरूको बन्धन फालिदिऔं,” भनी तिनीहरू भन्छन्। स्वर्गमा आफ्नो सिंहासनबाट परमप्रभु हाँस्नुहुन्छ र तिनीहरूका कमजोर युक्तिलाई खिसी गर्नुहुन्छ। तब आफ्नो रिसले उहाँले तिनीहरूलाई चेतावनी दिनुहुन्छ र आफ्नो क्रोधमा तिनीहरूलाई थर्कमान पार्नुहुन्छ। उहाँ भन्नुहुन्छ, “मेरो पवित्र डाँडा सियोनमा मैले आफ्ना राजालाई नियुक्त गरेको छु।” राजा भन्छन्, “परमप्रभुले के भन्नुभएको छ, सो म सुनाउनेछु। उहाँले मलाई भन्नुभयो, ‘तँ मेरो छोरो होस्; आजदेखि म तेरो बुबा भएको छु। माग र म तँलाई सबै देशहरू दिनेछु, सारा पृथ्वी तेरो हुनेछ। तैँले फलामको डन्डाले तिनीहरूलाई तोड्नेछस् र माटाका भाँडालाई झैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछस्’।” राजाहरू हो! यो चेतावनी सुन; संसारका शासक हो! यो पाठ सिक। डरसँग परमप्रभुको सेवा गर; काम्दै उहाँलाई दण्डवत् गर। होइन भने उहाँको रिस छिटो जाग्नेछ र तिमीहरू अचानक मर्नेछौ। आफ्नो सुरक्षाको लागि परमेश्वरकहाँ जानेहरू प्रसन्न रहन्छन्।