भजनसंग्रह 146:1-10
भजनसंग्रह 146:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हल्लेलूयाह! ए मेरो प्राण, परमप्रभुको प्रशंसा गर्! म जीवनभरि परमप्रभुको प्रशंसा गर्नेछु, म जीवित रहुञ्जेल मेरा परमेश्वरको स्तुति गाई नै बस्नेछु। आफ्नो भरोसा संसारका शासकहरूमाथि नराख, मरणशील मानिसमाथि, जसले बचाउन सक्दैनन्। जब तिनीहरूको आत्मा निस्कन्छ, तिनीहरू माटोमा मिलिहाल्छन्। त्यही दिन तिनीहरूका योजनाहरू पनि नष्ट हुन्छन्। त्यो मानिस धन्यको हो, जसको सहायता याकूबका परमेश्वरमा छ, जसको आशा परमप्रभु त्यसका परमेश्वरमा हुन्छ। उहाँ स्वर्ग र पृथ्वी, समुद्र र त्यसमा भएका यावत् थोकका सृष्टिकर्ता हुनुहुन्छ। परमप्रभु सदाकालको निम्ति विश्वासयोग्य रहनुहुन्छ। उहाँले अत्याचारमा परेकाहरूका पक्षमा न्याय दिनुहुन्छ, र भोकाहरूलाई भोजन दिनुहुन्छ। परमप्रभुले कैदीहरूलाई मुक्त गरिदिनुहुन्छ। परमप्रभुले अन्धाहरूका आँखा खोलिदिनुहुन्छ। परमप्रभुले दबिएकाहरूलाई उठाउनुहुन्छ। परमप्रभुले धर्मीजनलाई प्रेम गर्नुहुन्छ। विदेशीहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्छ! अनाथ र विधवालाई उहाँले सम्हाल्नुहुन्छ, तर दुष्टहरूका युक्तिहरू उहाँले विफल पार्नुहुन्छ। परमप्रभुले सदासर्वदा राज्य गर्नुहुनेछ, ए सियोन, तिम्रा परमेश्वरले पुस्तौँ-पुस्तौँसम्म राज्य गर्नुहुनेछ। हल्लेलूयाह!
भजनसंग्रह 146:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको प्रशंसा गर! हे मेरो प्राण, याहवेहको प्रशंसा गर्! म मेरो जीवनभरि याहवेहको प्रशंसा गर्नेछु; म बाँचुन्जेल मेरा परमेश्वरको प्रशंसा गाउनेछु। शासकहरूमाथि भरोसा नगर; मानव-जातिमाथि, जसले बचाउन सक्दैन। जब तिनीहरूको आत्मा निस्कन्छ; तिनीहरू माटोमै फर्कन्छन्; त्यही दिन नै तिनीहरूका योजनाहरू पनि व्यर्थ हुन्छन्। धन्य हुन् तिनीहरू, जसका सहायक याकोबका परमेश्वर हुनुहुन्छ, जसको आशा याहवेह तिनीहरूका परमेश्वरमा हुन्छ। उहाँ स्वर्ग र पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोकका सृष्टिकर्ता हुनुहुन्छ; उहाँ सदाकाल विश्वासयोग्य रहनुहुन्छ। उहाँले थिचोमिचोमा परेकाहरूको पक्षमा भएर न्याय गर्नुहुन्छ; र भोकाएकाहरूलाई भोजन दिनुहुन्छ। याहवेहले कैदीहरूलाई स्वतन्त्र गरिदिनुहुन्छ; याहवेहले दृष्टिविहीनहरूका आँखा खोलिदिनुहुन्छ; र दबिएकाहरूलाई उठाउनुहुन्छ; याहवेहले धर्मी जनहरूलाई प्रेम गर्नुहुन्छ। याहवेहले विदेशीहरूको रक्षा गर्नुहुन्छ; अनाथ र विधवाहरूलाई सम्हाल्नुहुन्छ; तर दुष्टहरूको योजनालाई विफल पारिदिनुहुन्छ। याहवेहले सदासर्वदा राज्य गर्नुहुन्छ। हे सियोन, तेरा परमेश्वरले सारा पुस्तौँ-पुस्तासम्म राज्य गर्नुहुनेछ।
भजनसंग्रह 146:1-10 पवित्र बाइबल (NERV)
परमप्रभुको प्रशंसा गरौं! हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर! जीवनभरि नै म परमप्रभुको गुणगान गर्नेछु जीवनभरि नै म उहाँ प्रति प्रशंसाको गीत गाउने छु। साथ पाउनलाई तिमीहरूको अगुवामाथि आश्रित नबन मानिसहरूलाई भरोसा नगर। किनभने मानिसहरूले तिमीलाई बचाउन सक्दैनन्। मानिसहरू मर्दछन् र गाडिन्छन्, अनि तब, तिनीहरूका सबै योजनाहरू र सहयोगहरू जान्छन्। तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्। ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्। परमप्रभुले स्वर्ग अनि पृथ्वी बनाउनु भयो। परमप्रभुले समुद्र र त्यहाँ भएका प्रत्येक कुरा रच्नु भयो। परमप्रभुले तिनीहरूलाई सधैँ रक्षा गर्नुहुन्छ। दबिएका मानिसहरूको निम्ति परमेश्वर न्याय गराउनु हुन्छ। परमप्रभुले भोकाहरूलाई भोजन दिनु भयो। कैदमा थुनिएकाहरूलाई स्वतन्त्र पार्नुभयो। परमप्रभुले अन्धाहरूलाई फेरि देख्ने शक्ति दिनुभयो। परमप्रभुले ती मानिसहरूलाई साथ दिनुहुन्छ जो सङ्कटमा परेका छन्। परमप्रभुले धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ। परमप्रभुले परदेशीहरूलाई हाम्रो देशमा रक्षा गर्नुहुन्छ। परमप्रभुले विधवाहरू र टुहुरा-टुहुरीहरूलाई हेरचाह गर्नुहुन्छ तर परमप्रभुले दुष्ट मानिसहरूलाई नाश गर्नुहुन्छ। परमप्रभुले सधैँको निम्ति राज्य गर्नुहुनेछ हे सियोन! तेरा परमेश्वरले सदा-सर्वदा राज्य गर्नुहुनेछ।
भजनसंग्रह 146:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुको प्रशंसा गर! हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्! म बाँचुञ्जेल उहाँको प्रशंसा गर्नेछु, मेरो जीवनभरि म मेरो परमेश्वरको स्तुति गर्नेछु। संसारका अगुवाहरूमाथि भरोसा नगर, मरणशील मानिसले तिमीलाई बचाउन सक्दैन। तिनीहरू मर्दा धुलोमा फर्किजान्छन्, त्यस दिन तिनीहरूका सबै युक्तिहरूको अन्त हुन्छ। जुन मानिसले याकूबका परमेश्वरको सहायता पाउँदछ र आफ्नो परमेश्वर परमप्रभुमा भर पर्दछ, ऊ खुसी हुन्छ। स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सबै कुराका सृष्टि गर्ने उहाँ परमेश्वर हुनुहुन्छ। उहाँले सधैँ आफ्ना प्रतिज्ञा पूरा गर्नुहुन्छ। उहाँले सताइएकाहरूको पक्षमा भएर न्याय गर्नुहुन्छ, उहाँले भोकाहरूलाई भोजन दिनुहुन्छ। परमप्रभुले कैदीहरूलाई छुटकारा दिनुहुन्छ र अन्धाहरूलाई आँखा दिनुहुन्छ। उहाँले लडेकाहरूलाई उठाउनुहुन्छ, उहाँले आफ्ना धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ। हाम्रा देशमा बास गर्ने परदेशीहरूलाई उहाँले रक्षा गर्नुहुन्छ, उहाँले विधवा र टुहुरा-टुहुरीहरूलाई सहायता गर्नुहुन्छ, तर दुष्टको युक्तिलाई नाश गर्नुहुन्छ। परमप्रभु सदासर्वदा राजा हुनुहुन्छ, हे सियोन, तिम्रा परमेश्वरले सदाकालको निम्ति राज्य गर्नुहुनेछ। परमप्रभुको प्रशंसा गर!