भजनसंग्रह 145:8-16

भजनसंग्रह 145:8-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभु अनुग्रही र टिठालु हुनुहुन्‍छ, क्रोध गर्नमा ढिलो र अति करुणामय हुनुहुन्‍छ। परमप्रभु सबैमाथि भलो हुनुहुन्‍छ। र आफ्‍नो समस्‍त सृष्‍टिमाथि दया राख्‍नुहुन्‍छ। तपाईंले सृष्‍टि गर्नुभएका सबै थोकले, हे परमप्रभु, तपाईंको प्रशंसा गर्नेछन्‌, र तपाईंका पवित्रजनहरूले तपाईंको स्‍तुति गर्नेछन्‌। तिनीहरूले तपाईंको राज्‍यका महिमाको चर्चा गर्नेछन्‌ र तपाईंका शक्तिको बखान गर्नेछन्‌, कि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू थाहा पाऊन्‌, अनि तपाईंका राज्‍यको महिमापूर्ण वैभव देखून्‌। तपाईंको राज्‍य अनन्‍तको राज्‍य हो, र तपाईंका प्रभुत्‍व पुस्‍तौँ-पुस्‍तौँसम्‍म रहिरहनेछ। परमप्रभु आफ्‍ना सबै प्रतिज्ञाहरूमा विश्‍वसनीय हुनुहुन्‍छ, र आफूले रचेका सबै थोकप्रति कृपामय हुनुहुन्‍छ। लड़ेकाहरू सबैलाई परमप्रभुले सहारा दिनुहुन्‍छ, दबिएकाहरू सबैलाई उठाउनुहुन्‍छ। सबै प्राणीहरूका आँखाले तपाईंतिर हेर्दछन्‌, अनि तपाईंले तिनीहरूको भोजन ठीक समयमा दिनुहुन्‍छ। तपाईंले आफ्‍नो मुट्ठी खोल्‍नुहुन्‍छ, र सबै प्राणीहरूका मनोरथ सन्‍तुष्‍ट पार्नुहुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 145 पढ्नुहोस्

भजनसंग्रह 145:8-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेह अनुग्रही र कृपालु हुनुहुन्छ; रिसाउनमा ढिलो र अचुक प्रेममा महान् हुनुहुन्छ। याहवेह सबैमाथि भलो हुनुहुन्छ; र आफ्ना सारा सृष्‍टिमाथि उहाँले कृपा देखाउनुहुन्छ। हे याहवेह, तपाईंले सृष्‍टि गर्नुभएका सबै थोकले तपाईंको प्रशंसा गर्दछन्; तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंको स्तुति गर्नेछन्। तिनीहरूले तपाईंको राज्यको महिमाको वर्णन गर्नेछन्; र तपाईंको शक्तिको बखान गर्नेछन्, ताकि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू, र तपाईंका राज्यको महिमामय वैभव थाहा पाऊन्। तपाईंको राज्य अनन्तको राज्य हो, र तपाईंको प्रभुत्व पुस्तौँ-पुस्तासम्म रहिरहन्छ। आफ्ना सबै प्रतिज्ञामा याहवेह भरोसायोग्य हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै थोकप्रति विश्‍वासयोग्य हुनुहुन्छ। लडेकाहरू सबैलाई याहवेहले सहारा दिनुहुन्छ; दबिएकाहरू सबैलाई उठाउनुहुन्छ। सबैका आँखाहरूले तपाईंकै बाटो हेर्दछन्; अनि तपाईंले तिनीहरूलाई उचित समयमा तिनीहरूको भोजन दिनुहुन्छ। तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ, र हरेक जीवित प्राणीका इच्छाहरूलाई तृप्‍त पार्नुहुन्छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 145 पढ्नुहोस्

भजनसंग्रह 145:8-16 पवित्र बाइबल (NERV)

परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ। परमप्रभु धीरजी र मायालु हुनुहुन्छ। परमप्रभु प्रत्येक मानिसको लागि असल हुनुहुन्छ। परमेश्वरले बनाउनु भएको प्रत्येक कुरामाथि आफ्नो दया देखाउनु हुन्छ। परमप्रभु, जुन कुराहरू तपाईंले गर्नुभयो त्यसले तपाईंको प्रशंसा ल्याउँदछ। तपाईंका भक्तजनहरूले तपाईंको गुण गाउँछन्। तिनीहरूले भन्छन्, तपाईंको राज्य कति महान् छ। तिनीहरूले भन्छन् तपाईं कति महान् हुनुहुन्छ। परमप्रभु, यसकारण अन्य मानिसहरूले तपाईंले गर्नु भएका महान् कार्यहरूका विषयमा सिक्नेछन्। मानिसहरूले तपाईंको राज्य कति महान् र आश्चर्यपूर्ण छ भनेर सिक्नेछन्। परमप्रभु, तपाईंको राज्य सदा-सर्वदा रहनेछ। तपाईंको प्रभुत्व सदा-सर्वदा रहिरहनेछ। पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ। परमप्रभु जो सङ्कटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ। परमप्रभु, सम्पूर्ण जीवित प्राणीहरूले आफ्नो भोजनको लागि तपाईंलाई नै खोज्दछन् अनि तपाईंले तिनीहरूलाई ठीक समयमा नै आहार दिनुहुन्छ। परमप्रभु, तपाईं आफ्ना हातहरू खुल्ला पार्नुहोस् अनि तपाईंले प्रत्येक जीवित प्राणीहरूलाई उनीहरूको आवश्यकता अनुसार सबै थोकहरू दिनुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 145 पढ्नुहोस्

भजनसंग्रह 145:8-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु प्रेमी र कृपालु हुनुहुन्‍छ, रिस गर्नमा ढीलो र अनन्‍त प्रेमले परिपूर्ण। उहाँले सबैलाई भलो गर्नुहुन्‍छ र आफूले बनाउनुभएका सबैमाथि दया देखाउनुहुन्‍छ। परमप्रभु! तपाईंका सारा सृष्‍टिले तपाईंको प्रशंसा गर्नेछन् र तपाईंका सबै प्रजाले तपाईंलाई धन्‍यवाद चढाउनेछन्। तपाईंको राज्‍य-शक्तिको महिमाबारे तिनीहरूले भन्‍नेछन् र तपाईंको सामर्थ्‍यको बयान गर्नेछन्। सबैले तपाईंका सामर्थी कामहरू र तपाईंको राज्‍यका महिमापूर्ण राजकीय गौरवबारे जान्‍नेछन्, तपाईंको राज्‍यको अन्‍त छैन र तपाईं सदासर्वदाको लागि राजा हुनुहुन्‍छ। परमप्रभुले आफ्‍ना प्रतिज्ञाहरू पूरा गर्न विश्‍वासयोग्‍य हुनुहुन्‍छ र उहाँ आफ्‍ना सबै कामहरूमा दयालु हुनुहुन्‍छ। कष्‍टमा परेकाहरूलाई उहाँ सहायता गर्नुहुन्‍छ, उहाँले लडेकाहरूलाई उठाउनुहुन्‍छ। सबै जीवित प्राणीहरूले तपाईंलाई आशा गरेर हेर्दछन् र तिनीहरूलाई चाहिएका बेलामा तपाईं भोजन दिनुहुन्‍छ। तिनीहरूलाई तपाईंले पेटभरि खुवाउनुहुन्‍छ र तिनीहरू सबैका अभावहरू पूरा गरिदिनुहुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 145 पढ्नुहोस्