भजनसंग्रह 14:1-7
भजनसंग्रह 14:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मूर्खले आफ्नो मनमा भन्छ, “ईश्वर छँदैछैन।” तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरू नीच काम गर्दछन्। यस्तो कोही पनि छैन जसले असल गर्दछ। परमप्रभुले स्वर्गबाट मानिसका सन्तानलाई हेर्नुहुन्छ, यो जान्नलाई कि समझदार हुने र परमेश्वरलाई खोज्ने कोही छ? तिनीहरू सबै कुबाटोतिर लागेका छन्। तिनीहरू सबै एकसाथ भ्रष्ट भएका छन्। कसैले असल गर्दैन, अहँ, असल गर्ने एक जना पनि छैन। के दुष्ट काम गर्नेहरूले कहिल्यै सिक्नेछैनन्? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई भक्षण गर्छन्, अनि परमप्रभुलाई पुकार्दैनन्। त्यहाँ तिनीहरू त्रासले व्याकुल भएका छन्। किनभने धर्मीहरूको समुदायसँग परमेश्वर हुनुहुन्छ। तिमी दुष्टहरूले गरीबको योजनालाई विफल पारेका छौ, तर उनीहरूको शरणस्थान त परमप्रभु नै हुनुहुन्छ। इस्राएलको उद्धार सियोनबाट आएको भए कति असल हुनेथियो! जब परमप्रभुले आफ्ना मानिसहरूको सुख-शान्ति फर्काइदिनुहुन्छ, याकूब रमाऊन्, र इस्राएल खुशी होऊन्!
भजनसंग्रह 14:1-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मूर्खले आफ्नो मनमा भन्छ, “परमेश्वर छँदैछैन।” तिनीहरू भ्रष्ट छन्, तिनीहरूले नीच काम गर्दछन्; असल काम गर्ने कोही पनि छैन। याहवेहले स्वर्गबाट सबै मानिस जातिलाई हेर्नुहुन्छ, यो जान्नलाई कि कोही त समझदार होला, जसले परमेश्वरको खोजी गर्दछ। तिनीहरू सबै भड्किगएका छन्, सबै जना भ्रष्ट भएका छन्; असल गर्ने कोही छैन; एक जना पनि छैन। के यी सबै दुष्ट काम गर्नेहरूले केही पनि जान्दैनन्? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्; तिनीहरूले याहवेहलाई कहिल्यै पुकार्दैनन्। तर त्यहाँ तिनीहरू डरले काम्छन्; किनकि धर्मीहरूको समूहमा परमेश्वर उपस्थित हुनुहुन्छ। तिमी दुष्ट काम गर्नेहरूले गरिबका योजनाहरूलाई विफल पार्छौ; तर याहवेह नै तिनीहरूका शरणस्थान हुनुहुन्छ। अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो! जब याहवेहले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ, तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।
भजनसंग्रह 14:1-7 पवित्र बाइबल (NERV)
मूर्ख मानिसले मात्र आफ्नो हृदयमा भन्छ, “ईश्वर छैन।” मूर्ख मानिसहरूले अनैतिक र घिनलाग्दा कामहरू गर्छन्। ती मध्ये एउटा पनि राम्रो काम हुँदैन। परमप्रभुले ज्ञानी मानिसहरू कोही छन् भनेर स्वर्गबाट तल हेर्नुहुन्छ। ज्ञानी मानिसहरूले सहयोगको निम्ति परमेश्वरलाई पुकार्छन्। तर सबै मानिसहरू परमेश्वरबाट विमुख भएर टाढिए र दुष्ट भइसके। कुनै एकजना मानिसले पनि राम्रो काम गरेको छैनन्। दुष्ट मानिसहरूले मेरो प्रियजनहरूलाई नष्ट गरिसके अनि ती दुष्ट मानिसहरू परमेश्वरको विषयमा जान्दैनन्। दुष्ट मानिसहरूका लागि खानलाई प्रशस्त खाद्य छ, तर पनि तिनीहरूले परमप्रभुलाई सम्मान गर्दैनन्। दुष्ट मानिसहरू प्रशस्त भयग्रस्त छन्। किनभने ती गरीब मानिसहरू परमप्रभु परमेश्वरका भक्तजनहरू हुन्। दुष्ट मानिसहरूले ती गरीब मानिसहरूबाट कुनै सल्लाह लिन मान्दैनन्। तर परमेश्वर सधैँ ती असल मानिससँग हुनुहुन्छ। सियोनमा इस्राएललाई बचाउने को छ? परमेश्वर बाहेक कोही पनि छैन! परमप्रभुका मानिसहरूलाई लगियो अनि कैदी बनाइयो। तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई फर्काएर ल्याउनु हुनेछ, तब याकूब (इस्राएल) खुशी हुनेछ।
भजनसंग्रह 14:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मूर्खहरूले आफ्नो मनमा भन्छन्, “परमेश्वर छैन।” तिनीहरू सबै भ्रष्ट भएका छन्, तिनीहरूले डरलाग्दा काम गरेका छन्, ठीक काम गर्ने कोही पनि छैन। कोही बुद्धिमान् छ कि, कोही मलाई पुज्ने छ कि भनेर परमप्रभुले स्वर्गदेखि मानिस जातिलाई खोजी हेर्नुहुन्छ, तर तिनीहरू सबैले पाप गरेका छन् तिनीहरू सबै उत्तिकै दुष्ट छन्, कसैले पनि, एकै जनाले पनि ठीक काम गर्दैन। परमप्रभु सोध्नुहुन्छ, “के तिनीहरू जान्दैनन्? के यी सारा दुष्कर्म गर्नेहरू अन्जान छन्? तिनीहरूले मेरा प्रजालाई लुटेर जीविका चलाउँछन् र तिनीहरूले कहिल्यै मलाई प्रार्थना गर्दैनन्।” तर तिनीहरू डराउनेछन् किनभने परमेश्वर उहाँका आज्ञा मान्नेहरूसँग हुनुहुन्छ। दुष्टहरूले नम्र मानिसको योजना नष्ट गर्छन्, तर परमप्रभुले उसको रक्षा गर्नुहुन्छ। सियोनदेखि विजय इस्राएलकहाँ आओस् भनी म कति प्रार्थना गर्दछु, परमप्रभुले तिनीहरूलाई फेरि धनी बनाउनुहुँदा इस्राएलका मानिसहरू कति खुसी हुनेछन्!