भजनसंग्रह 139:1-16

भजनसंग्रह 139:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमप्रभु, तपाईंले मेरो पारख गर्नुभएको छ, अनि मलाई चिन्‍नुहुन्‍छ। तपाईंले मेरो बसाइ र मेरो उठाइ जान्‍नुहुन्‍छ, टाढ़ैबाट मेरो विचार बुझ्‍नुहुन्‍छ। तपाईंले मेरो बाहिरी जवाइ र मेरो सुताइ स्‍पष्‍टसँग जान्‍नुहुन्‍छ, र मेरा सबै आचरणहरूसँग तपाईं परिचित हुनुहुन्‍छ। मेरो जिब्रोमा कुनै कुरा आउन अघि नै, हे परमप्रभु, तपाईंले त्‍यो सम्‍पूर्ण रूपले जान्‍नुहुन्‍छ। तपाईंले मलाई अगि र पछि घेर्नुभएको छ, र आफ्‍नो बाहुली ममाथि राख्‍नुभएको छ। यस्‍तो ज्ञान मेरो निम्‍ति साह्रै आश्‍चर्यपूर्ण छ, यो प्राप्‍त गर्न मेरो निम्‍ति अति गाह्रो छ। तपाईंका आत्‍माबाट म कहाँ अलग्‍ग जान सक्‍छु? अथवा तपाईंको उपस्‍थितिबाट म कहाँ भाग्‍न सक्‍छु? म आकाशमा गएँ भने, तपाईं त्‍यहाँ हुनुहुन्‍छ, गहिराइमा आफ्‍नो ओछ्यान बनाएँ भने, त्‍यहाँ पनि तपाईं हुनुहुन्‍छ। प्रभातको पखेटामा उड़ेर समुद्रको पल्‍लो किनारमा गएर बसें भने पनि, त्‍यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्‍याउनेछ, र तपाईंको दाहिने बाहुलीले मलाई पक्रिराख्‍नेछ। यदि म भनूँ, “अँध्‍यारोले मलाई छोप्‍नेछ, अनि प्रकाश मेरो चारैतिर रातको अन्‍धकार हुनेछ,” तापनि अन्‍धकार तपाईंको निम्‍ति अँध्‍यारो हुनेछैन, रात त दिनको उज्‍यालोजस्‍तै चम्‍कनेछ, किनभने अन्‍धकार तपाईंको निम्‍ति ज्‍योतिजस्‍तै हो। किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्‍यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्‍नुभयो। म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌, र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु। जब अदृश्‍यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्‍वीको गहिराइमा रचिँदैथिएँ, तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो। त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।

शेयर गर्नुहोस्
भजनसंग्रह 139 पढ्नुहोस्

भजनसंग्रह 139:1-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे याहवेह, तपाईंले मलाई जाँच्नुभएको छ, अनि मलाई चिन्‍नुहुन्छ। तपाईंले मेरो उठाइ र मेरो बसाइ जान्‍नुहुन्छ; तपाईंले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ। तपाईंले मेरो हिँडाइ र मेरो सुताइ जान्‍नुहुन्छ; मेरा सबै मार्गहरूसँग तपाईं परिचित हुनुहुन्छ। मेरो जिब्रोमा कुनै शब्द आउनअगि नै, हे याहवेह, तपाईंले त्यो सम्पूर्ण रूपले जान्‍नुहुन्छ। तपाईंले मलाई अगि र पछिबाट घेर्नुभएको छ; र आफ्नो हात ममाथि राख्नुभएको छ। मेरो निम्ति यस्तो ज्ञान ज्यादै आश्‍चर्यपूर्ण छ; यसलाई प्राप्‍त गर्न मेरो निम्ति अति कठिन छ। तपाईंको आत्माबाट म कहाँ जान सक्छु? तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु? यदि म स्वर्गमा गएँ भने तापनि त्यहाँ तपाईं हुनुहुन्छ; यदि पातालमा मैले आफ्नो ओछ्यान बनाएँ भने, त्यहाँ पनि तपाईं हुनुहुन्छ। यदि प्रभातको पखेटामा उडेर, समुद्रको पल्‍लो किनारमा पुगेर बसेँ भने पनि, त्यहाँ पनि तपाईंको हातले मलाई डोर्‍याउनेछ, र तपाईंको दाहिने हातले मलाई थाम्नेछ। यदि मैले, “अन्धकारले मलाई छोपोस्, अनि प्रकाश मेरो चारैतिर रातको अन्धकार होस्,” भनी भनेँ पनि अन्धकार तपाईंको निम्ति अँध्यारो हुनेछैन; र रात पनि दिनझैँ चम्कनेछ; किनकि तपाईंको निम्ति अन्धकार पनि ज्योतिजस्तै हो। किनकि तपाईंले नै मेरो अन्तस्करण बनाउनुभयो; तपाईंले मलाई मेरी आमाको गर्भमा बुन्‍नुभयो। म तपाईंलाई प्रशंसा गर्दछु; किनकि म भयानक र अद्‌भुत तरिकाले बनिएको छु; तपाईंका कार्यहरू अद्‌भुत छन्, म त्यो राम्ररी जान्दछु। मेरो आकार तपाईंबाट लुकेको थिएन, जब म पृथ्वीको गहिराइमा रचिँदै थिएँ; जब म अदृष्यमा बनिँदैथिएँ; तब तपाईंका आँखाले मेरो नबनिएको त्यो शरीरलाई देखे; मेरा निम्ति तोकिएका दिनहरू तपाईंको पुस्तकमा लेखिएका थिए; तीमध्ये एउटै कुरा पनि अस्तित्वमा आउनअगि सबै लेखिएका थिए।

शेयर गर्नुहोस्
भजनसंग्रह 139 पढ्नुहोस्

भजनसंग्रह 139:1-16 पवित्र बाइबल (NERV)

हे परमप्रभु, तपाईंले मलाई जाँच्नु भयो। तपाईं मेरो बारेमा सबै जान्नुहुन्छ। म कहिले बस्छु र म कहिले उठ्छु तपाईं सबै जान्नुहुन्छ। धेरै टाढाबाट नै तपाईं मेरो विचारहरू बुझ्नुहुन्छ। परमप्रभु, म कहाँ गईरहेको हुन्छ, र कहिले लम्पसार हुन्छु भन्ने सबै कुरा तपाईं जान्नुहुन्छ। मैले गर्ने प्रत्येक कुरा तपाईं जान्नुहुन्छ। हे परमप्रभु, म के भन्न चाहँदछु भन्ने कुरा मेरो मुखबाट निस्कनु अघि नै तपाईं जान्नुहुन्छ। हे परमप्रभु, तपाईं मेरो वरिपरि हुनुहुन्छ, मेरो अगाडि पछाडि र चारैतिर। तपाईंले माया गरेर मेरो शिरमा हात राख्नुहुन्छ। तपाईं यी सबै कुरा जान्नुहुन्छ, भनेर म छक्क परें, मलाई यी कुराहरू बुझ्नलाई एकदम कठिन पर्यो। म जता-जता जान्छु तपाईंको आत्मा त्यता-त्यतै हुन्छ। हे परमप्रभु, म तपाईंको सम्मुखबाट फुत्किन सक्दिनँ। हे परमप्रभु, यदि म स्वर्ग तिर गए तपाईं त्यतै हुनुहुन्छ। यदि म पातालतर्फ झरे तपाईं त्यतै हुनुहुन्छ। परमप्रभु, जहाँ घाम उदाउँछ त्यतै पूर्वतिर गएँ भने, तपाईं त्यतै तिर हुनुहुन्छ। यदि म पश्चिम समुद्रतिर गएँ तपाईं त्यतै तिर हुनुहुन्छ। त्यहाँ पनि तपाईंको दाहिने हातले मलाई पक्रन्छ अनि मलाई त्यही हातले डोर्याउनु हुन्छ। हे परमप्रभु, मैले तपाईं देखि लुक्ने कोशिश गरे र भन्छु, “दिन रातमा परिर्वतन भएको छ। निश्चय रातले मलाई लुकाउनेछ।” तर अन्धकार पनि तपाईंको निम्ति अन्धकार हुँदैन। परमप्रभु, तपाईंको निम्ति रात दिन झैं उज्जवल छ। तपाईंको निम्ति रात र दिन उस्तै हो। हे परमप्रभु, तपाईंले मेरो सम्पूर्ण शरीर बनाउनु भयो। म आमाको गर्भमा हुँदा मेरो विषयमा सवै कुराहरू जान्नुहुन्छ। हे परमप्रभु, म तपाईंको प्रशंसा गर्छु। तपाईंले मलाई आश्चर्यपूर्वक र अपूर्व प्रकारले बनाउनु भयो। म जान्दछु कि तपाईंले जे गर्नुभयो, त्यो आश्चयपूर्ण छ। तपाईं मेरो बारेमा सारा कुराहरू जान्नुहुन्छ। जब मेरो शरीरले आफ्नो रूप लिंदै बढदै गयो, तपाईंले मेरो हड्डीहरू नियाल्नु भयो जुन मेरो आमाको गर्भमा लुकेको थियो। तपाईंले मेरो अंग-प्रत्यंग बढ्दै गरेको नियाल्नु भयो, तपाईंले आफ्नो पुस्तकमा ती कुराहरू लेख्नु भयो। तपाईंले प्रत्येक दिन मलाई नियाल्नु भयो। कुनै दिन पनि त्यसै खाली गएन।

शेयर गर्नुहोस्
भजनसंग्रह 139 पढ्नुहोस्

भजनसंग्रह 139:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु, तपाईंले मलाई जाँच्‍नुभएको छ र चिन्‍नुहुन्‍छ। मैले गरेका सबै काम तपाईंले जान्‍नुहुन्‍छ, टाढैबाट तपाईंले मेरा सबै विचारहरू बुझ्‍नुहुन्‍छ। म काम गर्दा वा विश्राम लिंदा तपाईंले मलाई देख्‍नुहुन्‍छ, तपाईंले मेरा सबै काम जान्‍नुहुन्‍छ। मेरो ओठ खोलिनुभन्दा अघि नै मैले के भन्‍न लागेको छु, सो तपाईंले जानिसक्‍नुभएको हुन्‍छ। मेरा चारैपट्टि, हरेक दिशामा तपाईं हुनुहुन्‍छ, आफ्‍नो बलले तपाईंले मेरो रक्षा गर्नुहुन्‍छ। मेरा बारेमा तपाईंको ज्ञान अति गहिरो छ, त्‍यो मेरा समझशक्तिले म बुझ्‍न सक्‍दिनँ। तपाईंदेखि भागेर म कहाँ जान सक्‍छु र? तपाईंको उपस्‍थितिबाट म कहाँ टाढा हुन सक्‍छु र? म उँभो स्‍वर्गमा गएँ भने, त्‍यहाँ तपाईं हुनुहुन्‍छ; म मृत्‍यु-लोकमा उत्रें भने त्‍यहाँ तपाईं हुनुहुन्‍छ। पूर्वमा धेरै टाढासम्‍म उडी गएँ भने, वा पश्‍चिममा टाढाभन्दा टाढामा गई बास गरें भने, मलाई डोर्‍याउन भनी तपाईं त्‍यहाँ हुनुहुन्‍छ, मलाई सहायता दिन भनी तपाईं त्‍यहाँ पनि हुनुहुन्‍छ, अन्‍धकारलाई म “मलाई लूका” भन्‍न सकूँला, वा मेरा चारैपट्टिका उज्‍यालोलाई “रात बन्” भन्‍न सकूँला, तर अन्‍धकार तपाईंको लागि अँध्‍यारो हुँदैन, र रातचाहिँ दिनजस्‍तै उज्‍यालो हुन्‍छ, तपाईंको निम्‍ति रात र दिन एकै हुन्। तपाईंले मेरो हरेक अङ्ग बनाउनुभयो, आमाको गर्भमा तपाईंले मलाई रच्‍नुभयो। म तपाईंको प्रशंसा गर्दछु किनभने हामीले तपाईंको डर मान्‍नु पर्दछ, तपाईंका सबै काम उदेकका र अचम्‍मका छन्, यी सबै कुरा म आफ्‍नो हृदयबाट जान्‍दछु। जब मेरा हड्डीहरू बनिंदैथिए, मेरी आमाको गर्भमा ती ठीकसँग जोडिदैथिए, र अदृश्‍यमा म त्‍यहाँ बढ्दैथिएँ, त्‍यति बेला म त्‍यहाँ छु भनी तपाईं जान्‍नुहुन्‍थ्‍यो। मेरो जन्‍म हुनुभन्दा अघि नै तपाईंले मलाई देख्‍नुभएको हो, मेरा आयुका दिनहरू सुरु हुनुभन्दा अघि नै तपाईंको पुस्‍तकमा लेखिएका थिए।

शेयर गर्नुहोस्
भजनसंग्रह 139 पढ्नुहोस्